+
+

संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गर्छौं : विष्णु पौडेल

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ २३ गते १०:०५

२३ भदौ, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् ।

सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे ।

बुधबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भने, ‘बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ ।’

पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको बताएका छन् । ‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो ।’

कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले बताए । ‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’  तर सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने दावी उनले गरे ।

आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गरे । ‘प्रतिपक्षमा हुँदा पनि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर सत्ता पक्षले महागठबन्धन गर्दैछ,’ पौडेलले भने, ‘यसले पनि एमालेको शक्ति कति छ भनेर पुष्टि गर्छ ।’

माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलले टिप्पणी गरे । ‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भने, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।’

माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने र गठबन्धन गरेर लड्न अरुले बैशाखी नदिने हुँदा बितारा पर्ने पौडेलले दावी गरे ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाए । एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेको उनको आरोप छ ।

आफूले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको दाबी गर्दै पौडेलले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउन खोजिएकोप्रति आपत्ति जनाए ।

कार्यदलले बुझाएको १० बुँदे सिफारिस लुम्बिनी प्रदेशका सबै जिल्लामा सिर्जनात्मक ढंगले कार्यान्वयन हुने पौडेलले बताए । उनले अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरे ।

नेकपा हुंदै अध्यक्ष ओलीमाथि लगाइएका १८ बुंदे आरोप नै पार्टी विभाजनको शुरुवात भएको पौडेलले दावी गरे । कार्यक्षेत्र बाहिर गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै उनले सर्वोच्च अदालतको आलोचना गरे ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?