+
+

‘सहकारीमा पैसा राख्न सोच्नै पर्ने रहेछ’

कृष्णप्रसाद न्यौपाने, व्यापारी कृष्णप्रसाद न्यौपाने, व्यापारी
२०७८ भदौ २९ गते १०:५०

“१४ वर्षदेखि काठमाडौंमा व्यवसाय गरिरहेको छु । गोंगबुमा स्टेशनरी पसल छ । २०६४ सालदेखि व्यवसाय गर्दा मैले सहकारी संस्थाहरूले कसरी बद्मासी गर्छन् भन्ने राम्रो जानकारी पाएको छु ।

गोंगबुको हलमार्ग बचत तथा ऋण सहकारी संस्थाले धेरैलाई समस्यामा पार्‍यो । मेरो आफ्नै रकम पनि निकाल्न निकै समस्या भयो । मेरो त ठूलो रकम होइन तर साथीभाइ धेरै जनाको करोडौं रुपैयाँ यो सहकारीले फिर्ता दिएको छैन ।

सहकारीले जनताको सम्पत्ति लिने र जग्गामा वा अन्यत्र मनपरी लगानी गर्ने गरेर समस्यामा पर्ने रहेछन् । हलमार्क एउटा उदाहरण मात्रै हो, अहिले सहकारीले धेरैलाई दुःख दिइरहेका छन् ।

मेरो पसलमा पनि ५/६ वर्ष पहिले सहकारी संस्थाका प्रतिनिधि आएर खाता खोल्न आग्रह गरे । ती कर्मचारीले बचत गर्नुभयो भने राम्रो ब्याज दिने, समयमा पैसा दिने मात्रै होइन चाहिएको बेला सहज तरिकाले ऋण पनि दिने भनेर मीठो कुरा गरे ।

अझ, उनले त तपाईंले खाता खोलिदिंदा मेरो जागिर बच्छ पनि भने । विचरा उनीहरूको जागिरको कुरा पनि छ आफूले पनि विना धितो सहज तरिकाले चाहिएका बेला ऋण पाइन्छ भने ठीकै छ नि त भनेर खाता खोल्न मन लाग्यो ।

यसरी म सहकारी संस्थामा खाता खोल्न पुगें । सहकारीका प्रतिनिधि निक्षेप लिन सधैं पसलमै आउने । आफ्नो क्षमता अनुसार थोरबहुत रकम जम्मा गर्दै गएँ । लकडाउनले मलाई समस्यामा पार्‍यो । दुःखले दिन कटाएँ ।

लकडाउन खुलेपछि मैले गोंगबु गणेशस्थान भन्दा केही पर पसल सारें । अब व्यापार बढाउन थप रकम लगानी गर्नुपर्छ भन्ने लाग्यो । अनि सहकारी संस्थाका कर्मचारीलाई गएर भेट्छु र आफूलाई चाहिएको रकम बारे जानकारी गराउँछु भन्ने सोचेर म संस्थाको कार्यालयमा गएँ ।

जब म संस्थाको कार्यालयमा पुगें, त्यहाँ त मैले सोचेको भन्दा अर्कै अवस्था थियो । मेरो थोरै रकम मात्रै बचत रहेकाले म बचत फिर्ता होइन बरु ऋण लिन्छु भनेर गएको थिएँ । तर त्यहाँ त निक्षेप फिर्ता लिनेहरूको लाइन नै लागेको थियो । बुझ्दै जाँदा थाहा भयो संस्था त निकै समस्यामा परिसकेको रहेछ ।

सर्वसाधारणले आफूले राखेको निक्षेप समेत नपाउने अवस्था सिर्जना भएको देखेर म अचम्ममा परें । पैसा फिर्ता माग्न त्यहाँ पुगेकाहरूसँग कुरा भयो । वडा कार्यालयमा गएर पैसा फिर्ताका लागि उजुरी हाल्ने कुरा भयो । किनकि हामी लाइन लागेर मात्रै सहकारीले पैसा दिन सक्ने अवस्था थिएन ।

