+
+
अन्तर्वार्ता :

‘म सभापतिको उम्मेदवार हुँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते २०:३०
फाइल तस्वीर

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ । सभापति पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा पनि एकमत छैन भने संस्थापनइतर समूह झन् विभाजित छ ।

१७ भदौमा संस्थापनइतरका चार सभापति आकांक्षीले पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार दिने बताए । तर त्यहाँ कृष्णप्रसाद सिटौला देखिएनन् । भन्छन्, ‘त्यो रामचन्द्रजीको टिम हो । वडा अधिवेशनका बेला उहाँहरुको टीममा देखिनु उपयुक्त ठानिनँ ।’

आफू पनि सभापतिको उम्मेदवार भएको र जिल्ला अधिवेशनपछि ‘सिन क्लियर’ हुने उनको तर्क छ । आसन्न महाधिवेशन र सरकारबारे कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिटौलासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

वडा अधिवेशन शुरु हुनु अघिल्लो दिन संस्थापनइतर समूहको पत्रकार सम्मेलनमा तपाईं देखिनुभएन नि ?

१३ औं महाधिवेशनमा शेरबहादुर देउवाजी र रामचन्द्र पौडेलजी बलियो समूह बनाए प्रतिस्पर्धामा उत्रिनुभएको थियो । उहाँहरु दुवैबाट पार्टीमा सफल नेतृत्व आउन सक्दैन भन्ने लागेर मैले उम्मेदवारी दिएको थिएँ ।

मैले ‘तपाईंहरु १३औं महाधिवेशन टीमका साथीहरु एक ठाउँमा हुनुहुन्छ । म आफैं पनि सभापतिको उम्मेदवार हुँ । पहिला तपाईंहरु एउटा टुंगोमा पुग्नुस्, त्यसपछि मैले के गर्ने मेरा कुरा राखौंला । म आफैं उठ्छु कि शेरबहादुरजीसँग मिल्छु कि तपाईंहरुलाई सघाउँछु भन्ने भोलिका कुरा हुन्’ भनेको छु ।

मैले सभापतिमा उम्मेदवारी दिएपछि गगन थापाले महामन्त्री र उमाकान्त चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिनुभयो । हामीले केन्द्रीय सदस्यहरुको टीम बनाएनौं । मेरो उम्मेदवारी विचार अभिव्यक्तिका रुपमा थियो ।

महाधिवेशनमा बनेका टीमहरुले पार्टीभित्र आ–आफ्नो ढंगले काम गर्दै आए । पार्टीलाई एकतावद्ध बनाएर लैजाने अभियान पनि छ, साथसाथै पार्टीभित्र नीति, विचार र कार्यक्रमको आधारमा प्रतिस्पर्धा गर्दै आफ्नो नेतृत्वलाई अगाडि लैजाने कुरा पनि छ ।

पार्टीसामु आएका चुनौतीहरुको सामना गर्न एक भएर लाग्नुपर्छ, पार्टी संगठन निर्माणमा प्रतिस्पर्धा गरेर जानुपर्छ, आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अस्ति भदौ १७ गते पत्रकार सम्मेलन गरेको १३औं महाधिवेशनको रामचन्द्रजीकै टीमले हो । शशांक कोइरालाजी रामचन्द्रजीकै महामन्त्री भएर जित्नुभएको हो । प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत लगायतले त्यही टीमबाट प्रतिस्पर्धा गर्नुभयो । वडा अधिवेशनका बेला उहाँहरुको टीममा देखिनु उपयुक्त ठानिनँ । फेरि, उहाँहरुले मलाई बोलाउने कुरा पनि भएन, म आफैं खोज्दै जाने कुरा पनि भएन ।

संस्थापनइतरका सभापतिका आकांक्षीहरुबीचका छलफलमा त जानुभयो नि ?

मलाई पनि कहिलेकाहीं छलफलमा बोलाउनुहुन्छ । उहाँहरुको दाबी दुई–तीन वर्षदेखि सुनिरहेको छु । एक भएर जानुपर्छ भन्न छोड्नु भएको छैन ।

मैले ‘तपाईंहरु १३औं महाधिवेशन टीमका साथीहरु एक ठाउँमा हुनुहुन्छ । म आफैं पनि सभापतिको उम्मेदवार हुँ । पहिला तपाईंहरु एउटा टुंगोमा पुग्नुस्, त्यसपछि मैले के गर्ने मेरा कुरा राखौंला । म आफैं उठ्छु कि शेरबहादुरजीसँग मिल्छु कि तपाईंहरुलाई सघाउँछु भन्ने भोलिका कुरा हुन्’ भनेको छु ।

१३औं महाधिवेशन र त्यसपछि तपाईंसँग जोडिएका नेताहरु त त्यो पत्रकार सम्मेलनमा थिए त ?

