+
+

नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री

वडाध्यक्षसहित ७ जनाविरुद्ध जाहेरी, दुई जना पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ २९ गते १७:००
नक्कली जग्गाधनी खडा गरेर बिक्री गरिएको आफ्नो जग्गा देखाउँदै गरिब कोहार ।

२९ भदौ, बुटवल । रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरेर १० कठ्ठा जग्गा बिक्री गरेको पाइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको जग्गा नक्कली जग्गाधनी खडा गरी दुई पटकसम्म बिक्री गरेको पाइएको हो ।

आफ्नो जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको थाहा पाएपछि पीडित गरिब कोहारले वडाध्यक्ष रामजान अलि मियाँसहित ७ जनाविरुद्ध कीर्ते मुद्दामा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको गरिब कोहारको नागरिकताको प्रथम प्रतिलिपीमा अर्कै फोटो टाँसेर नक्कली गरिब कोहार खडा गरिएको छ । ती व्यक्ति को हुन् भन्ने खुलेको छैन । गरिब कोहारको नाममा वडा अध्यक्षले आफ्ना ससुराको नक्कली नागरिकता बनाएर जग्गा बिक्री गरेको पीडितको आरोप छ ।

६९ वर्षका कोहारको नाममा रहेको कित्ता नम्बर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा थियो । तर उक्त जग्गा २०७७ फागुन १८ गते नक्कली गरिब कोहार खडा गरी पाल्पा मदनपोखराका सन्दीप कार्कीलाई १९ लाख ६७ हजार रुपैयाँमा बिक्री गरेको मालपोत कार्यालयको श्रेष्तामा देखिएको छ । उक्त जग्गा २०७८ वैशाख १२ गते पुनः कपिलवस्तुका गोविन्दप्रसाद मल्लाहलाई १ करोड ९५ लाख रुपैयाँमा बिक्री गरिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० को वडा कार्यालयले २०७७ माघ २५ गते जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी दिनू भनी मालपोत कार्यालय सिद्धार्थनगर रुपन्देहीलाई सिफारिस गरेको थियो । त्यस्तै २०७७ फागुन १८ गते वडा कार्यालयले जग्गाको चार किल्ला र नागरिकता प्रतिलिपी सिफारिस दिएको थियो ।

आफू चार किल्ला सिफारिसका लागि वडा कार्यालयमा जाँदा वडाध्यक्षले नचिनेको भन्दै सिफारिस दिन अस्वीकार गरेको पीडित गरिब कोहारले बताए । ‘मैले चार किल्ला सिफारिस माग्दा दिएनन्’ उनले भने, ‘पछि बैंकका मान्छे खेत नापजाँच गर्न आएपछि मात्र आफ्नो जग्गा विक्रि भइसकेको थाहा पाएँ ।’

पीडित कोहारले आफू ससुराली (भारत) गएको मौका छोपेर वडा अध्यक्षले फर्जी सर्जमिन गरेर आफ्नो जग्गा अर्कैको नाममा बिक्री गरेको बताए । ‘म ससुराली बसेको मौका पारेर वडा अध्यक्षले मेरा जग्गा अर्कैलाई बेचिदिएछन्’ कोहारले भने, ‘म माथि ठूलो अन्याय भयो, मलाई न्याय चाहियो ।’

उनले भदौ २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा वडाध्यक्ष मियासँगै मालपोत कार्यालयका कर्मचारी दण्डपाणि न्यौपाने, जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाह, सन्दीप कार्की, भागवतप्रसाद उपाध्याय, सुरज आचार्य, र राजन तिवारीविरुद्ध कीर्ते मुद्दामा किटानी जाहेरी दिएका छन् ।

मालपोतको मिलेमतो आशंका

जग्गा बिक्री गर्ने क्रममा जग्गाधनी श्रेस्ताको मोठ र जग्गाधनी पूर्जामा फरक व्यक्तिको फोटो टाँसिएको छ । श्रेस्ता हेर्दा फोटो फेरेर अर्को व्यक्तिको टाँसेको, नक्कली हस्ताक्षर गरेको र औंठा छाप लगाउँदा तीन चारपटक लगाएर नबुझिने बनाएको देखिएको भन्दै कोहारले मालपोतका कर्मचारीको मिलेमतोको आशंका गरेका छन् ।

मालपोत कार्यालय, रूपन्देहीका प्रमुख केशवराज सुवेदीले भने वडा कार्यालयको सिफारिस अनुसार नै काम भएको दावी गरे । ‘प्रतिलिपी निकालिएको नागरिकतामा कुनै गल्ती नदेखिएकोले जग्गा नामसारी भएको हो’ सुवेदीले भने, ‘अहिले अर्कै तथ्य बाहिर आएपछि हामी पनि आश्चर्यमा परेका छौं,अ ब सक्कली जग्गा धनीलाई जग्गा दिलाउने प्रक्रिया अगाडि बढाउछौं ।’

प्रतिलिपी नागरिकता नक्कली हो : प्रजिअ तामाङ

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गरिब कोहारको नाममा जारी भएको प्रतिलिपी नागरिकता नक्कली भएको बताए । ‘त्यो प्रतिलिपी पुरै नक्कली हो, हाम्रो सफ्टवेयरबाट बनेको होइन’ तामाङले भने, ‘होलोग्राम र नागरिकताको फारम कीर्ते गरेको देखिएको छ ।’

नक्कली जग्गाधनी खडा गरेर जग्गा बिक्री गरेको खुलेपछि वडा अध्यक्ष अली फरार छन् । कीर्ते काममा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रजिअ तामाङले बताए ।

मालपोतमा सम्बन्धित लेखापढी व्यवसायी र जग्गा किनेका व्यक्तिलाई पनि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको तामाङले बताए ।

प्रहरीले लेखापढी व्यवसायी भागवतप्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । उपाध्याय लेखापढी व्यवसायी भैरहवा इकाइ समितिका अध्यक्ष समेत हुन् ।

यो घटना वडाध्यक्षको संलग्नताविना सम्भव नहुने स्थानीय घनश्याम गुप्ता बताउँछन् । ‘यसमा सबै बदमासी वडा अध्यक्षको हो’ गुप्ता भन्छन्, ‘यो घटनाले सोझासिधा जनताको सम्पत्तिको सुरक्षा कसरी हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।’

अनुसन्धानका लागि मालपोतले प्रहरी कार्यालयलाई लेखेको पत्र
लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?