+
+
कलेजो प्रत्यारोपण टिमको कथा :

‘आफ्नै गाउँ फर्कि आयौं’…

सुवास पण्डित सुवास पण्डित
२०७८ भदौ १७ गते १६:१८

१७ भदौ, चितवन । उमेरले ३७ वर्षका भए, डा. सञ्जयकुमार यादव । भारतको मेदान्त अस्पतालमा झण्डै ८ वर्षमा ५ सयभन्दा बढीको सिनियर कन्सल्ट्यान्ट सर्जन भएर कलेजो प्रत्यारोपणमा संलग्न भए । नाम थियो, दाम थियो, तर स्वाभिमान थिएन ।

मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपण गराइरहँदा उनलाई केही घटनाहरूले सारै चिमोठ्थ्यो । ‘कहिलेकाहीं यस्तो संयोग पर्दथ्यो, प्रत्यारोपण गर्ने सर्जन, एनस्थेसिया डाक्टर, रेडियोलोजिष्ट, अप्रेशन टेबलमा सुताइरहेका बिरामी, कलेजो दिने सबै जना नेपाली,’ डा. यादव भन्छन्, ‘कलेजो प्रत्यारोपण गर्न नेपालीहरु भारत आउनुको बाध्यता देखेर चिन्ता पनि लाग्थ्यो । नेपाली टिमले नै नेतृत्व लिएर कयौं प्रत्यारोपण गराउँदा अहिल्यै नेपाल फर्किएर सेवा सुरु गरिहालौं जस्तो लाग्थ्यो ।’

पढाइ र अन्य सिक्ने अभ्यासका क्रममा भारत बसेको पनि वर्षौं भइसकेको थियो । पट्यारलाग्दो बन्दै थियो, समय । त्यसैले नेपाल फर्किने र उतै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने वातावरणको खोजीमा थिए सन्जय । ‘नेपालमा यस्तो वातावरण तयार भैदिए, किन भारत बसिरहने ?’ डा. सञ्जय भन्छन्, ‘नेपालमै कलेजो प्रत्यारोपण गराउन सके भारतको भन्दा झण्डै दोब्बर सस्तो पनि हुन्थ्यो ।’

यसबारे मेरा नेपाली डाक्टर साथीहरूसँग सञ्जयले छलफल गरे । उनीसँग प्रत्यारोपणमा काम गर्ने केही डाक्टर भने सल्लाहमा नै गत वर्ष भारतबाट नेपाल फर्किए । सञ्जय भने नेपालमा उपयुक्त वातावरणको पर्खाइमा नै थप केही वर्ष मेदान्तमै बिताए ।

सोही बेला पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपण सम्बन्धी स्वीकृती लिए । डा. सञ्जयसहितको टिमको सल्लाहमा नेपाल फर्किएका कलेजो प्रत्यारोपण सर्जन डा. प्रविण जोशी र प्रत्यारोपण एनस्थेसिया डा. किरण अधिकारी पुरानो मेडिकल कलेजमा काम गर्न थाले । कलेजो फिजिसियन डा. सागर पौड्याल चितवन मेडिकल कलेजमा जोडिए ।

तर डा. जोशी कलेजो प्रत्यारोपण सुरु नभएको भन्दै भैरहवा गए । चितवन मेडिकल कलेजमा डा. पौड्यालले विगत दुई वर्षदेखि कलेजो सम्वन्धी बिरामीहरू हेरिरहेका थिए । डा. पौड्याल भन्छन्, ‘चितवन मेडिकल कलेजमा आएर बिरामीहरुको नियमित कलेजो जाँच गर्नु कलेजोका बिरामीको उपचार मात्रै थिएन, प्रत्यारोपणको पूर्वतयारी पनि थियो ।’ यसका लागि कलेजमा दुई वर्ष बिताएको उनी बताउँछन् ।

पछि डा. सञ्जय पनि चितवन मेडिकल कलेजमा आबद्ध भए । डा. सञ्जयसँगै एपोलो अस्पतालमा प्रत्यारोपण सर्जनको रुपमा काम गरिरहेका डा. एकानन्द सिंह पनि जोडिए । उनीहरूको सर्कल एउटै थियो ।

उनीहरु चितवनमा कलेजो प्रत्यारोपणको पूर्वाधारको पर्खाइमा थिए । ‘हामीहरू त एउटा प्राविधिक टिम मात्रै हौं, तर कलेजो प्रत्यारोपणका लागि काम गर्न सहज वातावरण र पूर्वाधार असाध्यै महत्वपूर्ण पक्ष हो, त्यो हामीबाट सम्भव थिएन, सानो-सानो कुराले पनि अवरोध ल्याउँछ’ डा. सञ्जयले भने, ‘चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले आवश्यक उपकरणदेखि सबै पूर्वाधारको व्यवस्थापन गर्ने भएपछि हामीमा केही आशा जाग्यो ।’

