+
+
सम्बन्ध :

बुवाले आजसम्म ठूलो स्वर गरेको थाहा छैन : सुमन खरेल

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ २२ गते १९:४१

बुवाको मोटरसाइकल पछाडि बसिरहेका सुमन खरेललाई आफू कहाँ जाँदैछु भन्ने पत्तो थिएन । तर बुवासँग घरबाहिर जान पाएको निकै खुशी थिए ।

घरबाट निस्केको पन्ध्र मिनेटमा मोटरसाइकल सिंहदरबारभित्र रोकियो । अनि बुवाले सुमनको हात समाउँदै ठूलो टावर भएको घरभित्र लगे । त्यहाँभित्रको एउटा कोठामा आफू सरासर छिरेर सुमनलाई भने बाहिरको सानो मेचमा राखिदिए ।

बल्ल पो सुमनले बुझे, उनी रेडियो नेपाल आएका रहेछन् । जुन ठाउँ ‘बुवाको अफिस’ भनेर उनले घरमा कुरा हुँदा सुनेका मात्र थिए । त्यही दिन थाहा पाए उनले बुवाले अफिसबाट बोलेको कुरा रेडियोमा सुनिने रहेछ । तर कसरी सुनिन्छ त्यो सम्पूर्ण कुरा बुझ्न उनले दुई दशक कुर्नुपर्‍यो ।

दुई दशकपछि फेरि बुवासँग ब्रोडकास्टर (प्रस्तोता) बन्न रेडियो नेपाल पुगेयता सुमन खरेलको मूल परिचय नै रेडियो प्रस्तोता बनेको छ । आज उनले जुन प्रतिष्ठा आर्जन गरेका छन् त्यो रेडियोकै कारण सम्भव भएको छ ।

बुवा किरण खरेलले समाएकै बाटो रोजेका छोरा सुमनले २०७४ माघमा बुवाकै अन्तर्वार्ता लिए । बाबुको अन्तर्वार्ता आफ्नै छोराले लिएको यो घटनाले धेरैको ध्यान खिच्यो । तर यस पछाडिको कारण केही तीतो छ ।

‘बुवासँगको त्यो पहिलो र अन्तिम अन्तर्वार्ता हो,’ सुमन भन्छन्, ‘चालीस वर्ष मिडियामा काम गर्दा एकचोटि पनि बुवाको गीत र बाइट पनि प्रसारण गरिनँ ।’

बुवाले जस्तोसुकै परिस्थितिमा पनि नरम र थोरै बोल्ने बानी नत्यागेको सुमन बताउँछन् । कतिसम्म भने डाक्टर बन्न हेल्थ असिस्टेन्ट पढेका सुमनले पढाइको विषय नै छाड्दासमेत उनले गाली खाएनन् । बरु केही समयपछि बुवा किरणले नै छोरालाई रेडियो नेपालमा काम गर्न सहजीकरण गरिदिए ।

तर पिताको ८० औं जन्मिदिनको अवसरमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सुमनसँग’मा उनले पिता किरण खरेलको अन्तर्वार्ता लिए ।

‘बुवाको स्वास्थ्यले गर्दा बोल्न नसक्ने हुन थालिसक्नुभएको थियो । यसैले सबै नेपालीलाई अर्काइभ होस् भन्ने सोचेर उहाँलाई टेलिभिजनमा ल्याएँ,’ सुमन नेपथ्यको कारण खुलाउँछन् ।

८३ वर्ष पुगेका किरण खरेललाई जिब्रोको समस्याले बोल्न अप्ठेरो हुन्छ । सयौं कालजयी गीतका यी सर्जक पछिल्लो आठ वर्षदेखि सृजनाकर्मबाट पनि पर छन् । तर उनका गीत प्रत्येक दिन कहीं न कहीं बजिरहेका हुन्छन् ।

बुवाको उमेर र स्वास्थ्यलाई ख्याल गर्दै सुमनले टेलिभिजनमा उभ्याएका थिए । जुन अन्तवार्ता हेर्दा पिता–पुत्रको सम्बन्ध देखेर धेरैको आँखा रसाएको थियो ।

०००

समाजका प्रतिष्ठित मानिसहरूलाई आजको भाषामा सेलिब्रेटी वा पब्लिक फिगर भनिन्छ । तर सुमनका अनुसार बुवाले कहिल्यै पनि आफू प्रतिष्ठित व्यक्ति हुँ भन्ने दम्भ राखेनन् । सयौं कालजयी गीतका रचनाकार तथा रेडियो नेपालका चर्चित कार्यक्रम सञ्चालक हुँदा पनि बुवाले अति सामान्य जीवन बिताएको सुमन बताउँछन् ।

बुवाको यही स्वभावलाई जीवनभर अनुशरण गर्न खोजको उनी स्वीकार्छन् । भन्छन्, ‘रेडियोमा बुवाको स्वर यति कोमल थियो मानिसहरू औधि तारिफ गर्थे । व्यक्तिगत जीवनमा पनि उहाँले त्यो कोमलपना कहिल्यै त्याग्नुभएन ।’

