+
+

चिनीको अधिकतम खुद्रा मूल्य तोक्ने तयारी

दुई महिनामा भित्रियो १७ हजार मेट्रिकटन चिनी

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ ३१ गते २०:२२

३१ भदौ, काठमाडौं । सरकारले चिनीको अधिकतम खुद्रा बिक्री मूल्य तयारी गरेको छ ।

सबै पक्षलाई बजार खुल्ला गर्ने रणनीति बमोजिम अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने तयारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले सबैले आयात गरेर बिक्री गर्न सक्नेगरी मूल्य तोक्न गृहकार्य गरेको बताए । प्रतिकिलो ७० देखि ८० रुपैयाँँसम्म तोक्ने तयारी भएको स्रोतको भनाइ छ ।

सरकारी मूल्यांकन अनुसार भारतीय बजारमा चिनीको मूल्य प्रतिकिलो नेपाली ४० देखि ५० रुपैयाँ छ । त्यसमा ४० प्रतिशत भन्सार महसुल र १३ प्रतशत भ्याट जोडेर नेपालमा खुद्रा मूल्य तोक्ने तयारी छ । ४० प्रतिशत भन्सार महसुल १६ रुपैयाँ र १३ प्रतिशत भ्याट ५ रुपैयाँ २ पैसा जोडिँदा चिनीको मूल्य भन्सार विन्दूमा ६१ रुपैयाँ २ पैसा पर्नेछ ।

अब यसमा ढुवानी भाडा प्रतिकिलो अधिकतम ३ देखि ५ रुपैयाँ र आयातकर्तालाई १० प्रतिशत नाफा सुनिश्चित गर्दा थप ४ रुपैयाँ गरी ९ रुपैयाँ बढेर प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने सरकारको अनुमान छ ।

चिनीमा भन्सार सहुलियत नदिइने

सरकारले यस वर्ष चिनी आयातमा भन्सार सहुलियत भने नदिने भएको छ । गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत दिएको भन्सार अनुदान प्रभावकारी नभएको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘उपभोक्ताका लागि भन्दै दिएको ५० प्रतिशत भन्सार महसुल छुट कम्पनीले दुरुपयोग गर्‍यो, उसले भन्सार सुविधा पाएअनुसार उपभोक्तालाई चिनी बिक्री गरेन,’ ती अधिकारीले भने ।

गत वैशाखमा वाणिज्य मन्त्रालयले साल्ट ट्रेडिङलाई ४० हजार मेट्रिक टन चिनी भन्सार छुटमा ल्याउन दिन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव राखेको थियो । तर अर्थले मानेन  । सरकारले तोकेको मूल्यमा चिनी बिक्री गर्ने गरी साल्ट ट्रेडिङले स्वतन्त्र रुपमा चिनी आयात गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

दशैं तिहारलाई पुग्ने चिनी आयात

नेपालमा पछिल्लो दुई महिनामा झण्डै १७ हजार मेट्रिक टन चिनी आयात भएको पाइएको छ । वाणिज्य विभागलाई प्राप्त भन्सार विभागको विवरणअनुसार दशैंलाई लक्षित गरी व्यवसायीले चिनी आयात गरेका हुन् । दशैं तिहार तथा छठ पर्वलाई झण्डै ३० हजार मेट्रिक टन चिनी चाहिने सरकारी अनुमान छ ।

दशैं शुरु हुन अझै तीन साता बाँकी रहेको हुनाले १० देखि १५ हजार मेट्रिकटन चिनी अझै आयात हुने देखिएको वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?