डा. न्यौपाने पनि भारतको मेदान्त पुग्दा नेपाली बिरामीको प्रत्यारोपण नेपाली डाक्टरले नै गरेको देखेका थिए । उनले त्यति नै बेला चितवनमा कलेजो प्रत्यारोपण गर्ने र त्यसका लागि वातावरण बनाउने प्रतिवद्धता जनाएका थिए । तर, ती डाक्टरहरुले सुरुमा पत्याएनन् । विश्वास दिलाएर सो टिमलाई नेपाल ल्याउन झण्डै दुई वर्ष लागेको प्रा.डा. न्यौपाने बताउँछन् । ‘उहाँहरुलाई कसरी नेपालमा नै गएर प्रत्यारोपण गराउने भन्ने थियो, मलाई कसरी चितवन मेडिकल कलेजमा ल्याएर प्रत्यारोपण गराउने भन्ने थियो, काठमाडौं बाहिर पनि कलेजो प्रत्यारोपण सम्भव छ भनेर मलाई प्रमाणित गर्नुथियो, अन्ततः चुम्बकका दुई धु्रव मिलेजस्तो भयो,’ डा. न्यौपानेले भने । चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपणको पूर्वाधार तयार पार्न २० करोडसम्म लगानी गरेको न्यौपाने बताउँछन् ।

चितवन मेडिकल कलेजमा इन हाउस कलेजो प्रत्यारोपण सर्जन र कलेजो फिजिसियनसहित टिम तयार भयो । प्रत्यारोपण कन्सलट्यान्ट सर्जन डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्तकुमार शाह, डा. सागर पौड्याल, डा.बरुण श्रेष्ठ, डा.किरण अधिकारी, डा. नविन यादव, डा. सुरेश गौतम, डा. बीरेन्द्र राउत, डा. सुवास ओझा र डा. विज्ञान पौडेलसहितको टिम र तालिमप्राप्त नर्सिङ जनशक्ति छ । डा. प्रविण जोशी भैरहवामा कार्यरत रहे पनि प्रत्यारोपणको बेला चितवन आउँछन् र काममा संलग्न हुन्छन् ।
चैत ८ गतेको त्यो दिन

२०७७ चैत ८ गते राजधानी काठमाडौं बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गर्ने तयारी भयो । भारतको एपोलो अस्पतालमा सयौंको प्रत्यारोपण गराइरहेको भए पनि त्यसदिन निकै मानसिक तनाव भएको डा. सञ्जय सम्भिmन्छन् । ‘नेपालमा मेरो यो पहिलो केस थियो, चितवन मेडिकल कलेजको पनि पहिलो थियो, नेपालको आठौं राजधानी बाहिरको पहिलो थियो, हामी ढुक्क भने थियौं प्रत्यारोपण सफल हुन्छ भन्नेमा,’ डा. सञ्जय चैत ८ सम्झदै भन्छन्, ‘तर १/२ प्रतिशत असफल हुने र मृत्यु हुने सम्भावना पनि भएकाले त्यही प्रतिशत भित्र परेमा ठूलो सेटब्याक हुने चिन्ता थियो ।’

प्रत्यारोपण सफल हुँदा सन्देशका हिसाबले असाध्यै ठूलो अर्थ राख्ने र असफल हुँदा बल्लतल्ल जुटेको टिम पनि हत्तोत्साही हुने खतरा थियो । भारतीय चिकित्सकको सहयोगी टिम पनि आएको थियो । भारतबाट आएको भनेपछि बिरामी पक्षलाई थप भरोसा मिल्ने र मनोवैज्ञानिक रुपमा सकारात्मक प्रभाव रहने यो टिमले बुझेको थियो ।

कलेजो प्रत्यारोपणपछि डाक्टरहरूसँग जाजरकोटका भरतविक्रम शाही ।

झण्डै १२ घण्टा लगाएर पहिलोपटक भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी लामाको चैत ८ गते कलेजोको सफल प्रत्यारोपण भयो । पहिलो प्रत्यारोपण सफल भएपछि आफूहरु निकै खुसी र उत्साही बनेको डा. सञ्जय सुनाउँछन् । त्यसपछि प्रत्यारोपणलाई फटाफट अघि बढाउने सोच रहेकै बेला गएको वैशाखदेखि कोरोना भाइरस संक्रमणको महामारी पुनः बढ्न थालेपछि प्रत्यारोपण रोकियो । यद्यपि कलेजले असार १८ गते जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा १६ घण्टा लगाएर अहिलेसम्मकै जटिल कलेजो प्रत्यारोपण गर्‍यो। पहिलो केसभन्दा यो निकै जोखिमयुक्त रहेको डा. सञ्जय बताउँछन् ।

कलेजो प्रत्यारोपण हब बनाउने लक्ष्य

नेपालमा भएका नौ वटा कलेजो प्रत्यारोपणमध्ये आठौं र नवौं चितवन मेडिकल कलेजमा भएका हुन् । गएको चैत र असारमा दुई प्रत्यारोपण गरेको यो टिम अर्को प्रत्यारोपणको तयारीमा छ ।