मैले १३औं महाधिवेशन र त्यसयता जोडिएका साथीहरुको बैठक राखेको थिएँ । तलबाट साथीहरु प्रतिस्पर्धा गर्दै आउनुहुन्छ भन्ने हाम्रो साझा बुझाइ हो । स्थानीय तहमा साथीहरुले आफ्नो व्यक्तित्व विकासका लागि जे उपयुक्त हुन्छ, त्यही निर्णय गर्नुहुन्छ ।

पहिलेजस्तो ‘कोर टीम’ आउने अवस्था अहिले कहीं छैन । शेरबहादुरजीको टीम छरपष्ट छ, रामचन्द्रजीको टीम पनि छरपष्टै छ । त्यसैले वडादेखि जिल्लासम्म साथीहरुले आफ्नो अनुकूल टीम बनाएर प्रतिस्पर्धा गर्नुहुन्छ ।

जिल्ला अधिवेशनपछि हामीलाई साथीहरुको सन्देश कस्तो आयो भनेर प्रष्ट थाहा हुन्छ र प्रदेश महाधिवेशनअघि गम्भीर छलफल हुन्छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला (फाइल तस्वीर)

जिल्ला अधिवेशनपछि मात्र तपाईंहरुको समूह कहाँ उभिने भन्ने निर्णय हुने हो ?

सबैले गर्ने त्यही हो । महाधिवेशनको प्रक्रिया जति माथि आउँछ, प्रतिस्पर्धी टीम साँघुरिदै जान्छ । जिल्ला अधिवेशनपछि, प्रदेश महाधिवेशनअघि सबैले आ–आफ्नो निर्णय गर्छन् ।

संस्थापनइतर एक ठाउँमा हुने अवस्था छ ?

अहिले सभापतिका सबै आकांक्षी छलफलमै छौं । एक्लाएक्लै र सामूहिक भेटघाट भइरहेको छ ।

जहाँसम्म संस्थापन इतरको प्रश्न छ, रामचन्द्रजीकै टीम एक ठाउँमा मिल्न सकेको छैन । त्यहाँ अरु थपिएर एक हुने अवस्था देखिँदैन । सबैको रणनीति आ–आफ्नो टीम बलियो बनाउँदै लैजाने र मलाई सहयोग गर्नुस् भन्ने नै होला ।

तपाईंको रणनीति पनि त्यही हो ?

मेरो टीममा म बाहेक अरुले सभापतिमा उठ्छु भनेको छैन । रामचन्द्रजीको टीममा सभापतिमा चार जना (रामचन्द्र, शशांक, प्रकाशमान र शेखर) को दाबी छ । शेरबहादुरजीको टीममा पनि दुई जना (शेरबहादुर र विमलेन्द्र निधि) उम्मेदवार देखिनुभएको छ ।

उहाँहरुले आफ्नो टीमलाई बलियो बनाउँदै ल्याउने र शक्ति बढेअनुसार दाबी प्रस्तुत गर्ने होला । पार्टीको आन्तरिक प्रतिस्पर्धा भनेकै यही हो ।

तपाईंहरुले चाहिं तलबाट आउने सन्देशको आधारमा सभापतिमा उठ्ने वा नउठ्ने निर्णय गर्ने हो ?

सबैको तयारी त्यही हो । अहिले साथीहरु जहाँ–जहाँ हुनुहुन्छ, अन्तिमसम्म त्यहीं रहनुहुन्छ भन्ने छैन । १३औं महाधिवेशनमा शेरबहादुरजीको टीमबाट महामन्त्रीको उम्मेदवार हुनुभएका अर्जुननरसिंह केसीलाई अहिले त्यहाँ देख्दिनँ । विमलेन्द्रजीको कुरा पनि त्यही हो ।

रामचन्द्रजीकै टीमबाट महामन्त्री लडेका शशांकजीले रामचन्द्रजीलाई नै चुनौती दिनुहोला भन्ने कल्पना पहिले गरिएको थिएन होला । रामचन्द्रजीकै टीमबाट सबभन्दा बढी भोट ल्याएका शेखरजी अहिले अब सभापति हुन्छु भनिरहनुभएको छ ।

पार्टीभित्रको प्रतिस्पर्धा धेरै संवेदनशील हुन्छ । त्यहाँभित्रका धेरै कुरा सार्वजनिक गर्न कठिन हुन्छ । किनभने, हामीलाई आन्तरिक प्रतिस्पर्धा मात्र गर्नु छैन, महाधिवेशनमा प्रतिस्पर्धाको परिणामपछि पार्टीभित्र बृहत एकता पनि गर्नुपर्छ ।

यो अवस्था बन्यो भने म सभापतिमा लड्छु, त्यो अवस्थामा लड्दिँन भन्ने हो ?

