+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काली मार्सी फल्ने जुम्लाका फाँटमा स्याउ खेती

कृष्णमाया उपाध्याय कृष्णमाया उपाध्याय
२०७८ भदौ २१ गते १८:११

२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ ।

बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्‍मी  नेपालीले बताइन् ।

२०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) भेरीखोला भन्ने ठाउँबाट बगेर आएको नदीले कटान गर्दा समस्या भए पनि अहिले ती खेतमा लटरम्म स्याउ फलेको देख्दा दुःख बिर्साउने बाटो भएको पद्‍मीको भनाइ छ । पाक्न लागेको धान खेत नदीले कटान गरेको सम्झँदा अहिले पनि उनको आँखाबाट आँशु झर्छ ।

त्यो ज्युलोको नाम कुनबाडा हो । ८० घरधुरीका मानिस मिलेर त्यस ज्युलोमा स्याउको व्यावसायिक खेती गर्न थालेको सोही गाउँका किसानले बताए । एक जना किसानले ५० देखि १५० सम्म स्याउका बिरुवा लगाएका छन् ।

हरेक वर्ष चैतदेखि कात्तिक महीनासम्म धान खेती गर्ने काममा यहाँ महिला धेरै खटिनुपर्थ्यो । खेतीको काम भनेपछि धेरैजसो काममा महिला नै अघि सर्नुपर्थ्यो । अहिले त्यस्तो दुःख नभएको किसान निरा उपाध्यायले बताइन् । भनिन्, ‘पहिला धानको उत्पादन पनि कम हुने र साउन भदौमा नदीको वहाव बढेर खेत बगाउँदा वर्षभरिको दुःख त्यसैमा जान्थ्यो । अहिले स्याउ मात्रै होइन; सिमी, मास, लगायतका कोसेबाली र आलु, काउली, मुला, गाँजर, गोलभेडा लगायत तरकारीबाट समेत राम्रो फाइदा भइरहेको छ ।’

‘नदी कटान रोक्न अन्य बिरुवा रोपे पनि हुन्थ्यो तर स्याउबाट नदी कटान पनि रोकिने, आम्दानी पनि हुने भएकाले यसो गर्न थालेका हौं’ निराले भनिन् । ‘स्याउ लगाएको तीन वर्षसम्म दुःख भए पनि चौथो वर्षदेखि फल दिन थालेपछि पहिलाका दुःख हराउने’ उनको भनाइ छ ।

‘धान रोप्दा महिलाले बढी खेतबारीको काममा खटिनुपर्थ्यो । अहिले स्याउको काममा महिला पुरुष बराबर काम गर्छौं,’ उनले भनिन्, ‘गाउँमा सडक पनि पुगेको छ, स्याउले पनि राम्रो मूल्य पाउन थालेको छ ।’

स्याउ बेचेर नगद आम्दानी हुन थालेपछि अरूसँग हात पसार्नु नपरेको र छोराछोरीको पढाइ खर्च गर्न सहज भइरहेको अर्की किसान काली खोडे नेपालीले बताइन् । काली खोडेले भनिन्, ‘स्याउ किन्न व्यापारीहरू बगैंचामा पुग्न थालेको हुनाले अहिले ५० देखि ६० रुपैयाँ किलोमा स्याउ बिक्री हुँदै आएको छ ।’

धान रोप्दा कहिले नदीले कटान गर्थ्यो कहिले उत्पादन पनि भने जस्तो हुँदैनथ्यो तर स्याउ लगाएदेखि स्याउ सँगसँगै अन्य बालीबाट पनि फाइदा भएको हुनाले हिजोभन्दा धेरै सहज भएको उनको भनाइ छ । काली खोडे भन्छिन्, ‘स्याउको बगैंचामा आरु, ओखरका बिरुवा समेत लगाएको हुनाले राम्रो कमाइ हुने आशा छ ।’

