+
+

कुरुवाको दुःख : रोगले होइन, अस्पतालले बिरामी बनायो

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असोज २ गते २०:०९

दृश्य १ :

वीर अस्पतालको हार्डजोर्नी वार्डअगाडि एक पुरुष झोक्राएर बसिरहेका भेटिए । रौतहट पिपराबजारका यी अधबैंसे हुन्– विकास दास । १५ वर्षीय भतिजाको ढाडको उपचारका लागि राजधानी शहर छिरेका उनको वीर अस्पतालमा बास भएको दुई महिना बितिसक्यो । अझै कति समय यहाँ बस्नुपर्ने हो उनलाई थाहा छैन ।

गाउँमा सामान्य खेतिपाती गरेर जीवन निर्वाह गर्ने किसान हुन् विकास । बर्खाको समय आफ्नो सबै काम छाडेर दाइ र भतिजासँगै अस्पताल छिरेका उनको नयाँ परिचय बनिसकेको छ– ‘बिरामी कुरुवा’ ।

‘अप्रेसन भइसके पनि घाउ नसुकेसम्म नपठाउने भनेका छन्’ लामो समय अस्पताल बसाइले आजित भएका दास भन्छन्, ‘खेतिपातीको काम छाडेर आएका हौं । अझै कतिन्जेल बस्नुपर्ने थाहा छैन ।’

प्रष्टसँग नेपाली बोल्न नजान्ने यी दुई दाजुभाइ पालैपालो अस्पतालमा कुरुवा बसिरहेका हुन्छन् । राति एकजना पालो बस्दा अर्को सुत्न जान्छन् । दिउँसो एकजना पैसा खोज्न जाँदा अर्को छोरासँगै बस्छन् ।

दुई महिनादेखि अस्पतालमा बस्न बाध्य उनीहरू हत्तपत्त कसैसँग बोलिहाल्दैनन् । विकास भन्छन्– ‘देहातको मान्छेको कुरा यहाँ कसैले नबुझ्ने रहेछन् । डाक्टरले भनेको कुरा नबुझ्दा धेरै सास्ती पाएका छौं ।’

दृश्य २ :

वीर अस्पतालको मुख्य भवनपछाडि रहेको जटिल रोगहरूको उपचार कक्षमा भेटिएका झुपेन्द्र सुनार कुर्सीमै निदाइरहेका थिए । श्रीमतिको किड्नी फेल भएर साउन ६ गते बर्दिया मधुवनबाट काठमाडौं आएका उनी एक्लै श्रीमतिको कुरुवा बसिरहेका छन् ।

‘बीचमा म आफैं ज्वरोले गर्दा झण्डै भर्ना भएर बस्नुपरेन,’ सुनार भन्छन्, ‘बिरामी छु भनेर बस्न नि मिलेन, औषधि खाएर अस्पतालकै बेन्चमा सुतेँ ।’

अहिले डाक्टरको निर्णयमा झुपेन्द्रको श्रीमतिको एउटा मृगौला फालिएको छ । अब एउटा मात्रै मृगौला बोकर यो साता उनीहरू बर्दिया फर्किँदैछन् । झुपेन्द्र भन्छन्– ‘तीन महिनापछि फलोअपलाई फेरि आउनु भनेका छन् । त्यतिन्जेलसम्म अरु समस्या नदेखिए हुन्थ्यो ।’

दुई महिना अस्पताल बस्नुपर्दा झुपेन्द्रले भोगेको सास्ती झट्ट सुन्दा कथाजस्तै लाग्छ । एकचोटी रगतको खोजीमा उनी आफ्नै रगत सकिनेगरी दौडिनुपर्‍यो । काठमाडौंका ब्लड बैंकमा रगत नपाउँदा उनी ट्याक्सी लिएर बनेपा पुगे । बनेपाबाट रगत ल्याएपछि डाक्टरहरूले भने– ‘अब रगत चढाउन नपर्ने भयो ।’ उनी रगत फिर्ता गर्न पुनः ट्याक्सी लिएर बनेपा पुगे । एकातिर बिरामी पत्नीलाई एक्लै छाडेर टाढा हिंड्नुपर्दाको पीडा, अर्कोतिर चार हजाभन्दा बढी ट्याक्सी भाडा । त्यसो त, उनले ब्लड बै्रकबाट पैसा पनि फिर्ता पाएनन् ।

बिरामी कुरुवाहरूको अनुभवमा हाम्रा अस्पतालहरू उपचार केन्द्र होइन, यातना गृह हुन्, जहाँ सद्दे मासिन बिरामी भएर घर फर्कनुपर्छ । अस्पतालको व्यवस्थापन अस्तव्यस्त छ भने समन्वय कमजोर छ, जसको मूल्य आफन्त बिरामी भएर मानसिक तनावमा रहेका आफन्तहरूले चुकाउनुपर्छ ।

