२१ कात्तिक, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने प्रश्नमा रुमलिन आवश्यक नरहेको बताएका छन् ।
निर्वाचनको तयारीको ६० प्रतिशत काम भइसकेको र विगतमा संविधानको धारा टेकेर प्रतिनिधिसभा विघटन भएको जस्तो गरी यसपटक प्रतिनिधिसभा विघटन नभएको ख्याल गर्न उनको आग्रह छ ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन ।
समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव ? भनेर समाजमा जिज्ञासा रहेको बताएका थिए ।
‘अब प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव ? भन्ने होइन । पुनर्स्थापनाको माग अदालत रहेकाले त्यसमा नजाऔं,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जवाफ दिए, ‘अहिले विषम परिस्थिति हो । निर्वाचन हुन्छ र हुनुपर्छ ।’
दलहरूलाई पनि चुनाव हुन्छ कि हुँदैन भन्ने बहसमा रुमलिन छाडेर चुनाव हुन्छ भन्ने नारा लिएर अगाडि बढन उनको आग्रह छ ।
‘यहाँ चुनाव हुन्छ कि हुदैन भन्ने होइन, चुनाव हुन्छ र हुनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुस् चुनावको थप माहोल आफैं बन्छ,’ भण्डारीले भने ।
उनले आफ्नो बुझाइ पनि दोहोर्याए, ‘निर्वाचन पक्कै हुन्छ । निर्वाचन गर्नुपर्छ । निर्वाचनको विकल्प छैन । यसमा दुविधा राख्न जरुरी छैन ।’
प्रतिक्रिया 4