धान रोपेको बेला चैत महीनादेखि कात्तिकसम्म धेरै दुःख गर्नुपर्थ्यो भन्छिन् अर्की किसान सुपधरा नेपाली । उनी भन्छिन्, ‘चैतमा बीउ छरेर जेठमा बीउ निकाल्ने, रोप्ने र असारदेखि भदौसम्म गोडमेल गर्दा असोजमा आएको बाढीले पाक्न थालेको धान खेत पूरै बगाउँदा रुनुपर्थ्यो ।’

अहिले स्याउ खेती दुःख बिसाउने बाटो भएको छ र यसले महिलाको कामको बोझ पनि हल्का बनाएको उनको भनाइ छ । बगैंचा व्यवस्थापनदेखि टिप्ने बेलासम्म महिला पुरुष दुवैले काम गर्ने भएकोले हिजो धान खेती गर्दा भन्दा महिलालाई सजिलो भएको उनको भनाइ छ ।

धानको साटो स्याउ लगाउने निर्णयले गाउँका किसानको जीवन बदलिएको बताउँछन् स्थानीय कृष्णकान्त चौलागाई ।

आफूहरूसँग स्याउका बिरुवा किनेर लगाउने पैसा समेत नभएको हुनाले २०६७ सालमा जिल्लामा बाढी पहिरो नियन्त्रणको लागि काम गर्दै आएको एउटा गैरसरकारी संस्थासँग सहयोग मागेर बिरुवा लगाएको उनले बताए ।

‘त्यो ठाउँमा खेत भएका सबै किसानलाई समेट्ने निःशुल्क रूपमा ५०० बिरुवा पाएपछि स्याउ लगाएका हांै, अहिले राम्रो फलिरहेको छ’, उनले भने । स्याउ लगाएको वर्षदेखि त्यो ठाउँमा अहिलेसम्म नदीले कटान पनि गरेको छैन र स्याउबाट धानभन्दा दोब्बर फाइदा भइरहेको उनको भनाइ छ ।

‘अहिले त्यो ठाउँमा ५०० बोटमा स्याउ फलिरहेका छन्’ अर्का किसान देवीराज चौलागाईले भने, ‘पहिला धान रोप्दा उत्पादन पनि राम्रो थिएन, नदीले कटान पनि गर्थ्यो भने अहिले त्यस्तो छैन ।’

‘बगैंचा व्यवस्थापनदेखि स्याउ टिप्ने र बजारसम्म पुर्‍याउने कार्यमा गाउँका महिला र पुरुषले समान काम गर्ने भएको हुनाले पनि महिलालाई सहज भएको’ उनको भनाइ छ । बगैंचा भएको ठाउँबाट ग्रामीण सडक पुगेको ठाउँसम्म १० मिनेटको बाटो हिंड्नुपर्छ भने कर्णाली राजमार्ग भएको ठाउँसम्म पुग्न एक घण्टाको पैदलै यात्रा गर्नुपर्ने भएकाले स्याउले राम्रै बजार मूल्य पाइरहेको किसान बताउँछन् ।

पहिला धान लगाउँदा वर्षभरि खान पुग्दैनथ्यो । हिजोआज स्याउ सँगसँगै अन्य कोसे बालीबाट पनि फाइदा हुन्छ । किसान टिम्के नेपाली भन्छिन्, ‘आफूलाई आवश्यकता परेको बेलामा त्यही खेतमा उत्पादन भएको तरकारी र सिमी, स्याउ बेचेर काम चलाउने गरेकी छु । हिजो जस्तो दुःख छैन ।’

टिम्के भन्छिन्, ‘श्रीमान घरमा नभएको बेला घरायसी खर्च टार्न पनि सजिलो हुन थालेको छ । मलाई मात्रै होइन त्यो ठाउँमा स्याउ लगाएका सबै दिदीबहिनीलाई सजिलो भएको छ । नगद हातमै आउने भएकाले अरूसँग हात जोड्नुपर्ने बाध्यता गयो ।’

