+
+
काठमाडौंमै खुलेका विद्यालयको कथा :

फेरि स्कुल बन्द नहोस् !

नुनुता राई नुनुता राई
२०७८ भदौ ३० गते २०:०५

३० भदौ, काठमाडौं । चामुण्डा माध्यमिक विद्यालय, गोकर्णेश्वरमा कक्षा ९ अध्ययनरत निशान्त श्रेष्ठले अनलाइन कक्षा लिन थालेको दुई साता नवित्दै मोबाइल बिग्रियो । मोबाइल नभएका कारण उनले अनलाइन कक्षामा सहभागिता जनाउन पाएनन् ।

१५ भदौबाट भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएपछि भने उनी खुसी छन् । ‘अनलाइन पढाइमा विभिन्न बाधाव्यवधान परिरहन्छन् । कक्षामा जस्तो ध्यान केन्द्रित  हुन पनि गाह्रो हुन्थ्यो,’ विद्यालयमा भेटिएका उनल अनलाइनखबरसँग भने, ‘कक्षामा प्रत्यक्ष पढेजस्तो अनलाइनमा कसैगरे पनि हुँदैन ।’

कक्षा १० की सुश्मी राईको पनि त्यस्तै अनुभव छ । ‘बुझिएन वा पढाइ चाखलाग्दो भएन भने ध्यान अरु कुरातिर गइलाल्छ’, उनी भन्छिन्, ‘कक्षामा त त्यस्तो हुने कुरै आउँदैन । स्कुलमा त साथीहरुसँगको छलफलबाट पनि धेरै कुरा स्पष्ट हुन्छ, सिकिन्छ ।’

कक्षा १० का भद्रकला खत्री, टिवन राई, मेरिना दोङ र सुरोज थिङसँग पनि अनलाइन पढाइमा बस्दा कहिले आफ्नो, कहिले सरको नेट नचल्ने, स्लो हुने, कहिले बिजुली जाने जस्ता समस्या भएको अनुभव छ । भौतिक उपस्थितिमा पठन पाठन हुन थालेपछि नियमित विद्यालय आएका उनीहरु खुसी छन् ।

कोरोना संक्रमण केही कम भएपछि गोकर्णेश्वर नगरपालिकाले १५ भदौबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । दोस्रो लहरको कोरोना संक्रमण जोखिम बढ्दै गएपछि वैशाखदेखि विद्यालयहरु बन्द गरियो । लामो समय विद्यालय बन्द हुँदा वैकल्पिक सिकाइ प्रभावकारी नभएको र बालबालिकाको पढाइ बिग्रिएको भन्दै नगरपालिकाले कक्षा सञ्चालन गर्ने निर्णय लियो ।

नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाका अनुसार, नगरभित्रका १६ सामुदायिक र ९३ वटा संस्थागत विद्यालय भदौ १५ गतेदेखि संचालन भइरहेको छ । त्यसमध्ये एक हो, छहारी शिक्षा सदन । विद्यालयले जेठबाट अनलाइन कक्षा चलाएको थियो । तर विद्युत, नेटलगायत समस्याका कारण धेरै विद्यार्थी कक्षामा सहभागी नै भएनन् ।

भदौ १५ गतेदेखि स्कुल खुलेपछि यस्ता समस्या हटेको कक्षा ७ का अनिस श्रेष्ठले बताए । ‘१० मिनेट परको स्कुल नगई अनलाइनमा पढ्दा धेरै कुरा बुझिदैनथ्यो, होमवर्क गर्न पनि अल्छी लाग्थ्यो’, उनी भन्छन्, ‘अहिले त्यस्तो केही हुन्न ।’

कक्षा ९ की पूणिर्मा पराजुली अनलाइन कक्षाले अति नै दिक्क पारिरहेको बेला विद्यालय खुल्ने थाहा पाएको दिन खुसीले राति निद्रै हराएको बताउँछिन् । उनी भन्छिन्, ‘मलाई त कहिले भोलि होला जस्तै भएको थियो ।’

छहारी शिक्षा सदनमै कक्षा ७ मा अध्ययनरत सरु नेपाली पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुँदै त्यतिकै उत्साहित छिन् । घरमा इन्टरनेट थिएन, मोबाइल पनि नभएकाले उनले राम्ररी अनलाइन कक्षामा भाग दिनै पाएकी थिइनन् । ‘नेट र बिजुलीको समस्याले पटक-पटक अनलाइन कक्षा छुट्यो, मेरो त पढाइ नै बिग्रिसकेको थियो,’ सरु भन्छिन्, ‘अब स्कुल बन्द नहोस् भन्ने लागेको छ ।’

अनलाइन कक्षा लिन ससाना बालबालिकालाई अझ कठिन भएको उनीहरुको अनुभवबाट बुझ्न सकिन्छ ।

छहारीमै कक्षा ५ मा अध्ययनरत मिनुका रसाइली अनलाइनमा पढेको केही नबुझेको बताउँछिन् । ‘कक्षामा त सरले भनेको सबै बुझिन्छ,’ उनी भन्छिन्, ‘फेरि घरमा एक्लैभन्दा स्कुलमा साथीहरुसँग पढ्दा धेरै रमाइलो हुन्छ ।’

सतप्रतिशत विद्यार्थी सहभागी

विद्यालयका प्रिन्सिपल अनिल पराजुली ।

विद्यालय खुलेकै दिनदेखि अधिकांश विद्यार्थी विद्यालय आउन थालेको शिक्षकहरु बताउँछन् । चामुण्डा माध्यामिक विद्यालयका सह-प्रधानाध्यापक दिवाकरप्रसाद भण्डारीका अनुसार, गाउँ गएका केही बाहेक सबै विद्यार्थी कक्षामा आएका छन् । ‘अनलाइन कक्षामा ५० प्रतिशत पनि सहभागी नहुने समस्या थियो’, उनी भन्छन्, ‘अहिले कक्षामा लगभग सतप्रतिशत विद्यार्थी नियमित छन् ।’

सामुदायिक विद्यालयमा निम्न मध्यम तथा निम्न आर्थिक अवस्था भएका परिवारका बालबालिका पढ्ने भएकाले पनि अनलाइन कक्षा प्रभावकारी नहुने सह-प्रधानाध्यापक भण्डारी बताउँछन् । ‘शिक्षकहरु पनि इन्टरनेट प्रविधिमा अभ्यस्त थिएनन्, धेरैजसो विद्यार्थी प्रविधिको पहुँच बाहिर थिए’, उनले भने, ‘त्यसमाथि इन्टरनेट सेवा प्रदायकहरुको कमजोरीले समस्या थप्यो ।’

चामुण्डाले अहिले भौतिक उपस्थितिमा तर, तीन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ, जुन अनलाइन भन्दा निकै प्रभावकारी भएको शिक्षकहरुको पनि अनुभव ।
छहारी शिक्षा सदनले पनि दुई सिफ्टमा कक्षा सञ्चालन गरेको छ, जसबाट विद्यार्थी र अभिभावक खुसी रहेको प्रिन्सिपल अनिल पराजुली बताउँछन् । ‘सबैजसो अभिभावकलाई झन्जटिलो अनलाइन कक्षामा बालबालिकाको पढाइ बिग्रेको भन्ने लागेको थियो । कक्षा संचालन भएपछि खुशी हुनुहुन्छ,’ उनले भने । यद्यपि कोरोना संक्रमणको क्रास कायमै रहेको उनी बताउँछन् ।

कक्षाकोठामा विद्यार्थीलाई पढाउँदै शिक्षिका ।

तस्वीर : चन्द्र आले

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?