+
+
सन्दर्भ : परिवार नियोजन दिवस :

नेपाली दम्पती परिवार नियोजनको साधन प्रयोग गर्न झन्झट मान्छन्: डा. बालकृष्ण शाह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते ८:१२

परिवार नियोजनका साधन सहजै उपलब्ध छन् । त्यसको उपयोगिता पनि सहज एवं सरल छन् । यसको समुचित प्रयोगले भविष्यमा हुनसक्ने कतिपय झन्झटबाट मुक्त गर्छ । अनिच्छित गर्भ रोक्न होस् वा यौनजन्य रोगको संक्रमणबाट बच्न; परिवार नियोजनका साधनहरू अपनाउन सकिन्छ । तर, अचम्म त के छ भने अक्सर नेपाली दम्पतीले यस्तो साधन प्रयोग गर्न झन्झट मान्छन् । किन ?

डा. बालकृष्ण शाहको बुझाइ छ, नेपाली समाजमा परिवार नियोजनका साधनबारे स्पष्ट धारणा छैन । यसलाई लिएर समाजमा भ्रम छ । आवश्यक जनचेतनाको अभावमा परिवार नियोजनका साधनहरू प्रयोग भएको छैन । यसै सेरोफेरोमा अनलाइनखबरले डा. शाहसँग कुराकानी गरेको छ ।

नेपाली दम्पतीहरू परिवार नियोजनका साधन प्रयोग गर्न कति रुचाउँछन् ?

परिवार कल्याण महाशाखाले प्रकाशन गरेको पछिल्लो तथ्यांक अनुसार ४४ प्रतिशत दम्पतीले मात्रै परिवार नियोजनका साधन प्रयोग गरेको देखिन्छ । यस अनुसार भन्ने हो भने अधिकांश दम्पतीले परिवार नियोजनका साधन रुचाएको देखिंदैन ।

परिवार नियोजनको साधन प्रयोग गर्न त्यति इच्छुक नहुनुमा के कारण होला ?

परिवार नियोजनका साधन किन रुचाउँदैनन् त भन्ने बारे धेरै अध्ययन भएको छैन । म स्त्रीरोग तथा प्रसूति विज्ञका रूपमा काम गर्दै जाँदा अधिकांश दम्पतीले परिवार नियोजनका साधनबारे सही सत्य जानकारी नपाएको र यसको प्रयोगले विभिन्न असर हुनसक्ने हल्लाका कारणले यसप्रति कम रुचि देखाएको पाएको छु ।

के परिवार नियोजनका साधनको प्रयोग शतप्रतिशत सुरक्षित हुन्छ ?

नेपालमा उपलब्ध परिवार नियोजनका साधन नयाँ होइनन् । यी साधनहरू अन्तर्राष्ट्रिय बजारमा निकै पुराना र स्थापित छन् । यसका असरहरूका बारेमा पूर्ण अध्ययन भइसकेकाले साधनहरू सुरक्षित छन् । तर हरेक साधन सबैलाई उपयुुक्त हुन्छन् र असर गर्दैनन् भन्न सकिंदैन । त्यसैले परिवार नियोजनका साधन प्रयोग गर्नु अगाडि दक्ष स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिएर आफूलाई उपयुुक्त हुने साधन रोज्नुपर्छ ।

अनिच्छित गर्भका लागि जरूरी छ कि यौनजन्य रोगको संक्रमणबाट बच्नका लागि ?

परिवार नियोजनका साधनहरूको मुख्य काम अनिच्छित गर्भ रोक्नु नै हो । यस बाहेक कण्डमले यौनरोगहरूको संक्रमण हुनबाट पनि जोगाउने हुन्छ । त्यस्तै खानेचक्की (पिल्स) ले महीनावारी नियमित गराउन उपयोगी हुन सक्छ । त्यस्तै अन्य साधनहरू पनि कुनै कुनै विशेष अवस्थामा अन्य उपचारका लागि पनि प्रयोग हुन सक्छन् । सबै परिवार नियोजनका साधनले यौनरोगहरूबाट बचाउँदैनन् ।

परिवार नियोजन साधन के–कस्ता छन् ?

नेपालमा उपलब्ध परिवार नियोजनका अस्थायी साधनहरूमा पुरुषको लागि केवल कण्डम रहेको छ भने महिलाहरूका लागि खानेचक्की (पिल्स), तीन महीने सुई, पाखुरामा राखिने ईन–प्लान्ट (ज्याडेल), पाठेघरमा राखिने कपर टि उपलब्ध छन् । सन्तानको रहर पुगिसकेका दम्पतीहरूले स्थायी परिवार नियोजनका लागि पुरुषले भ्यासेक्टोमी र महिलाले बन्ध्याकरण रोज्न सक्छन् ।

त्यसको उपयोग कति सुरक्षित र भरपर्दो छ ?

सबै साधन सुरक्षित रहेको अगाडि नै उल्लेख गरिसकेको छु । भरपर्दो तथा प्रभावकारीको कुरा गर्दा सही तरिकाले प्रयोग गरिएको साधनहरू बढी प्रभावकारी हुन्छन् । छोटो समयको जन्मान्तरका लागि प्रयोग गरिने कण्डम, पिल्स तथा तीनमहीने सुईको तुलनामा लामो समयका लागि प्रयोग गरिने साधनहरू ज्याडेल (ईन–प्लान्ट) तथा कपर टी बढी प्रभावकारी देखिएको छ ।

परिवार नियोजनको खपत कति छ ?

परिवार कल्याण महाशाखाले प्रकाशन गरेको तथ्यांक अनुसार औपचारिक शिक्षा नलिएका दम्पतीहरूमध्ये ५४ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गरेका छन् भने उच्च शिक्षा हासिल गरेका दम्पती ३० प्रतिशतले मात्रै परिवार नियोजनका साधन रोजेको देखिन्छ । त्यस्तै प्रदेश–२ का दम्पती सबैभन्दा बढी ४७ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गरेका छन् भने गण्डकी प्रदेशका दम्पतीमध्ये ३३ प्रतिशत मात्रले प्रयोग गरेको सो तथ्यांकले देखाएको छ ।

विभिन्न फ्लेबर वा शैलीमा पनि उपलब्ध हुने कण्डमले कुनै हानि गर्छ वा गर्दैन ?

कण्डम परिवार नियोजनका लागि प्रयोग हुने साधनहरूमध्ये सबैभन्दा कम प्रभावकारी साधनका रूपमा लिने गरिन्छ । कण्डमलाई परिवार नियोजनका साधन भन्दा पनि यौनरोग सर्नबाट रोक्ने उपायका रूपमा बढी लिने गरिन्छ ।

यसमा प्रयोग गरिएको सुगन्धले कुनै किसिमको असर गर्ने हुँदैनन् । तर कसैकसैलाई कण्डममा प्रयोग भएका रसायन तथा ल्याटेक्सको एलर्जी हुन सक्छ । त्यसैले आफूलाई असजिलो भएमा चिकित्सकको परामर्श लिनुपर्छ र अर्को साधन रोज्नुपर्ने हुन सक्छ ।

कण्डमको प्रयोगले यौन आनन्दमा कमि गर्ने भन्दा पनि प्रिम्याच्योर इज्याकुएसन अर्थात् शीघ्र वीर्यपतन समस्यालाई पनि समाधान गर्ने भएकाले थप आनन्दित बनाउने हुन्छ कि भन्ने विज्ञहरूको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?