+
+

अमेरिकामाथि नेपालको शानदार जित

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २९ गते ६:२४

२९ भदौ, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।  ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । उनले ४२ बल खेल्दै २ चौका प्रहार गरे । आसिफलाई नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराए ।  त्यसपछि कुशल र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स अघि बढाए । तर स्कोर ९३ हुँदा ज्ञानेन्द्रले व्यक्तिगत १७ रन बनाएर आउट भए । १५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई निसर्ग पटेलले एलबीडब्लु धरापमा पारे ।

एक छेउबाट इनिङ्स सम्हालिरहेका कुशलले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे ।  तर ३३औं ओभरको पहिलो बलमा कुशल निसर्ग पटेलको बलमा एलबीडब्लु भएपछि यो साझेदारी टुट्यो । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ८४ रन जोडे ।

त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न क्रिज पुगेका कुशल मल्ल १ रन मात्र बनाएर आउट भए । मल्ल  ३४औं ओभरमा कप्तान सौरभ नेत्रभाल्करको बलमा मोनाक पटेलबाट क्याचआउट भए । कुशल मल्ल आउट हुँदा नेपालको स्कोर १४५-४ थियो ।

त्यसपछि रोहितले विकेटकिपर विनो भण्डारीसँग मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरे । नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा विनोद भण्डारी ३७ रन बनाएर ४९औं ओभरको दोस्रो बलमा आउट भए । भण्डारीले ४८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

४९औं ओभरको अन्तिम बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका रोहितले ८७ बल खेल्दै २ चौका र ३ छक्का मद्ददतमा अविजित ६२ रन बनाए । करण केसी १ रनमा अविजित रहे ।

अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।

ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे । तेस्रो विकेटका लागि मोनाक र निसर्गले ४९ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर सुशान्त मोदानी र करिमा गोरेले १६-१६ रन जोड्दा अर्का ओपनर स्टेभेन टेलरले १४ रन जोडे । नास्थुस केन्जिगे र सन्जय कृष्णमुर्तीले समान १३ रन बनाए । जसकरण मल्होत्राले ११ रन जोडे । अमेरिकाका अभिषेक पाराडकार १३ र कप्तान सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे । एलमोर अचिनसनले खाता खोल्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी,  विक्रम सोबले  २-२ विकेट लिए । यस्तै  कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

सुशन भारीले १० ओभरमा ३१ रन मात्र खर्चेका थिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चिए । कुशल मल्लले पनि पूरै स्पेल बलिङ गर्दा १० ओभरमा ४५ रन खर्चिए ।

अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ ।

नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?