+
+

शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १०:२७

२९ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दा ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कुशल र रोहित पौडेलको अर्धशतक सहयोगमा नेपालले अमेरिकाले दिएको २३१ रनको लक्ष्य एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

ओडीआई करियरमा पहिलो अर्धशतक बनाएका कुशल शतकको नजिक पुगे पनि खेल बिचमै आउट भए । नेपालको जितमा कुशलले महत्वपूर्ण योगदान गरे । उनले आसिफ शेखसंग ओपनिङ गर्दै कीर्तिमानी साझेदारीसमेत गरे ।

कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ओपनिङ गर्दै ६१ रनको साझेदारी गरेका थिए ।
आफ्नो र नेपालको प्रदर्शनबाट सन्तुष्ट रहेका कुशल शतक बनाउनबाट चुक्दा भने केही निराश थिए । खेलको म्यान अफ दि म्याचसमेत बनेका कुशलले जितपछि आफ्नो प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

‘ओभरअल हेर्ने भने पहिलो पारीमा बलरहरुले राम्रो गर्नुभयो। फिल्डिङ साइड पनि राम्रै भयो । हामीलाई २३० रन बनाउन यो ग्राउण्डमा सजिलै थियो । ब्याटिङमा सजिलै भयो । सुरुमा राम्रो सुरुवात भयो’ कुशलले भने, ‘व्यक्तिगत प्रदर्शनबाट खुशी छु । सिरिजको पहिलो खेल हो सकरात्मक सुरुआत भाछ । खुशी नै लाग्छ ।’

खेल फिनिस गर्न नपाइ आउट भएकोमा भने कुशल केही निराश रहे । ‘आउट हुँदा सन्तुष्ट छैन । नटआउट भएर जिताको भएर सन्तुष्ट हुन्थेँ । म आउट भएर टिममा अलिकति प्रेसर भयो । तर रोहितले राम्रो गर्‍यो’ कुशलले भने, ‘सेन्चुरी मिसभन्दा पनि टिमले जितेकोमा राम्रो लागेको छ ।’

उनले आफू बिचमा खेल छाडेर निस्कनुपर्दा निराश भएको बताए । ‘आउट नै भए पनि म आफैलाई देखेर निराश थिएँ । यति खेलेर सकाएको भए राम्रो देखिन्थ्यो । बिचमा छाडेर आउनुपर्दा नराम्रो लाग्यो,’ उनले भने ।

कुशलले यसअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा भन्दा अमेरिकाविरुद्धको खेल फरक योजनाका साथ खेलेको बताए । ‘पीएनजीसँग खेल्दा म आँफैले सोचिरहेको थिएँ, म आँफैले एनालाइज गरिराथेँ । म कसरी टी-२० खेल्दछु कसरी वानडे खेल्छु भनेर’ भुर्तेलले भने, ‘युएसएसँगको खेलमा चाहिं म छुट्टै योजनामा आएको थिएँ। अगाडि थोरै एग्रेसिभ खेल्छु र पछाडि स्लो खेल्छु भनेर । त्यो चाहिं फाइदा भयो मलाई पनि टिमलाई पनि । म छुट्टै प्लानमा आएको थिएँ । पिएनजी भन्दा युएसए राम्रो थियो । त्यसैले छुट्टै रणनीतिमा खेलेँ ।’

ओपनिङमा कीर्तिमानी साझेदारी गरेका भुर्तेलले राम्रो सुरुआत दिने योजना अनुसार नै खेलेको बताए । ‘हतार थिएन । आशिफ र मेरो योजना राम्रो सुरुआत दिने भन्ने योजना थियो। सुरुको ५-६ ओभर कन्ट्रोल गरे राम्रो हुन्छ भन्ने थियो । त्यही अनुसारले खेलेपछि राम्रो पनि भयो,’ उनले भने ।

कुशल र आसिफले ६६ रनको साझेदारी गर्दै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि बनाएको ६१ रनको साझेदारीको कीर्तिमान तोडे । ओडीआईमा नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमान भने कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलको नाममा छ । उनीहरुले सिरिजअघि पीएनजीविरुद्धको खेलमा तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेलले सिरिजमा राम्रो सुरुआत भएकोले अब ओमानविरुद्ध पनि राम्रो खेल्ने योजना रहेको बताए । ‘टिमलाई सबैले राम्रो गरेको छ । राम्रो सुरुआत भएको छ । ब्याटिङ, बलिङ, फिल्डिङ सबैमा राम्रो भएको छ । ओमनसँग पनि राम्रो गर्ने योजना छ,’ उनले थतपे ।

नेपालले सिरिजको दोस्रो खेलमा आजै घरेलु टोली ओमानसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?