+
+

गण्डकीमा फेरि देखियो सेतो पुतलीका कारण आँखामा समस्या

१६ दिनमै ३० जनामा अस्पताल पुगे

विकास रोका मगर विकास रोका मगर
२०७८ भदौ २९ गते १९:२५

२९ भदौ, पोखरा । यसवर्ष पनि गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर अस्पताल आउने बिरामी बढेका छन् । सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भनिने यो समस्या गण्डकी प्रदेशमा यो वर्ष भदौ १३ गतेपछि फेरि देखिएको छ ।

म्याग्दी बेनीका १८ वर्षीय युवक आँखामा समस्या देखिएपछि उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा आएका थिए । तर, अस्पताल आउन ढिलो हुँदा उनले ज्योति गुमाएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. इल्या श्रेष्ठले जानकारी दिइन् ।

‘आँखामा सेतो पुतलीको झुस परेको ४ दिनपछिमात्रै हाम्रो सम्पर्कमा आउनुभयो । एकदमै धेरै दुखाइ भएपछि आउनुभएको रहेछ,’ डा श्रेष्ठले भनिन्, ‘आँखामा पिप जमेर पनि सुक्न सुरु भइसकेकाले ‘इम्प्रुभ’ हुन सकेन ।’

त्यसयताका करिब १५ दिनको अवधिमा ३० जना यो समस्या लिएर हिमालय आँखा अस्पताल पुगेका छन् । जसमध्ये चार जनाले आँखाको ज्योति गुमाएका छन् । अरु बिरामी पनि अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् ।

सोमबारमात्रै अस्पतालमा पोखराका ३ र बागलुङ, ढोरपाटनका एकजना शापुकै उपचारका लागि अस्पताल आएका छन् ।

विशेषगरी मनसुन अन्तिमतिर देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने डा. श्रेष्ठको भनाइ छ ।

‘सुरुमा कुनै दुखाइ हुँदैन । आँखा रातोमात्रै हुन्छ । तर, विस्तारै आँखामा पिप जम्न थाल्छ । पिप सुक्दै जाँदा विस्तारै दृष्टि पनि हराउँदै जान्छ,’ उनले भनिन्, ‘यस्तोबेला तत्काल अस्पताल नआए जीवनभरकै लागि आँखाको ज्योति नै गुम्न सक्छ । त्यसको उपचार कहीं हुँदैन ।’

२०३२ सालमा पहिलो पटक पोखरा क्षेत्रमै देखापरेको सापुले बालबालिकालाई बढी प्रभावित पारेको छ । तर, यस वर्ष भने ६५ वर्षीय एक व्यक्तिमा पनि सेतो पुतलीको असर देखिएको डा. श्रेष्ठले जानकारी दिइन् ।

‘यसको सबैभन्दा बढी जोखिममा बालबालिका छन् । उनीहरु आफूमा भएको समस्या पनि बताउन सक्दैनन् । टेस्ट गर्न पनि एकदमै गाह्रो हुन्छ,’ उनले भनिन् ।

यसअघि पोखरा क्षेत्रमा सन् २०१८ र २०१९ मा सापु देखिएको थियो । भदौदेखि मंसिर महिनासम्म देखा पर्ने सापु सन् ०१९ मा १६ जनामा देखिएकामा यसवर्ष भने छोटो समयमै दोब्बर संख्यामा देखिएको हो । अस्पतालको सम्पर्कमा आएका बिरामीका आधारमा यो समस्या कास्की, बागलुङ र पर्वतमा देखिएको अस्पतालको भनाइ छ ।

पुरानो मेसिन बनाउँदै चलाउँदै

सापुजस्ता समस्या जाँच्न चाहिने ‘बि–स्क्यान’ नाम अल्ट्रासाउन्ड मेसिन अभाव रहेको अस्पतालले जनाएको छ । अस्पतालसँग भएको मेसिन दशौं वर्ष पुरानो भइसकेकाले नतिजाअनुरुप काम गर्न नसकेको मेडिकल डाइरेक्टर श्रेष्ठले जानकारी दिइन् ।

‘दशौं वर्ष पुरानो भइसकेकाले बेलाबेलामा बिग्रिन्छ । बनाउँदै, चलाउँदै आइरहेका छौं,’ उनले भनिन्, ‘तर, बनाएपनि कतिबेला बिग्रिने हो थाहै हुँदैन ।’

सापुको सम्भावित बिरामी आएमा तत्काल उपचार गरिहाल्नुपर्ने भएकाले पनि बि–स्क्यान मेसिनको तत्काल आवश्यक रहेको डा. श्रेष्ठले सुनाइन् ।

सोमबार अस्पताल निरीक्षणमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको टोलीसँग अस्पतालले सो मेसिन उपलब्ध गराइदिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?