+
+

दुरा र लुङ्खिमको भाषा कक्षा सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते २०:२१

१७ भदौ, काठमाडौं । भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए ।

उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा आयोगले मातृभाषा संरक्षण एवं प्रवद्र्घनका लागि भाषा कक्षा (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका २०७५ तयार गरी भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।

लमजुङको दुराडाँडा र आसपास प्रमुख बसोबास क्षेत्र भएको दूरा जातिको मातृभाषा बोल्न सक्ने एकजना मात्र छन् मुक्तिनाथ घिमिरे । भाषा अध्येता घिमिरेका अनुसार लमजुङ, तनहुँ, कास्की, चितवन र गुल्मीमा गरी दुरा जातिको जनसंख्या करीब १० हजार छन् तर दुरा जातिका कसैले पनि मातृभाषा बोल्न जान्दैनन् ।

राईभित्र लुङखिम भाषा बोल्ने जम्मा ९ जना मात्र छन । इलामको सूर्योदय नगरपालिका–१० आहालेमा मुख्य बसोबास गर्ने यो समुदायको जम्मा जनसंख्या करीब २०० रहेका छन् ।

दाङको लमहीमा कुसुन्डा, गोरखाको सुलिकोटमा बराम र खोटाङको हलेसी तुवाचुङमा तिलुङ भाषाको कक्षा सञ्चालन गरिरहेको छ ।

चरणवद्ध हुने भाषा कक्षा एक चरणमा ४५ दिनको हुने गर्छ । कुसुन्डा, बराम र तिलुङ भाषाको दुई चरणको कक्षा सकिनुका साथै कुसुन्डा र बराम भाषाको पुस्तक प्रकाशित गरिसकेको छ । तिलुङ भाषाको पुस्तक प्रकाशनको तयारीमा रहेको आयोगले जनाएको छ । यी तीन भाषाका तेस्रो चरणको कक्षाको लागि पनि तयारी भइरहेको आयोगको भनाइ छ ।

दाङकी ज्ञानीमैयाँ सेन (८५) को २०७६ साल ११ माघमा मृत्यु भएपछि अब कुसुन्डा भाषा बोल्न सक्ने तीन जना मात्र छन् । ज्ञानीमैयाँकी बहिनी कमला सेन (खत्री), भाषा अनुसन्धानकर्ता उदय आले, भोजराज गौतम मात्र यो भाषा बोल्न सक्छन । अनुसन्धानकर्ता आले दाङ, तनहूँ, प्यूठान, रोल्पा लगायत आठ जिल्लामा बसोबास गरिरहेका कुसुन्डाको जनसंख्या १७४ मात्र भएको बताउँछन् ।

राईभित्रको तिलुङ भाषा दोहोरो बोल्न सक्ने दुई जना जीतबहादुर राई र जेमशेर राई मात्रै हुन् । खोटाङको हलेसी तुवाचुङ गाउँपालिकामा १२०० जनसंख्या रहेको यो जातिका अरू आठ जनाले बुझ्न र सामान्य मात्र बोल्न सक्ने तिलुङ भाषा कक्षा सहजकर्ता लम्बरबहादुर राई बताउँछन् ।

यसबाहेक भुजेल, धिमाल, डोटे, माझी, सुरेल, कागते÷स्युबा भाषाका वक्ता पनि १०० जनाभन्दा कम छन् ।

भाषालाई पुस्तान्तरण दिनको लागि आयोगले सञ्चालन गरिरहेको भाषा कक्षाले सहयोग पुग्ने भाषा अध्येता उदयराज आले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?