बुवाले जस्तोसुकै परिस्थितिमा पनि नरम र थोरै बोल्ने बानी नत्यागेको सुमन बताउँछन् । कतिसम्म भने डाक्टर बन्न हेल्थ असिस्टेन्ट पढेका सुमनले पढाइको विषय नै छाड्दासमेत उनले गाली खाएनन् । बरु केही समयपछि बुवा किरणले नै छोरालाई रेडियो नेपालमा काम गर्न सहजीकरण गरिदिए । सुमनले पनि बुवाको बाटो समाउँदै आफूलाई एक सफल रेडियो प्रस्तोताका साबित गरिसकेका छन् ।

आज सुमन दुई सन्तानका बाबु बनेका छन् । पेशामा अब्बल र अनुभवी भएका छन् । तर यी सबै सफलताको पछाडि बुवाको प्रत्यक्ष–अप्रत्यक्ष हात रहेको कुरा बताउन पाउँदा गौरव गर्छन् ।

कुशेऔंसीको सेरोफेरोमा उनी बुवासँगका पुराना दिनहरू सम्झिरहेका छन् ।

मामाघर त्रिशूलीको गाउँमा जन्मिएका हुन् सुमन । बुवाको एमएको पढाइ चलिरहेकाले आमालाई माइती पठाइएको बेला उनी परिवारको जेठो छोराको रुपमा जन्मे । एक वर्षपछि मात्र काठमाडौं आएर बुवासँग बस्न थाले । तर पाँच वर्षपछि नै गोदावरीको सेन्ट जेभियर्स स्कुलमा होस्टेल बसेर पढ्न जानुपर्‍यो ।

छुट्टीमा घर आएका बेला मात्र उनको बुवासँग भेट हुन्थ्यो । तर घर आउँदा पनि उनी साथीसँग डुल्न निस्केका हुन्थे भने बुवा जागिरकै काममा घरबाहिर हुन्थे ।

‘बुवा निकै कम बोल्ने स्वभावको हुनुहुन्छ । यसैले स्कुल पढ्दा उहाँसँग कुरा गरेर बस्न अलि डर लाग्थ्यो,’ सुमन सम्झिन्छन् ।

एसएलसी दिएपछि भने उनी बुवाआमा र काकासहित बानेश्वर घरमा बस्न थाले । संयुक्त परिवार भएकाले बुवासँग मात्र आफ्ना कुरा राख्नुपर्ने बाध्यता उनलाई भएन । बरु आमासँगै बढी नजिक भए ।

रोचक के भने एसएलसीपछि मात्र सुमनले बुवाले लेखेका गीत सुन्न थाले । सेन्ट जेभियर्समा हुँदासम्म बुवाले गीत लेख्नुहुन्छ भन्नेसम्म उनलाई थाहा थिएन । सुमन भन्छन्, ‘सेन्ट जेभियर्स स्कुलको संसार नै बेग्लै थियो । त्यस्तो ठाउँमा नेपाली गीत सुन्ने माहोल पनि थिएन ।’

आज उमेरले उकालो काट्दै गर्दा सुमनले बुवाका गीतका अर्थ बुझ्न थालेका छन् । कुन गीत कसरी जन्मिएको कुरा बल्ल उनले थाहा पाएका छन् ।

सुमनलाई बुवा कम बोल्ने र आफ्नै संसारमा हराइने स्वभावको लाग्छ । घर हुँदा पनि फाल्तु गफको साटो केही सोचेर बसिरहने गरेको उनी सम्झिन्छन् । यसैले बुवाले कापीमा गीत लेखेको पनि सुमन र भाइबहिनीले कहिल्यै देखेनन् ।

‘बुवाले कुनबेला लेख्नुहुन्छ भन्ने आजसम्म देखेको छैन,’ उनी भन्छन्, ‘४० को दशकपछि चलचित्रका गीतबारे सल्लाह गर्न निर्देशकहरू घर आउँदा मात्र डायरी पल्टाएर गीत सच्याउन थालेको देख्यौं ।’

अहिले सुमन परिवारसँग ललितपुर बस्छन् । बुवा–आमा बानेश्वरको पुरानै घरमा भाइको परिवारसँग बस्छन् । हरेक शनिबार भेट्न जानुअघि फोनमा ‘मलाई के ल्याइदिन्छस् त ?’ भनेर बुवा उनीसँग साउतीमा कुरा गर्छन् ।

तीन छोरा, एक चोरी र भाइबहिनीको लागि बिहानदेखि रातिसम्म किरण खरेल दौडिरहेका हुन्थे । रेडियो नेपालदेखि चलचित्र संस्थानसम्म जागिर गरेका उनले गीतकार र चलचित्रकर्मीका रुपमा काम गरे ।