वडा कार्यालयमा गएपछि थाहा भयो कि सहकारीले जग्गामा लगानी गरेको रहेछ । त्यो जग्गा पनि मुद्दा परेर बिक्री गरिहाल्न मिल्ने अवस्थामा रहेनछ । अब हामीले के गरी न्याय पाउने भनेर सल्लाह गर्‍यौं । त्यहाँ सहकारी संस्थाहरूको संघमा गएर उजुरी हाल्नु वा बिजुलीबजारमा काठमाडौं महानगरपालिकाको सहकारी विभाग छ त्यहाँ गएर उजुरी हाल्नु भन्ने सुझाव आयो ।

हामीले नेफ्स्कुन भन्ने संघमा गएर बुझ्यौं । त्यो सहकारी त्यहाँ आवद्ध नै रहेनछ । अनि कहाँ जाने भन्दा बिजुलीबजारको सहकारी विभागमा जाने सल्लाह भयो । अर्को साथीको ६ लाख रुपैयाँ भन्दा धेरै रकम लिन बाँकी थियो । उहाँसँग म सहकारी विभागसम्म पुगें । हामीले त्यहाँ गएर उजुरी गर्‍यौं ।

सहकारी विभागले पनि पैसा असुल उपर गर्न प्रहरीसम्म पुग्नुपर्ने सुझाव दियो । विभागकै सल्लाह अनुसार हामी महानगरीय प्रहरी प्रभाग टेकू गयौं । विभागले प्रहरीलाई चिठी समेत लेखेको थियो । कसैको ६/७ त कोहीको १२/१३ लाख रुपैयाँ डुबेको थियो । सबैको गर्दा ३/४ करोड रुपैयाँ भन्दा बढी नै सहकारीले दिनुपर्ने थियो ।

६ लाख रुपैयाँ पैसा फिर्ता नपाउने साथी र म टेकू पुगेर जाहेरी दियौं । प्रहरीले कारबाही अघि बढ्छ भनेको थियो । त्यसअघि हामीले एउटा टेलिभिजनमा गएर सहकारीको बद्मासी बारे प्रसारण गरिदिनुपर्‍यो भनेर आग्रह पनि गर्‍यौं । हामीले उजुरी दिएपछि प्रहरीले सहकारीका मुख्य मान्छेहरूलाई पक्राउ गरेको छ भन्ने सुनेका छौं तर हामीलाई केही खबर आएको छैन ।

सहकारीले कर्मचारी नियुक्त गर्दा ‘यति जना सदस्य बनाइस् भने जागिर पक्का’ भन्ने रहेछन् । अनि कर्मचारीले चाहिने नचाहिने कुरा गरेर पैसा जम्मा गर्ने गर्दा रहेछन् । त्यसैले विश्वास नभई सहकारीमा खाता खोलिहाल्दा समस्या हुने रहेछ

सहकारीको सामन्ती व्यवहार

पहिले गाउँमा शोषक सामन्तहरू हुन्छन् भन्थे । साहु-महाजनहरूबाट गरीब किसानले महँगो ब्याजदरमा रकम लिनुपर्ने बाध्यता हुन्थ्यो रे ! अहिले गाउँका शोषक भन्दा डरलाग्दा भएका छन् सहकारी संस्थाहरू । हिजोका सामन्तको व्यवहार आज सहकारी संस्थाले गर्छन् । ब्याजदर एकदमै चर्को ।

सरकारले १६ प्रतिशत भन्दा बढी ब्याजदर नलिनु भने पनि टेर्दैनन् । भन्नलाई १६ प्रतिशत भने पनि सबै जोडेर ३६ प्रतिशतसम्म पुर्‍याउँछन् । सेवा शुल्क, फिल्ड शुल्क विभिन्न शीर्षकमा शुल्क लिन्छन् । ऋणको ६ महीना अवधि हुन्छ । ६ महीनापछि नवीकरण गर भनेर महँगो शुल्क लिने रहेछन् ।