१३औं महाधिवेशनमा मेरो तयारी थिएन । सुशील दा’लाई नै अगाडि बढाउने भनेर उहाँको सहयोगीका रुपमा काम गरिरहेको थिएँ । दुर्भाग्यवस जिल्ला अधिवेशनकै दिन उहाँको निधन भएपछि मैले फरक भूमिका निर्वाह गर्नुपर्ने परिस्थिति बन्यो ।

अहिले ७७ वटै जिल्ला, १६५ वटै निर्वाचन क्षेत्रमा हाम्रो तयारी छ । आजका दिनमा एक वाक्यमा भन्नु पर्दा म पार्टी सभापतिको उम्मेदवार हुँ ।

ओलीजीले आफ्नो पार्टी मिलाउन नसक्दा संसद बचाउन शेरबहादुरजी प्रधानमन्त्री बन्नुपर्ने बाध्यात्मक अवस्था बन्यो । मैले दल फुटाउने अध्यादेशको बचाउ गर्न खोजेको होइन, यसलाई बाध्यात्मक परिस्थितिको उपज भनेको मात्र हो ।

सभापतिको उम्मेदवार बन्दै गर्दा प्यानलको पनि कुरा आउला नि ?

प्यानल बन्दै जान्छ । अहिले मैले मात्र होइन, कसैले पनि मेरो प्यानल यो हो भन्न सक्दैन । रामचन्द्रजी, शेरबहादुरजी पनि मेरो उपसभापति फलाना, महामन्त्री फलाना भन्न सक्नुहुन्न । प्यानल घोषणा गर्ने बेलै भएको छैन ।

१३औं महाधिवेशनमै तपाईंको टीम सानो थियो, अहिले छिन्नभिन्न भइसक्यो पनि भनिँदैछ नि ?

पहिला मेरो टीम नै थिएन । अहिले पूर्ण र विस्तारित टीम छ । वैचारिक र व्यावहारिक दृष्टिकोणले पार्टीभित्र आमूल परिवर्तन हुनुपर्छ भन्ने साथीहरु मसँग जोडिनु भएको छ । विगतका कमिकमजोरी सुधार गरेर जानुपर्छ भन्ने मान्यता बोकेका साथीहरु मसँग हुनुहुन्छ ।

कांग्रेस सरकारको नेतृत्व गरिरहेको दल पनि हो । तपाईंहरुको अलमलले सरकारको कामकारबाही प्रभावित भएको छ भन्ने लाग्दैन ?

पार्टीका कारणले सरकार प्रभावित हुनुपर्ने कुनै कारण छैन । सभापति शेरबहादुरजीको नेतृत्वमा गठित सरकारलाई पार्टीको पूर्ण समर्थन छ । मन्त्रिपरिषद् विस्तारदेखि प्रशासनिक संयन्त्र परिचालनसम्मका विषयमा विगतका कमजोरी सच्याएर तीव्र गतिमा जान उहाँ चुक्नुभएको छ । हामीले यसबारे उहाँसँग कुरा गरेका छौं । सरकारमा रहेका अन्य दलहरु संलग्न बैठकमा पनि मैले यो कुरा राखेको छु ।

प्रधानमन्त्रीलाई अहिले गठबन्धन बोकेर हिँड्नुपर्ने वाध्यता छ । यसले गर्दा सरकार विस्तारमा ढिलाइ भएको कुरा प्रधानमन्त्रीले हामीलाई भन्नुभएको छ । हामीले अब ढिलो नगरीे गठबन्धनलाई सहमत गराएर मन्त्रिमण्डल विस्तार गर्नुस् भनेका छौं ।

गल्ती सच्याउन ढिलाइ गरिरहेको छ कि गल्ती थप्दै गएको छ सरकार ?