रोमान्टिक गीत लेखेर लाखौं श्रोताको मन जिते पनि बुवाले कहिल्यै रस–रमाइलो भनेर नहिँडेको सुमन बताउँछन् । साथै आफ्नो कामबाहेक बुवाले अन्यत्र ध्यान नदिने र अनावश्यक महत्त्वाकांक्षा नराखेको सम्झिन्छन् ।

सुमनको निष्कर्ष छ, ‘ठूलो परिवारलाई लालनपालन गर्ने काम बुवा एक्लैले गर्नुपर्‍यो । त्यही कारण उहाँमा गम्भीरता थपिएको हुनुपर्छ ।’

तर बेलाबेला गायक माणिकरत्न, उत्तमलाल श्रेष्ठ, तारादेवीहरू आएर घरमा चिया खाने गरेको सुमनलाई हिजैजस्तो लाग्छ । बुवाकै पछि लाग्दालाग्दै नेपाली संगीतका सबै कलाकारसँग उनको बलियो सम्बन्ध बनेको छ ।

यति हुँदासम्म सुमनले गीत लेख्नेतिर ध्यान दिएका थिएनन् । २०४१ पछि रेडियो नेपालमा काम गर्दा सबैले गीत लेख्ने चलन भएकाले उनलाई पनि साथीहरूले हौस्याए ।

‘किरण खरेलको छोरा भएर पनि गीत नलेख्ने भन्ने हुन्छ’ भन्दै उनलाई सहकर्मीले व्यंग्य गर्थे । त्यही बेलादेखि सुमनले पनि गीत लेख्न थालेका छन् । तर निकै थोरै मात्र रचना गरेका छन् उनले ।

श्रीमती सितु खरेलले संगीत क्षेत्र नै रोजेपछि भने सुमनका पनि गीत रेकर्ड भएका छन् ।

०००

१९९२ पछिका दुई दशक सुमन बीबीसीमा काम गर्न लण्डन बसे । त्यतिबेला बुवालाई बेलायत घुमाउन लाँदाको एउटा घटना उनी सधैं सम्झिन्छन् ।

सुमन र श्रीमती सितुले भर्खरै ड्राइभिङ लाइसेन्स लिई गाडी किनेका रहेछन् । उनीहरू बुवालाई लिएर अक्सफोर्ड जाँदै थिए । तर बाटो भुलेकाले एउटाले नक्सा हेर्ने अर्कोले गाडी मोड्ने गर्दागर्दै समय बितिसकेको थियो ।

छोरा–बुहारीबीच बाटो भुलेर अलि चर्काचर्की पर्‍यो । पछाडि सिटमा बसेका बुवाले नबोलेको देखेर सुमनले सोधेछन्, ‘बुवालाई दिक्क लाग्यो कि ?’

‘मलाई दिक्क लागेको होइन, तिमीहरू फर्केर घर चाहिं कसरी पुग्छौ भनेर म सोच्दैछु ।’

बुवाको यस्ता रमाइला तर गहिरो अर्थ हुने कुरालाई सुमनले निकै गम्भीर रुपमा लिन्छन् । अहिले सुमन परिवारसँग ललितपुर बस्छन् । बुवा–आमा बानेश्वरको पुरानै घरमा भाइको परिवारसँग बस्छन् । हरेक शनिबार भेट्न जानुअघि फोनमा ‘मलाई के ल्याइदिन्छस् त ?’ भनेर बुवा उनीसँग साउतीमा कुरा गर्छन् ।

बुवाले यस्तो भन्दा सुमन एकाएक पाँच दशकअगाडि नोस्टाल्जियामा पुग्छन् । जतिबेला प्रत्येक शनिबार बुवा आउनुहुन्छ भनेर गोदावरी स्कुलको आँगनमा कुरेर बस्थे उनी । कुनै विशेष कामले बुवा नआउँदा निकै नरमाइलो मान्थे ।

हिजो उनी बुवालाई कुर्थे, आज बुवा उनलाई कुरेर बस्ने अवस्थामा छन् । स्वास्थ्यका कारण पाँच वर्षदेखि घरमै आराम गरेर बसेका बुवालाई भेट्न सुमन गइरहन्छन् ।

यही अवस्थाबीच यो वर्ष उनीहरूको परिवारमा एकपछि अर्को बज्रपात परेको छ । कान्छो भाइ सुवास खरेलको यो वर्ष कोरोनाका कारण निधन भएको छ भने यही साता काका रोशन खरेल (किरणका भाइ)को पनि निधन भएको छ ।

पुत्रशोकले विह्वल भएका आफ्ना पिता र परिवारलाई सम्हाल्ने जिम्मा सुमनको काँधमा छ । बुवाको मुख हेर्ने कुशेऔंशी पर्व उनीहरूका लागि थप पीडादायक बनेको छ यो वर्ष ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?