बैंकहरूले सस्तो ब्याजदरमा रकम दिन्छन् । यसरी डुब्ने समस्या पनि हुँदैन । बैंकले सस्तोमा दिन्छ भनेर के गर्नु बैंकसम्म सामान्य नागरिकको पहुँच नै पुग्दैन । पुगिहाले पनि विभिन्न प्रक्रियागत झन्झटका कारण डराउनुपर्ने अवस्था हुन्छ । त्यही भएर सहकारीमा जानुपर्ने हुन्छ ।

तर सहकारी संस्थाहरू घरघरमै पुग्छन् । सहज तरिकाले ऋण दिने बताउँछन् । धितो पनि राख्नु नपर्ने भन्छन् । मान्छेलाई अभावमा रकम चाहिएको हुन्छ । सहज तरिकाले दिने भएका कारण सहकारीमा नै जान हामी बाध्य हुन्छौं ।

पैसा राख्दा सोच्नै पर्ने रहेछ

सहकारी संस्थाहरूलाई सरकारले राम्रो निगरानी नगरेका कारण यस्ता ठगीका घटनाहरू बढेको मेरो बुझाइ छ । यहाँ सरकारले सहकारीमा नियमन गर्दैन भन्ने परेको छ । सरकारले मतलब नगरेकै कारण यस्तो भएको हो ।

बैंकमा पहुँच नपुग्ने तर व्यवसाय गर्न चाहनेले ऋण लिने ठाउँ कहाँ हो ? ऋण पाइन्छ भनेर सहकारीमा बचत गर्‍यो भने त्यो आफ्नै सम्पत्ति नै गुम्ने रहेछ । सरकारले विभिन्न सुविधा दिन्छु भनेको छ । स्वरोजगार बन्न चाहनेहरूका लागि निकै राम्रा नीतिहरू बनेको पनि सुनिन्छ । तर कहाँबाट रकम पाइन्छ ? कसरी पाइन्छ भन्ने कुरा सामान्य नागरिकलाई थाहा हुँदैन ।

बजारमा सबै सहकारी संस्थाहरू नराम्रा छन् भन्ने होइन । केही राम्रा पनि होलान् । तर कतिपयले विभिन्न प्रलोभनमा पारेर खाता खोल्ने, बचत उठाउने र भाग्ने गरेको देखिन्छ ।

शुरुमा खाता खोलेर पैसा राख्ने बेलामा नै सोच्नुपर्ने रहेछ । म चाहिं सहकारीमा खाता खोल्दा धेरै नै विचार गर्नुपर्छ भन्नेमा पुगेको छु । कतिसम्म भने सहकारीले कर्मचारी नियुक्त गर्दा ‘यति जना सदस्य बनाइस् भने जागिर पक्का’ भन्ने रहेछन् । अनि कर्मचारीले चाहिने नचाहिने कुरा गरेर पैसा जम्मा गर्ने गर्दा रहेछन् । त्यसैले विश्वास नभई सहकारीमा खाता खोलिहाल्दा समस्या हुने रहेछ ।

सरकारले विना धितो ऋण उपलब्ध गराउने भनेर बजेटमा लेखेर मात्रै हुँदैन । बैंकले सहज तरिकाले ऋण उपलब्ध गराउने हो भने यो समस्या टर्छ । बैंकले सहज तरिकाले सुविधा दिने, सर्वसाधारणसम्म बैंक पुग्ने र सहकारी संस्थाहरूलाई पनि बैंकलाई जस्तै राज्यले नियमन गर्ने हो भने यस्ता समस्या शायद कम हुन्थे कि ?”

(गोंगबुमा स्टेशनरी व्यवसाय गर्दै आएका न्यौपानेसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?