+
+

वीरगञ्जमा भारतीय निजी रेलबाट पनि सामान ढुवानी शुरु

रेलसेवा प्रतिस्पर्धात्मक बनाउन व्यवसायीको माग

सुरेश बिडारी सुरेश बिडारी
२०७८ भदौ ३० गते १४:१८
तस्वीर : प्रणय साह

३० भदौ, वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीले रेलमार्फत सामान ढुवानी शुरु गरेको छ । भारतीय रेल कम्पनी हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार हल्दिया बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आइपुगेको हो ।

सोमबार हल्दिया बन्दरगाहबाट छुटेको रेल बुधबार १० बजे वीरगञ्ज आइपुगेको सुख्खा बन्दरगाह सञ्चालक संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

विश्व बैंकको ऋण सहयोगमा ८२ करोड रुपैयाँको लागतमा सन् २००० मा वीरगञ्जमा सिर्सिया सुख्खा बन्दरगाह बनेको थियो । त्यसपछि भारत सरकारको २० करोड अनुदान सहयोगमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक स्थापना भएको थियो ।

नेपाल र भारत सरकारबीच २१ मे २००४ मा रेल्वे सम्झौता भएको थियो । १७ डिसेम्बर २००८ मा फ्ल्याट वेगन कार्गो पनि आउन सक्नेगरी भारतसँग रेल्वे सम्झौता भएको थियो ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । जसले गर्दा भारतको कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करले गर्दै आएको थियो ।

गत जुलाई २०२१ मा रेल सेवा पुनरावलोकन सम्झौतामा संशोधन गरिएको छ । संशोधित सम्झौतामा भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेल्वे कम्पनीले पनि नेपालमा ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ ।

कन्कोरलाई दिइएको एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेल्वे सेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा विभिन्न १५ ओटा निजी कम्पनीले रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करबाहेक तीन कम्पनीले नेपालतर्फको ढुवानीमा रुची देखाएका छन् ।

प्रतिस्पर्धा बढ्नेमा व्यवसायी आशावादी

रेल्वे सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने हुँदा त्यसबाट ढुवानी सेवामा सहुलियत मिल्नेमा व्यवसायीहरु आशावादी देखिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ रेल सेवामा प्रतिस्पर्धा भए सेवाग्राहीलाई फाइदा हुने बताउँछन् । यद्यपि भाडा दर र सेवा कस्तो हुन्छ हेर्नुपर्ने उनी बताउँछन् ।

‘रेल सेवामा पनि प्रतिस्पर्धा हुनेमा हामी आशावादी छौं’ उनले भने, ‘कहिलेकाहीँ विशाखापटनम र कलकत्ताबाट हिँडेको रेल आउन २०–२५ दिन पनि लगाइदिन्छन् । भाडा दर भन्दा पनि सर्कुलेसन छिटो भयो भने बैंकको ब्याज समयमा तिर्न सकिन्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता निजी कम्पनीहरुको आगमनले नेपाली आयातकर्ताले सेवा रोज्न पाउने वातावरण सिर्जना हुने बताए । ‘निजी कम्पनीले सेवा दिएपछि रेलको भाडामा प्रतिस्पर्धा हुन्छ, प्रशासनिक खर्च कटौती हुन्छ, खाली कन्टेनर वीरगञ्जमा रहँदा डिटेन्सन तिर्नुपरिरहेको हुन्छ, रेलको संख्या बढेपछि खाली कन्टेनर पनि जान्छ । रोडबाट भन्दा रेलबाट कारोबार बढ्दा सुख्खा बन्दरगाह (आईसीडी)को व्यापार बढ्छ’ उनले भने ।

विगतमा भारत सरकारले नेपालका लागि विशाखापटनम बन्दरगाह खुल्ला गरेपछि कलकत्ता बन्दरगाहले पनि नेपाली आयातकर्तालाई दिने सेवामा विस्तार गरेको उनी बताउँछन् ।

‘कलकत्ता पोर्टमा कन्टेनर अड्किएर बस्थ्यो, कन्टेनर कता छ भनेर खोज्दा भेटिन्नथ्यो, हामीले विशखापटम पोर्ट प्रयोग गर्न थालेपछि कलकत्तामा नेपालको लागि छुट्टै यार्ड बनाइदिएको छ, कमी कमजोरी के छ भनेर कलकत्ताबाट अधिकारीहरु आएर छलफल गर्छन्’ उनले भने, ‘रेल ढुवानीमा पनि नम्बर अफ प्राइभेट कम्पनी बढ्नु स्वागतयोग्य छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी रेल ढुवानी सेवालाई प्रतिस्पर्धात्मक बनाउनु सरोकारवालाको दायित्व भएको बताए ।

‘उसले नेपालको आयात निर्यात व्यवसायमा के सहुलियत दिन्छ त भन्नेबारे सबै सरोकारवाला चनाखो हुनुपर्छ । अन्यथा सबै रेल सेवा प्रदायक मिलेर एउटै भाडा दर कायम गर्ने वा दर बढाउन सहमति पनि गर्न सक्छन्’ उनले भने ।

नेपालमा सेवा दिने भारतीय रेल्वे कम्पनीले आधिकारिक प्रतिनीधि बस्नेगरी वीरगञ्जमा कार्यालय खोल्न पनि उनले सुझाव दिए ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल प्रतिस्पर्धात्मक वातावरण निर्माणका लागि नै निजी रेल कम्पनीको सेवा सुरु भएको बताउँछन् ।

‘हिन्द टर्मिनल ट्रान्जिट टाइम घटाउँछु, ढुवानी लागत कम गर्छु र एकीकृत रुपमा सहज र सरल तरिकाले सेवा दिन्छु भनेको छ’ उनले भने, ‘अन्य निजी रेल सेवा प्रदायक कम्पनीले पनि नेपालमा ढुवानी सेवा दिन चासो देखाएका छन्, प्रतिस्पर्धाले नै मूल्य घटाउने हो, यसले नेपालको आयात निर्यात व्यापारमा पक्कै पनि सकारात्मक परिवर्तन ल्याउँछ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?