
३१ भदौ, काठमाडौं । अफगानिस्तानमा हालै तालिबानले घोषणा गरेको सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर टाइम म्यागाजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । उनी सन् २०२० मा अमेरिकासँग भएको शान्ति सम्झौताको लागि महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन् ।
उनैले तालिबानको तर्फबाट वार्ताको नेतृत्व गरेका थिए । बरादर निकै कम बोल्ने धेरै कुरा गोप्य राख्ने व्यक्तिको रुपमा चिनिन्छन् । उनी खासै सार्वजनिक अभिव्यक्ति दिँदैनन् । उनी अहिलेको तालिबानको टोलीमा केही नरम मानिन्छन् ।
तालिबान अहिले अफगानिस्तानको सत्तामा आउनुमा बरादरले निकै महत्वपूर्ण निर्णय लिएका छन् । उनले पूर्व सरकारी अधिकारीहरुलाई आममाफी दिनेदेखि काबुलमा रक्तपात नमच्चाउनेसम्मका निर्णय गरेका थिए । त्यस्तै उनले आफ्ना प्रतिनिधिलाई चीन र पाकिस्तान पठाउने निर्णय गरेका थिए ।
सन् २०१० मा बरादर पाकिस्तानमा पक्राउ परेका थिए र २०१८ मा रिहा भएका थिए । तालिबानको सहसंस्थापक भए पनि उनले अमेरिकासँगको वार्ताको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई सरकारमा सानो पद दिइएको अनुमान गरिएको छ ।
टाइम म्यागाजिनले सार्वजनिक गरेको एक सय प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति जो बाइडन, इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटलगायतका नेता सामेल छन् । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि यो सूचीमा सामेल छिन् । यद्यपि यो सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने छैनन् ।
सूचीमा बेलायती राजकुमार प्रिन्स ह्यारी र मेघन, भारतीय खोप निर्माता सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावाला, रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी, एप्पलका सीईओ टिम कुक, स्पेस एक्सका सीईओ एलन मस्कलगायत व्यक्रिहरु समावेश छन् ।
प्रतिक्रिया 4