+
+

गुण्डा नाइके गिरी पुनः मोरङ कारागार सरुवा

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ २१ गते ७:५९

२१ भदौ, विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीको जिल्ला कारागार मोरङमा सरुवा भएको छ । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली अभियान सञ्चालन गरेपछि तीन वर्षअघि केन्द्रीय कारागार डिल्लीबजार पठाइएका गिरीको पुनः विराटनगर कारागार सरुवा भएको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्न मिल्दैन । एउटै कारागारमा पठाउने परम्परा पनि छैन । तर कांग्रेस नेताहरुको सोर्सफोर्समा उनलाई विराटनगर पठाइएको स्रोतले बतायो ।

नेपाली कांग्रेसका नेताहरुको संरक्षण पाएका गिरी जिल्ला कारागार मोरङमा रहँदा चौकिदार थिए । चौकीदारको रुपमा रहँदा कारागार भित्रैबाट बजारमा फिरौती उठाएको र कारागार भित्र कैदीबन्दीलाई बढी यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा भएको थियो । उनको सरुवाको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । तर पुनः मोरङको चौकिदार बनाउनका लागि उनलाई विराटनगर पठाइएको स्रोतले बतायो ।

पाँच महिनायता काङ्ग्रेस नेताहरुले गिरीलाई विराटनगर ल्याउन खोजेका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनी निकट मोरङका नेताले गिरीलाई विराटनगर ल्याउन लबिङ गरेका थिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा निकट मोरङका नेताको प्रेसर गृहमन्त्रालयमा थियो,’ स्रोत भन्छ, ‘कैदी सरुवा गर्दा रकमको चलखेल पनि भएको बुझिएको छ ।’

अभिषेक गिरीसँगै उनका टीमका अन्य तीन जनाको पनि विराटनगर सरुवा भएको छ । गिरीका सहयोगी अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि विराटनगर सरुवा भएको हो ।

सरुवाका लागि कारागार व्यवस्थान विभाग बन्दी प्रशासन शाखाले कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । शाखा अधिकृत सन्तोष लामिछानेले हस्ताक्षर गरेको पत्रको चलानी नम्बर २८७ छ । पत्रको बोधार्थ मोरङ कारागारलाई दिइएको छ ।

पत्रमा लेखिएको छ, ‘तहाँ (डिल्लीबजार) कारागारमा रहेका तपशील बमोजिमका कैदीबन्दीहरुलाई निजको मुद्दासँग सम्बद्ध सबै कागजातसहित आवश्यक सुरक्षाका साथ कारागार कार्यालय मोरङमा स्थानान्तरण गर्नु गराउनु हुन साथै उक्त बन्दी बुझाउन ल्याएमा कारागार कार्यालय मोरङले बुझिलिन हुन समेत मिति २०७८ भदौ १७ गतेको निर्णय अनुसार अनुरोध छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरुवा विराटनगर कारागारमा हुन लागेको पुष्टि गरे । गिरीसहित चार जनाको विराटनगर सरुवा भएको उनले बताए ।
गिरीलाई डिल्लीबजार पठाएपछि चौकीदारको जिम्मेवारी नविन राईले पाएका थिए । गिरी पुनः आएपछि उनको जिम्मेवारी खोसिने जिल्ला कारागार मोरङ स्रोतले जानकारी दिएको छ । ३०० जना कैदीबन्दी बस्ने क्षमता भएको जिल्ला कारागार मोरङमा ९ सय बढी कैदीबन्दी छन् ।

को हुन् गिरी ?

विराटनगर महानगरपालिका- ११ घर भएका गिरी विराटनगरलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न थिए । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका उनी कारागार भित्रैबाट आफ्नो काम गर्थे । उनलाई नेपाली कांग्रेसका नेताहरुको संरक्षण छ ।

छोटो समयमा अकुत सम्पत्ति कमाएको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा पनि चलाएको थियो । तर अन्य गुण्डा नाइकेसँगै उनले अकुत सम्पत्ति  मुद्दामा सफाइ पाएका थिए ।

विराटनगरलाई केन्द्र बनाएका गिरीको अर्का गुन्डा नाइके पर्शुराम बस्नेतसँग पानी बाराबारको अवस्था छ । बस्नेत पछिल्लो समय एमालेको राजनीतिमा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?