+
+

एमाले सहमतिमा नआए पनि बजेट पास हुन्छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते २१:२४
सोमबार सर्वदलीय बैठकमा जाँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताएका छन् ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन सक्ने बताए ।

‘सहमतिमा नआएको अवस्थामा बजेट पास गर्न द्वन्द्वको विकल्पमा जानुपर्ने हुन्छ । त्यसकारण वार्ता, छलफल र सहमतिको लागि गठबन्धन तयार छ । उहाँहरु (एमाले) सहमति र सम्वादमा आउन जरुरी छ’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले अहिले सरकारलाई परेको समस्या प्रमुख प्रतिपक्षीलाई पनि भविष्यमा आउन सक्ने उल्लेख गर्दै एमालेले सोच्नुपर्ने बताए । सरकारलाई भदौ ३० गतेभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने बाध्यता छ ।

बैठकमा कांग्रेस नेता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न सहमतिको प्रयास जारी राखिएको बताए ।

कार्कीले सदनबाट बजेट पास गर्नुपर्ने, नियम निलम्बन गरी अघि बढ्न प्रमुख प्रतिपक्षको सहमति चाहिने र उत्पन्न गतिरोध हल गर्न आफूले अनौपचारिक र औपचारिक पहल गरेको उल्लेख गरे ।

आफूले संसदको गतिरोध अन्त्य उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग उनकै निवासमा पुगेर छलफल गरेको पनि मन्त्री कार्कीले बताए ।

एमालेले लगातार संसदमा नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उक्त बैठकमा गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?