यो ठाउँको उदाहरणले वर्षेनि नदीले कटान गरेर बगरमा परिणत भएका जुम्लाका अन्य खेतहरूमा पनि किसानहरूलाई स्याउको व्यावसायिक खेतीमा लाग्न प्रेरणा दिएको छ । किसान यज्ञप्रसाद उपाध्याय भन्छन्, ‘जुम्लाको धेरै गाउँमा बगरमा परिणत भएका खेतहरू अहिले बाँझो अवस्थामा छन् । हामीले स्याउ लगाएर राम्रै फाइदा भएको हुनाले अरूले पनि त्यसै गर्न सके व्यावसायिक स्याउ खेती पनि हुने र नदी कटान जस्ता समस्या पनि रोकिनेथियो ।’

धान खेतमा स्याउ खेती गर्ने किसानहरूले जुम्लाकै स्थानीय रैथाने जातको रोयल, गोल्डेन र रेड डेलिसियस जातको स्याउ लगाइरहेका छन् । पछिल्लो समयमा विकसित फुजी जातका स्याउका बिरुवाहरू भित्रन थालेको तर आफूहरूले पुरानै जातको स्याउ लगाएको भए पनि राम्रो फाइदा भइरहेको किसानको भनाइ छ । वर्षमा एक जना किसानले स्याउबाट एक लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताएका छन् ।

स्याउको बजार खोज्न समस्या नभए पनि लामो समयसम्म भण्डारणको व्यवस्था नभएको हुनाले किसानले तोकेको मूल्यभन्दा पनि व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्ने बाध्यता चाहिं अहिले पनि छ । किसान शान्ति नेपाली भन्छिन्, ‘लामो समयसम्म भण्डारण गर्ने व्यवस्था भयो भने अझ बढी मूल्यमा स्याउ बेच्थ्यौं होला । अहिले त्यो सुविधा छैन ।’

जुम्लामा ९ हजार हेक्टर जमीनमा स्याउ लगाइएकोमा साढे सात हजार हेक्टर जमीनमा लगाइएको स्याउले फल दिंदै आएको छ र बाँकी बिरुवा हुर्कंदै गरेको जिल्ला कृषि विकास कार्यालय, जुम्लाका कृषि अधिकृत खेमराज शाहीले बताए ।

उनले भने त्यसमा एक हजार हेक्टर जमीनमा उच्च घनत्वका फुजी जातका स्याउ लगाइएको छ भने बाँकी स्थानीय रोयल, रेड र गोल्डेन डेलिसियस जातका स्याउ लगाइएको छ । जुम्लामा स्याउ खेती विस्तारको लागि प्रशस्त सम्भावना रहेको हुनाले बगरमा परिणत भएका सबै ठाउँमा स्याउ खेती गर्न सके राम्रो आम्दानी भएर किसानको जीवनस्तर माथि उकास्न सकिने शाहीको भनाइ छ ।

जुम्ला सडक सञ्जालसँग जोडिएसँगै स्याउले पनि राम्रो बजार पाउन थालेको उनको भनाइ छ । कृषि पेशामा जुम्लाका ६० प्रतिशत महिला संलग्न भएको हुनाले स्याउबाट भइरहेको फाइदालाई महिलाले अहिले प्रत्यक्ष उपयोग गर्न पाएका छन् उनले भने । शाही भन्छन्, ‘स्याउ, ओखर र आरु लगायत फलफूलबाट राम्रो आम्दानी हुन थालेपछि महिलाले पनि आर्थिक अधिकार पाउन थालेका छन् ।’

स्याउको व्यावसायिक खेती गर्न महिलाद्वारा गठन भएका सहकारी र समूहलाई कृषि विकास कार्यालय, प्रदेश र संघ सरकार मार्फत बगैंचा व्यवस्थापन, सिंचाइ, नयाँ बिरुवा अनुदानमा वितरण र मल तथा बिरुवामा देखिएको समस्या समाधानको लागि सहयोग हुँदै आएको कृषि विकास कार्यालय, जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?