Comments Add Comment

‘मप्रति शेरबहादुर देउवाको शुभेच्छा हुनु स्वाभाविक हो’

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका संस्थापन नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसिरमा हुने १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने होडवाजी चलिरहेका बेला प्रवक्ता शर्मा पनि मैदानमा उत्रिएका छन् ।

प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएका उनले वीपीले ८ वर्ष जेल जीवन विताएको सुन्दरीजलमा रुद्राक्षको विरुवा रोपेर उम्मेदवारी घोषणा गरेका हुन् । भन्छन्, ‘वीपीको विचार र संस्कार अनुसारको कांग्रेस र देश बन्नुपर्छ, त्यो दिशामा अगुवाई गर्न महामन्त्री बन्ने हो भनेर घोषणा गरेको छु ।’

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्मासँग अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानी :

तपाईंको कुन समूहको महामन्त्री उम्मेदवार ?

(हाँस्दै)…म नेपाली कांग्रेसको महामन्त्री ।

निर्वाचन जित्नुभयो भने कांग्रेसको महामन्त्री हुने होला, उम्मेदवार त कुनै समूहबाट हुने होला नि ?

पार्टीभित्र विश्वप्रकाश शर्माको समूहगत निकटता कहाँ छ भनेर सार्वजनिक रुपमा थाहै छ । उम्मेदवारी घोषणा गरेको २४ घण्टा नबित्दै मैले नै सेट बनाउन थाल्नु कत्तिको सान्दर्भिक होला ? अर्काे कुरा म उम्मेदवार बन्छु भन्दै गर्दा यसअघि राखेको शालीनता, धैर्यता, संयमता, परिपक्वता त राख्नैपर्‍यो नि !

दोस्रो कुरा, जहाँसम्म प्यानलको कुरा छ, प्यानल त सभापतिले बनाउने हो नि, महामन्त्रीले होइन ।

संस्थापन समूहमा सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले उम्मेदवारीको तयारी गर्नुभएको छ । गोपालमान श्रेष्ठको दाबी सुनिन्छ । तपाईंले पनि अब फलोनाको प्यानलबाट महामन्त्री बन्छु भन्नु पर्दैन ?

कुनै निधो भएको छैन । मैले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई भेटेर भदौ २४ गतेका दिन उम्मेदवारी घोषणा गर्दैछु भनेर जानकारी गराएको छु । आफ्नो उम्मेदवारीबारे विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालाई पनि जानकारी गराइसकेको छु । अरु नेताहरुलाई पनि जानकारी गराउँछु ।

उहाँहरुले आफ्नो प्यानल बनाउनु भएको छैन भने मैले महामन्त्रीको उम्मेदवार हुँ भन्दै गर्दा फलाना सभापति, फलाना उपसभापति भनेर जाने कुरा हतार हुन्छ । बरु भोलि निर्वाचित भएर गर्नुपर्ने काम, कर्तव्यबारे एउटा खाका त बनाउनुपर्ला ।

तपाईंले महामन्त्री लड्छु भन्दै गर्दा पार्टी सभापतिको प्रतिक्रिया चाहिँ के थियो ?

अहिले उहाँ र अरु कुनै नेताहरुको धारणा सकारात्मक छ कि छैन भनेर सार्वजनिक अनुमान गर्न सकिन्छ । मैले गर्न सक्छ भनेर विश्वास गरेर पार्टी नेतृत्वले प्रवक्ता मनोनीत गर्नुभएको हो । त्यसकारण मप्रति शुभेच्छा हुनु स्वाभाविक हो ।

तर सभापति लगायत नेताहरुसँग भएका कुराकानीको गोपनीयता कायम गर्नुपर्छ । नेताहरुको अप्ठ्यारा बुझ्नुपर्छ । वीपी कोइरालाले स्थापना गरेको, असंख्य शहीदहरुले बलिदान गरेको, लाखौं पार्टी कार्यकर्ता भएको र देश हाँकिरहेको पार्टीको कार्यकर्ताको नाताले त्यो शालीनता र परिपक्वता राख्नुपर्छ ।

महामन्त्रीको उम्मेदवारका रुपमा तपाईंको एजेण्डा के के छ?

सामान्यतयाः देशको शिक्षा, स्वास्थ्थ, अर्थ, उद्योग, जलस्रोतमा के भन्ने आशा र अपेक्षा गर्लान् । तर ड्राइभिङ सिटमा बस्दै गर्दा त्यसको लिमिटेसन के हो ? गन्तव्य कहाँ हो ? भन्ने हुनुपर्छ ।

नेपाली कांग्रसको महामन्त्रीसँग के अपेक्षा गरिएको छ भनेर पार्टीको विधानमा स्पष्ट छ । अहिले हामीले भोगिरहेको जटिलता पनि संगठन व्यवस्थापन नै हो । संगठनको समग्र नेतृत्व पार्टी सभापतिले गर्नुहुन्छ । तर केन्द्रीय पार्टी कार्यालयको नेतृत्व गर्दै देशभर संगठन सुदृढीकरण र व्यवस्थापन गर्ने काम महामन्त्रीको हुन्छ ।

संगठनले गरेका कामलाई प्रचारमार्फत भाइब्रेन्ट पनि गर्नुपर्छ । यसका लागि चाहिने अनुभव र दीक्षा नेपाल विद्यार्थी संघको अध्यक्ष र पार्टीको प्रवक्ताका रुपमा काम गर्दा लिएको छु भन्ने लाग्छ ।

कांग्रेसमा बेलाबेला महामन्त्रीले महामन्त्रीको भूमिका निर्वाह गर्न सकेनन् भन्ने गरेको पनि सुनिन्छ । तपाईं महामन्त्री भए त्यस्तो अवस्था आउन दिन्नँ भन्न सक्नुहुन्छ ?