भारतबाट फर्किएको यही नेपाली टिमले हरेक ७ दिनदेखि १० दिनसम्म एउटा प्रत्यारोपण गर्ने लक्ष्य राखेको डा. सञ्जयले बताए ।

भारतको एपोलो अस्पतालका डा. निरव गोयलको टिमले प्रत्यारोपणमा सहयोग गर्ने गरेको छ । ‘मूलतः सबै काम हामी आफैं गर्छौं, पूरै तयारी हामीले नै गर्ने हो, निकट भविश्यमा नै हामी नेपाली चिकित्सकहरु मात्रै भएर प्रत्यारोपण गर्छौं’ डा. सञ्जयले भने, ‘चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउने लक्ष्य छ ।’

केही पूर्वाधार थप गरेर कलेजो सम्बन्धी रोगको सामान्य उपचारदेखि चिकित्सा विज्ञानको सबैभन्दा जटिल र ठूलो काम कलेजो प्रत्यारोपणसम्मको सेन्टर अफ एक्सिलेन्स बनाउने योजना रहेको डा. यादवले सुनाए । नेपालबाहिर उपचारका लागि कोही पनि जान नपरोस् भन्ने आफूहरुले चाहेको डा. सञ्जयको भनाइ छ ।

चुनौती

कानुनी प्रक्रिया केही झन्झटिलो भए पनि अस्पताल प्रशासनले फटाफट टिम परिचालन गरेर समस्याहरु फुकाउने प्रयास गरिरहेको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा बताउँछन् ।

अन्यत्र भन्दा सहज, सरल र सस्तोमा कलेजो प्रत्यारोपण गरेर मृत्यु नजिक पुगेका बिरामीलाई बचाउने उद्देश्य आफूहरुको रहेको प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहले बताए । चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपणमा लाग्ने खर्च १५ लाख तोकेको छ । सरकारले मिर्गौला र क्यान्सरका बिरामीलाई जस्तै कलेजो प्रत्यारोपणमा पनि आर्थिक सहायता गरिदिए विपन्न नागरिकहरु लाभान्वित हुने र त्यसबाट धेरैको ज्यान जोगाउन सकिने उनी बताउँछन् ।

प्रत्यारोपणमा रगतको सहज उपलब्धता पनि चुनौती बन्छ । प्रत्यारोपणमा चुनौती प्राविधिक भन्दा पनि लजिस्टिक हुने गरेको छ । बिरामीको फ्याक्टर महत्वपूर्ण हुन्छ, स्वस्थ मान्छे घरपरिवार भित्रैबाट चाहिन्छ, डोनर परिवारमा नहुनु चुनौती छ कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह भन्छन् कानुनी र प्रशासनिक काम पनि उत्तिकै गम्भीर खालको हुन्छ । ब्रेन डेथ भएकाको अंग दिन मिल्छ तर नेपालमा यस्तो प्राक्टिस छैन, यदि ब्रेन डेथ भएकाबाट अंग निकालेर प्रत्यारोपण गर्ने भए धेरै सहज हुने चिकित्सकहरु बताउँछन् ।

कलेजो बिगि्रनुको मुख्य कारण अल्कोहल

चितवन मेडिकल कलेजमा दैनिक १५ देखि १६ जनासम्म कलेजो (लिभर)का बिरामी आउने गरेका छन् । तीमध्ये ५ देखि ६ जना लिभर सिरोसिस् भएका बिरामी आउँछन् । उनीहरुलाई प्रत्यारोपणको आवश्यकता हुन्छ । नेपालमा वाषिर्क ३ सयदेखि ४ सयसम्म कलेजो सिरोसिस् भएका बिरामी थपिने गरेको अनुमान छ ।

कलेजो बिग्रनुको मुख्य कारण अल्कोहल नै भएको डा. सागर पौडेल बताउँछन् । कलेजो बिग्रने चार चरण हुन्छन्, ए, बी, सी र डी । ए र बीलाई औषधीले धान्छ । लिभर सिरोसिसको कारण ६० प्रतिशत, क्रोनिक हेपाटाइटिस ‘बी’ र ‘सी’ अत्यधिक मोटोपना भएकोमा कलेजो कोलेस्ट्रोल र सुगर भएका बिरामीको कलेजो बिग्रने गरेको पाइएको डा. पौडेलले बताए ।

सिसोरिसमा पेटमा पानी जम्मा हुने, नशाको प्रेसर बढ्ने, जण्डिस बढ्ने, बेसुर हुने अवस्थामा प्रत्यारोपण चाहिन्छ भन्ने बुझिने डाक्टरहरु बताउँछन् । ‘एक्युट लिभर फेलिएर’ कुनै विषादी वा केही एलर्जीको कारणले हुने डा. पौडेल बताउँछन् । यस्ता बिरामीलाई तत्काल प्रत्यारोपण नगरे ज्यान जोखिममा पर्न सक्छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?