मन्त्रिपरिषद्ले पूर्णता पाइसकेपछि त्यसको काम हेरेर मूल्यांकन गर्नु उचित होला ।

यो सरकारलाई आरामले गरौंला भन्ने समयको सुविधा त छैन नि ?

अहिलेको सरकारसँग मेरो धेरै अपेक्षा छैन । एउटै अपेक्षा हो– तीनवटै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गरोस् ।

त्यसै पनि यो चुनावी वर्ष हो । चुनावी वर्षमा प्रवेश गरेपछि सरकार गठन भएको छ । त्यसमाथि गठबन्धन भएकाले एउटै पार्टीको निर्णयले सरकार अगाडि जान सक्दैन । प्रधानमन्त्री गठबन्धनका सहयोगी दलहरुलाई छोडेर हिँड्दा सरकार नै गिर्ने अवस्था छ । सबैलाई साथमा लिएर, सबैका चित्त बुझाएर हिँड्नुपर्ने बाध्यता छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशकै कुरा गर्नुस् न । संसदीय दल वा केन्द्रीय समितिको जम्मा २० प्रतिशतले चाहँदा दल विभाजन गर्न मिल्ने अध्यादेश आयो । यो उपयुक्त होइन भन्ने हामीलाई लागेको छ । यो अध्यादेशले स्थायित्वको हकमा काम गर्दैन भन्ने पनि थाहा छ, तर गठबन्धन सरकार बचाउन सहयोगी दलहरुको सुझावलाई मान्न प्रधानमन्त्री बाध्य हुनुहुन्छ ।

यस्ता विषयमा प्रधानमन्त्री आफूले नचाहेको निर्णय गर्न बाध्य हुनपर्ने अवस्था छ । तर, उहाँले क्षमता देखाउनैपर्छ । चाँडै मन्त्रिपरिषद् विस्तार गर्नैपर्छ । एक वर्षमा जनतालाई जे दिन सकिन्छ, त्यो दिनैपर्छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत कायमै गरेर अध्यादेश ल्याँदा भयंकर विरोध गर्नुभयो । अहिले आफू सरकारमा पुगेपछि २० प्रतिशतमा झार्दा पनि बाध्यता भनेर उम्कन पाइन्छ र ?

हिजो दुईतिहाइको सरकार हुँदा अध्यादेश ल्याइएको थियो । आज सरकार जोगाउन पनि अध्यादेश ल्याउनुपर्ने बाध्यता रह्यो । नभए, माधवकुमार नेपालको सहयोग चाहिँदैन भनेर सरकार छोड्नुपर्थ्यो ।

आफ्नो सरकार जोगाउन अरुको पार्टी फुटाइदिने त ?

अर्काको पार्टी फुटाइदिएको होइन, सहयोगी दलको कुरा मानिदिएको मात्रै हो । शेरबहादुरजी जुन आधारमा प्रधानमन्त्री बन्नुभयो, त्यो आधारलाई बलियो बनाउनु परेको हो । आधार भत्काउनु त भएन नि !

आज एमालेलाई खाएको बाघले भोलि कांग्रेसलाई खान्छ भन्ने डर छैन ?

शीर्ष नेताहरुले राम्रोसँग व्यवस्थापन गर्न नसकेको पार्टीमा दुर्गति त आउँछ, आउँछ । नेपाली कांग्रेसले पनि विगतमा यस्तो भोगेकै हो ।

कांग्रेसले २०४८ सालमा बहुमत पायो, तर गिरिजाबाबु, किसुनजी र गणेशमानजीबीच असमझदारी हुँदा तीन वर्षमै सरकार ढल्यो । मध्यावधि निर्वाचनमा हार भयो । अर्को घटना, शेरबहादुरजी बहुमतको प्रधानमन्त्री बन्नुभयो, तर उहाँले पनि संसद विघटन गरिदिनुभयो ।

पार्टी सभापति वा प्रधानमन्त्री हुँदा अरु नेता–कार्यकर्तालाई साथै लैजान नसक्ने असफल नेता हो । केपी ओलीजीले आफ्नो पार्टीलाई राम्रोसँग अगाडि बढाएको भए यो परिस्थिति आउने थिएन । ओलीजीले आफ्नो पार्टी मिलाउन नसक्दा संसद बचाउन शेरबहादुरजी प्रधानमन्त्री बन्नुपर्ने बाध्यात्मक अवस्था बन्यो ।

मैले दल फुटाउने अध्यादेशको बचाउ गर्न खोजेको होइन, यसलाई बाध्यात्मक परिस्थितिको उपज भनेको मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?