अहिलेको महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले आफूले भ्याएसम्म काम गर्नुभएकै छ । निर्वाचित महामन्त्रीबाट जुन सक्रियता र भूमिकाको अपेक्षा थियो, त्योभन्दा बढी मनोनीत महामन्त्रीले केन्द्रीय कार्यालयको काम गर्नुभयो होला । तर महामन्त्री कोइराला बढी फिल्डमा खटिनुभयो होला ।

फुटबलको मैदानमा जतिसुकै राम्रो खेलिरहेको भएपनि कोचले खेलाडी परिवर्तन गर्छन्, त्यसरी नै राजनीतिमा हामी नयाँ खेलाडीका रुपमा मैदान आउन लागेका हौं । त्यसको मतलव पुरानाले खराब खेल्यो भन्ने होइन । मैले आफूभन्दा अग्रज महामन्त्रीहरुको राम्रो पक्ष र कमजोरीबाट सिक्ने हो र उहाँहरुले गरेको राम्रा कामहरुमा अर्को एउटा इँटा थप्ने मेरो प्राथमिकतामा हुन्छ ।

पार्टीलाई यहाँसम्म पुर्‍याउन महामन्त्रीका रुपमा दुबै जनाको भूमिका महत्वपूर्ण रह्यो । फिल्डमा महामन्त्री हुँदै गर्दा अफिसमा पनि महामन्त्रीको अभाव हुनुभएन ।

अफिसमा महामन्त्री हुँदै गर्दा फिल्डमा पनि महामन्त्री छुट्नुभएन । प्रचार र व्यवस्थापन संगठनका दुई अवयव हुन् । दुई कामलाई मैले अनुभव गरेको छु । व्यवस्थापनका रुपमा २०५७ सालदेखि २०५९ सम्म नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष भएर दुई वर्ष नेतृत्व सञ्चालन गरे । प्रचारका रुपमा पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुखको जिम्मेवारीमा काम गरिरहेको छु ।

गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ, डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाँड, प्रकाशरण महत, प्रदीप पौडेलहरु उम्मेदवारी घोषणा गर्ने तयारीमा हुनुहुन्छ, महामन्त्रीको प्रतिस्पर्धा कस्तो हुन्छ जस्तो लाग्छ ?

म महामन्त्रीको उम्मेदवारी दिने कसैलाई पनि कमजोर भनेर आफूलाई अब्बलका रुपमा प्रचार गर्न चाहन्न । सबै एकसेएक साथीहरु हुनुहुन्छ । म विद्यार्थी राजनीतिका रुपमा कलेज सभापति हुँदै गर्दा नेविसंघको राष्ट्रिय सभापति भएका आदरणीय दाइहरु प्रतिस्पर्धामा हुनुहुन्छ । म नेविसंघको केन्द्रीय सभापति हुँदा मैले राजनीतिमा अगाडि बढाएका भाइसाथी पनि हुनुहुन्छ ।

म त बीचमा रहेछु ! त्यसकारण मभन्दा सिनियरलाई पनि उत्तिकै आदर गर्ने र म पछिका साथीहरुको जाँगर र उत्साहलाई पनि उत्तिकै प्रोत्साहन गर्नुपर्नेछ ।

अर्काे साथी महामन्त्री बन्दै गर्दा मैले सोचेका योजनाहरु बोक्न सकोस्, म बन्दै गर्दा अर्का साथीहरुको योजना बोक्न सक्नुपर्छ । यो हार्दिकता र यो संस्कृति जरुरी छ ।

कांग्रेसमा बेलाबेला पुस्तान्तरणको मुद्दा उठ्छ । गगन, विश्वप्रकाशहरुले अमुक नेताको छहारी खोज्ने होइन, सभापतिमा उठ्ने हिम्मत गर्नुपर्छ आवाज पनि सुनिन्छ नि ?

महामन्त्रीका रुपमा जति पनि नामहरु आइरहेका छन्, उनीहरुमध्ये विश्वप्रकाश मात्रै एउटा व्यक्ति हो, जो पहिलो पटक केन्द्रीय समितिमा आएर एकैपटक महामन्त्री प्रतिस्पर्धा गर्न लागेको हो । अरु दाइ साथीहरु भन्नुस, या भाइसाथीहरु भन्नुस्, दुईपटक–तीनपटक केन्द्रीय सदस्य भइसक्नुभएको हो । एकपटक केन्द्रीय सदस्य भएको व्यक्तिले महामन्त्रीमा आकांक्षा राख्दै गर्दा म गर्न सक्छु भन्ने क्षमताको पनि सीमा होला जस्तो लाग्छ ।

जहाँसम्म उमेर समूहको कुरा छ, त्यसमा मेरो फरक धारणा छ । विस्तृतमा कुनै बेला भनौंला । संक्षेपमा भन्दा १÷२÷३÷४ को व्यवस्था गर्नासाथ सबै समस्या हल हुनेछ । राज्यसत्ताको सवालमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्न पाउने व्यवस्था गर्नासाथ धेरै मान्छे ६५ वर्षमै घर जान्छ ।

दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने पार्टी विधानमा व्यवस्था गरेको भए सभापति शेरबहादुर देउवा अहिले अर्कै भूमिकामा हुनुहुन्थ्यो होला । पार्टीको पदाधिकारीको सन्दर्भमा पनि मेरो स्पष्ट धारणा छ । पदाधिकारीमा एक व्यक्तिले एउटा पदमा एक पटक मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्छ । उमेरले रिटायर्ड हुने भन्दा पनि यति जिम्मेवारी, यति समय निर्वाह गर्नुपर्छ भन्नुपर्छ । यसले नेताहरुको आफैं व्यवस्थापन हुन्छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment