+
+
साहित्य-वार्ता :

‘पुष्पलालसँग आजका नेताहरूको तुलना हुनै सक्दैन’

हामीले बादशाह जस्ता सत्ताधारी मात्र पायौं

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असोज २ गते २०:२५

खरो र प्रष्ट वक्ता रेशम विरहीका पछिल्लो आठ महीनायता दुई पुस्तक प्रकाशित भए । गत मंसीरमा प्रकाशित ‘सत्ता र स्वप्नदोष’ निबन्धसंग्रह र वैशाखमा आएको ‘सातौं बादशाहको रातो कोट’ (लामो कविता) दुवैले राजनीतिक विसंगतिलाई निशाना बनाएका छन् ।

यसअघि विरहीका एक उपन्यास, एक निबन्ध संग्रह र कविताका ६ थान संग्रह प्रकाशित छन् । साहित्यसँगै उनी पाँच दशक पत्रकारितामा सक्रिय रहे । त्यसक्रममा समाजसँगको साक्षात्कारबाट प्राप्त अनुभव विरहीको सृजनाको मियो हो । उनी पाखण्ड र ढोंग विरुद्ध खरा छन्, आफ्ना कमजोरीहरू पनि स्वीकार्दै अग्रगमनको पक्ष लिन्छन् ।

जीवनका अधिकांश समय नेपालगञ्ज, चितवन र काठमाडौंमा बिताएका विरहीसँग उनका पछिल्ला कृतिहरूमाथि केन्द्रित रहेर गरिएको कुराकानी :

‘सातौं बादशाहको रातो कोट’ को मुख्य निशाना सत्ताधारीहरू नै हुन् ?

हो । सातौं भनेर अहिलेको सत्तालाई भन्न खोजेको हुँ । पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मका मुख्य-मुख्य राजनीतिक परिवर्तनपछि बनेका सत्तामध्ये अहिलेको सातौं हो ।

नेपालको सत्ता जनताको पक्षमा कहिल्यै भएन । हामीले तानाशाह वा बादशाह जस्ता लाग्ने सत्ताधारीहरू मात्र पायौं । पृथ्वीनारायण शाहले नेपाल विस्तार गरे, तर त्यस अतिरिक्त जनताको लागि केही गरेनन् । उनीपछिको राणा शासन, बहुदल, पञ्चायत, फेरि बहुदल र २०६२/६३ पछिको सत्ताको मूल स्वरूप हेर्दा सबै बादशाह जस्तो लाग्छन् । यही कुरालाई प्रतीकात्मक ढंगले कविता मार्फत उठाएको हुँ ।

एकथरी मानिस पृथ्वीनारायणको कट्टर समर्थक र अर्कोथरी सत्तोसराप गर्नेहरू छन् । तपाईं पृथ्वीनारायणलाई कसरी लिनुहुन्छ ?

दुवै अतिवाद हो । हरेक कुराको संश्लेषण निकाल्न सक्नुपर्छ, एकपक्षीय हुनुहुँदैन । पृथ्वीनारायण शाह कुनै अपरम्पार, दैवी शक्तिप्राप्त, महान् होइनन् । न त तानाशाह, निरंकुश वा हत्यारा नै हुन् । उनको सकारात्मक पक्ष भनेको राज्य विस्तार गर्नु र राष्ट्रलाई एकसूत्रमा लैजानु हो । उनका कमजोरीहरू पनि पर्याप्त छन् । संसारमा कुनै पनि कुरा शतप्रतिशत ठीक भन्ने हुँदैन ।

तपाईंको कविता र निबन्धको निशानामा कम्युनिष्टहरू बढी परेको देखिन्छ नि !

‘कम्युनिजम’प्रति मेरो आफ्नैखाले विश्लेषण छ । मैले भन्दै आएको छु- नाम कम्युनिष्ट पार्टी हुँदैमा कोही कम्युनिष्ट हुन्छ भन्ने छैन । म आचरण र व्यवहार हेर्छु ।

नेपालमा आफूलाई कम्युनिष्ट भन्नेहरू सबै ‘राजनीतिका लागि राजनीति’ गरिरहेका छन् । परिवर्तन, अग्रमगन र आम नागरिकको अवस्था सुधारको लागि यिनले राजनीति गरेका होइनन् । यो कुरा तमाम घटनाक्रमले देखाइसकेको छ । मेरो निशाना भने कम्युनिष्ट मात्र हुन जरूरी छैन ।

तपाईं युवाकालदेखि नै कम्युनिष्ट हुनुभयो । अहिले आएर किन वितृष्णा ?

प्रचण्ड र म चितवनमा छिमेकी र समकालीन पनि हौं । मेरो र उहाँको टोललाई नहरले छुट्याएको छ । खै कसरी हो, नहरमुनि कम्युनिष्ट र नहरमाथि कांग्रेसीहरूको बसोबास हुन पुगेछ । एक पटक प्रचण्डले ‘म नहरमाथि परेको भए कांग्रेस हुन्थें कि’ भनेर मसँग भन्नुभएको थियो ।

यसको तात्पर्य के हो भने, तत्कालीन परिस्थितिले गर्दा म कम्युनिष्ट बन्न पुगें । विद्यालय पढ्दा नै मलाई बामपन्थीको तर्फबाट चुनावमा उठाइयो । तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनको सभापति र त्यसपछि अनेरास्ववियूको जिल्ला कमिटी सदस्य भएँ म । कम उमेरमै कम्युनिष्टहरूको निकटता पाएँ ।

आज बुझ्दा, ठीक-बेठीक विचार गरेर मात्र कुनै कुरामा झुकाव राखिन्छ । मलाई भने बाल्यकालमा वरिपरिको वातावरणले कम्युनिष्ट पार्टीमा जोड्यो । छिमेकी र साथीभाइको सरसंगतले गर्दा म कम्युनिष्ट राजनीतिमा लागें । आज कुनै पनि कुरालाई आलोचनात्मक दृष्टिले हेरिन्छ । यसर्थ कम्युनिष्ट विचारसँग होइन नेपालका कम्युनिष्ट भनिने कथित पार्टीहरूसँग वितृष्णा भएको हो ।

मोहन वैद्यहरू एकदम जडसूत्रवादी हुनुहुन्छ । मोहनविक्रम सिंह मार्क्सवादी पण्डितहरूको एउटा टुकडी राखेर बस्नुभएको छ । उहाँहरूले यो देशमा राजनीति गर्न सक्नुहुन्न

कम्युनिष्टहरूमध्ये पुष्पलाल श्रेष्ठको विचारसँग सहमत रहेको तपाईंको निबन्धले बताउँछ, त्यो किन ?

राजनीतिमा मेरो पहिलो प्रवेश नै पुष्पलालको पार्टीमा भएको हो । २०२८ सालदेखि पुष्पलालको निधन हुँदासम्म त्यहाँ पार्टीमा रहें । यसबीच पुष्पलाललाई सबैले खेदे । अन्तिमतिर त उहाँ र पार्टीको अवस्था बहुत दयनीय भयो । उहाँ आर्थिक रूपमा निकै कमजोर हुनुभयो, स्वास्थ्य समेत बिग्रियो ।

त्यतिबेला भारतीय कम्युनिष्टहरूले आर्थिक-सामाजिक सहयोग गर्न खोजेका थिए, पुष्पलालले लिनुभएन । यो कारणले पनि आजका नेताहरूसँग पुष्पलालको तुलना हुनै सक्दैन । राजनीतिका लागि राजनीति गरिरहेका आजका नेताहरूसँग कुनै सोच नै छैन । घरि अग्रगमन भयो भन्छन्, घरि प्रतिगमन भयो भन्छन् ।

केपी शर्मा ओलीले संसद विघटन गर्दा सबैजना प्रतिगमन भन्दै ठूलो स्वरमा कराए । तर, ओलीले त संविधान मिचेका हुन् । फेरि संसद विघटनको घटना विश्वभरि भएका छन् ।

भनेपछि केपी ओलीको कदम ठीक थियो ?

‘प्रतिगमन’ भन्ने शब्दलाई केपी ओली विस्थापन गर्ने हतियार बनाइयो । मैले संसद विघटनलाई प्रतिगमन भन्न मिल्दैन भन्न खोजेको हुँ । ओलीले न राजा ल्याउन खोजेका हुन्, न त पञ्चायत ।

उनले रिसै-रिसमा त्यो बाटो समाते । यस्तो कदमलाई भोलि अदालतले बदर गर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि संसद विघटन गरेर राजनीतिका लागि राजनीति गरे ।

अहिलेका नेता वा दलमध्ये कोसँग सहमत हुनुहुन्छ त ?

कसैसँग छैन । मोहन वैद्यहरू एकदम जडसूत्रवादी हुनुहुन्छ । मोहनविक्रम सिंह माक्र्सवादी पण्डितहरूको एउटा टुकडी राखेर बस्नुभएको छ । उहाँहरूले यो देशमा राजनीति गर्न सक्नुहुन्न । कम्युनिष्ट पार्टी जनताबीच लोकप्रिय हुनुपर्ने हो, तर उहाँहरू विचार मात्र बोकेर बस्नुभएको छ, जनताको साथ छैन ।

जनताका बीचमा विचारको अभ्यास नगर्ने पार्टी के कम्युनिष्ट पार्टी !

नेपालमा बहुदलीय व्यवस्था असफल हुन लागेको हो ?

वास्तवमा यो सिस्टमले नै फेल खाएको हो । २०४६ सालपछि जति दुर्गति भयो, त्यो सब संसदीय दाउपेचको कारण भयो । २०६२/६३ पछि त नांगो रूपमा मुलुकको दोहन थालियो । नयाँ संविधान आएपछि झनै दुरवस्था भएको छ ।

आज नेपालको कुनै पनि क्षेत्र चित्त बुझाउन सकिने अवस्थामा छैन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा समेत ब्रहृमलुट छ । हेर्दाहेर्दै वैदेशिक मामिला पनि डामाडोल बनाउँदै लगेको देखिन्छ । एमसीसीकै उदाहरण हेरौं न !

यसो भन्दा संविधानको विरोध गर्‍यो भन्लान् । तर, संविधानमाथि पनि प्रश्न गर्न पाइन्छ नि !

पछिल्लो दुई वर्ष क्यान्सर रोगको उपचार गराउने क्रममा देशको स्वास्थ्य क्षेत्र कस्तो पाउनुभयो ?

मेरो व्यक्तिगत कुरा गर्दा, पत्रकार र साहित्यकारहरूबाट ठूलो सहयोग पाएँ । यो प्रसंग भएको निबन्धलाई संग्रहमा पनि राखेको छु । सबैले सहयोग गरेर नै बाँचेको हुँ म ।

जहाँसम्म हाम्रो स्वास्थ्य क्षेत्रको सवाल छ, जताततै चरम लापरबाही र लुट छ । हरेक अस्पताल वरिपरि मेडिकल माफियाको सञ्जाल छ । स्वास्थ्य उपचारमा धन हुनेको मात्र पहुँच छ ।

राजनीतिलाई विसंगत करार गर्नुभयो । यो अवस्थामा कुन विश्वासले साहित्य लेखिरहनुभएको छ ?

म बाल्यकालदेखि नै राजनीति र साहित्यसँग जोेडिएँ । राजनीतिक विषय अध्ययन गर्ने क्रममा साहित्यतर्फ पनि केन्दि्रत भइयो । समाज परिवर्तनका लागि राजनीति गर्ने, साहित्य लेख्ने भन्ने भयो । लेख्ने, पढ्ने कुरा साहित्यमा जोडियो ।

समाज परिवर्तनमा साहित्यले अहम् भूमिका खेल्छ भन्ने मलाई लाग्छ । यही विश्वासले आजसम्म साहित्य लेखिरहेको छु ।

गणतन्त्रकालीन साहित्य प्रभावहीन बनेको हो ?

आजका युवाले प्रभावशाली कविता लेखिरहेका छन्, नयाँ-नयाँ प्रयोग पनि भइरहेको छ । आख्यान पनि फस्टाएकै छ ।

साहित्यमा गुटगत कुरा वा एक-अर्काको प्रवर्द्धनमा गरिने विज्ञापन पनि होला । विकृतिहरू होलान् । यस्ता कमी-कमजोरीको बावजुद साहित्य र पत्रकारिताले राज्य-सत्तालाई मनग्गे खबरदारी गरिरहेकै देख्छु । तर, जति खबरदारी गरे पनि राज्यसत्ताका मानिसहरू नाडार बनिरहेको अवस्था छ ।

तपाईंका अधिकांश साथीले राजनीतिक नियुक्ति पाएका छन् । तपाईंचाहिं आजीवन प्रतिपक्षी देखिनुभएको छ, किन ?

साथीहरूलाई जागिर खान मन लागेर नियुक्ति लिनुभयो । मलाई पनि मन लागेको भए पाउँथें होला, तर त्यता लाग्दै लागिनँ । ७० वर्षको हुँदासम्म कुनै पनि ठूला नेतासँग दूरी राखेर बसेको म अब नजिक हुने काम गर्दिनँ ।

हेर्नुहोस् भिडियो

तस्वीरहरू : आर्यन धिमाल

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?