
आफ्ना समर्थक लगाएर संसद भवनमा वितण्डा मच्चाएको आरोपमा प्रमुख सोसल मिडिया प्लाटर्फमबाट प्रतिबन्धमा परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले पनि सन् २०२३ को जनवरीसम्म प्रतिबन्ध लगाएको छ । ट्वीटरले भने उनीमाथि स्थायी प्रतिबन्ध नै लगाएको छ ।
तर आफूमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाप्रति ट्रम्प निकै असहिष्णु र कडा रुपमा प्रस्तुत हुने गरेका छन् । हालै एक अन्तरवार्तााक क्रममा उनले फेसबुक सीईओ मार्क जुकरबर्गप्रति निकै आपत्तिजनक तथा भद्दा टिप्पणी गरेका छन् ।
फक्स न्यूजका ग्रेग गटफेल्डले ट्रम्पसँग लिएको अन्तरवार्ता गत बिहीबार प्रशारण भएको थियो । उक्त अन्तरवार्ताका क्रममा ट्रम्पले जुकरबर्ग तथा प्रविधि कम्पनीका अन्य हाकिमहरु पागल भएको बताए ।
साथै उनले आफू राष्ट्रपति हुँदाका बखत मार्क जुकरबर्ग डिनर खानका लागि ह्वाइट हाउस आउने र आफ्नो फाइदाका लागि निकै चाकडी गर्ने गरेको बताए । ट्रम्पले जुकरबर्गको चाकडीका बारेमा वर्णन गर्दै लाक्षणिक रुपमा भनेका छन् – उनले मेरो नितम्बमा चुम्बन गर्थे ।
उनले भनेका छन् – उनी मेरो नितम्बमा चुम्बन (चाकडी गर्न) गर्न ह्वाइट हाउस आउने गर्दथे । ठीक छ, फेसबुक प्रमुख आफ्नी प्रिय पत्नीसँग म कहाँ आएका हुन्थे त्यतिबेला । उनीहरु आउँथे । ह्वाइटहाउसमा म सँग डिनर गर्दथे । तर अहिले देख्नुभयो नि उनीहरुले म र रिपब्लिकनहरुमाथि के-के गरे । यो वास्तवमै एउटा पागलपन हो । तर संसार यसरी नै चल्दैछ ।
सन् २०१९ मा ट्रम्पले गोप्य रुपमा जुकरबर्ग र फेसबुकका बोर्ड सदस्य पिटर थाइलसँग भेट गरेको सार्वजनिक भएको थियो । थाइल रिपब्लिकन पार्टीका मुख्य दाता हुन् । केही महीना अगाडिको एक अन्तरवार्तामा ट्रम्पले यदि जुकरबर्गले आफूसँग भेट नगरेको भए आफूले त्यतिबेला फेसबुकलाई अमेरिकामा प्रतिबन्धित गरिदिन लागेको दाबी गरेका थिए ।
त्यस समयमा जुकरबर्गले आफूसँग सम्पर्क गरिरहने गरेको र डिनरका लागि ह्वाइट हाउसमा आएर तपाईं महान हुनुहुन्छ भनेर आफूलाई भन्ने गरेको ट्रम्पले बताएका छन् ।
ट्रम्पले ट्वीटरको सफलताका लागि आफ्नो हात रहेको अर्को अनौठो दाबी पनि गरेका छन् । पहिले असफल रहेको ट्वीटर आफूले खाता खोलेर सक्रिय भएसँगै सफल बन्दै गएको उनको दाबी छ । तर अहिले आफू त्यसमा नहुँदा ट्वीटर पुनः दिक्क लाग्दो प्लाटर्फम बन्दै गएको उनको जिकिर छ ।
एजेन्सी
प्रतिक्रिया 4