‘रोगले भन्दा पनि अस्पतालले नै बिरामी बनाइसक्यो’ झुपेन्द्र भन्छन्, ‘अप्रेसन र बेडको पैसा छुट भएपनि बाँकी सबैको पैसा तिर्नुपर्दा चार लाख नाघिसकेको छ । अझै डिस्चार्ज गर्दा अर्को बिल आउँछ भनिएको छ ।’

दृश्य ३ :

विहीबार महाराजगञ्जको त्रिवी शिक्षण अस्पतालको वार्डमा जात्रामा जस्तै भिडभाड देखिन्थ्यो । जनरल वार्डदेखि नाक–कान–घाँटी, हाडजोर्नी तथा महिला रोगको उपचारपछि वार्डमा सारिएकाहरूले अधिकांश कोठा भरिएका थिए । धेरैजसो अप्रेसनपछि वार्डमा सारिएका बिरामी र तिनका कुरुवाले कोठा भरिएको थियो ।

भित्ताहरूमा कुरुवाले बिरामी भेट्ने समय बिहान र दिउँसो लेखिएको सूचना टाँसिएको छ । तर, एकजना कुरुवा रात–दिन खडा भएर बस्नुपर्ने बाध्यता रहेको छ । यही वार्डको एउटा कुनामा मोबाइल चार्ज गर्ने ठाउँ खोज्दै हिँडेका भेटिए धादिङका रुपेश अधिकारी ।

रुपेशको पनि एक महिनादेखि शिक्षण अस्पतालमै बास छ । भाइलाई फोक्सोमा पानी जम्ने समस्या भएकाले उनी यहाँ आइपगेका हुन् । परिवारका अधिकांश सदस्य वैदेशिक रोजगारीमा गएकाले रुपेश एक्लै हरेक दिन २४ घण्टे ड्युटिमा छन्– बिरामी कुरुवाको भूमिकामा ।

‘पानी निकाल्ने–फाल्ने क्रम चलिरहेको छ,’ उनी सुनाउँछन्, ‘सजिलै सास फेर्न सक्ने भएपछि मात्र डिस्चार्ज गर्ने भनिएको छ । अझै कति समय लाग्छ, थाहा छैन ।’

गाउँमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका उनी अस्पतालमा थन्किनुपर्दा निकै चिन्तित छन् । सहकारीबाट ऋण लिएर अस्पताल आएका उनी एक्लै कुरुवा बस्नुपर्दा निकै गलिसकेका छन् ।

‘न सुत्ने बेन्च छ । न मोबाइल चार्ज गर्ने ठाउँ छ । यस्तो ठाउँ बस्नुपर्दा आजित भइसकेँ’, अस्पताल अस्तव्यस्त रहेको बताउँदै अधिकारीले भने ।

दृश्य ४ :

महाराजगञ्ज शिक्षण अस्पताल नजिकै रहेको कान्ति बाल अस्पतालमा कुरुवा बस्नेहरूको पनि समस्या उस्तै छ । आफ्ना साना छोराछोरीका लागि उपचारका लागि आएका बाबुआमाहरू यहाँ विलाप गरिरहेका हुन्छन् ।

जब मानिस निरीह हुन्छ, नजिक भएका देखिने मानिस र अस्तित्वले सघाउँदैन, उल्टो दुःख दिन्छ, तब मानिस नदेखिने भगवानको शरणमा जान्छन् । बिरामीका आफन्तहरू अस्पताल नजिकैको मन्दिरमा गएर छोराछोरीको लागि प्रार्थना गरिरहेका भेटिन्छन् ।

मोरङबाट आएका दिनेश खड्का दम्पत्ति दुई वर्षीय छोराको उपचारको लागि एक सातादेखि कान्ति अस्पतालमा बसिरहेका छन् ।

ज्वरो र खानेकुरा खानेबित्तिकै बान्ता हुने समस्या बढेपछि उनीहरू कान्ति आइपुगेका हुन् । ‘सुरुमा विराटनगरकै अस्पतालमा देखायौं,’ दिनेश भन्छन्– ‘त्यहाँबाट कान्ति नै जाँदा राम्रो हुन्छ भनेपछि त्यही दिन प्लेनबाट यहाँ आयौं ।’

श्रीमान–श्रीमति नै नीजि संस्थामा जागिरे रहेका उनीहरूलाई लामो बिदा मिलाउन मुस्किल छ ।

सबैका साझा कथा

सरकारी अस्पतालहरू वीर, शिक्षण अस्पताल, सिभिल अस्पताल लगायतका बिरामी कुरुवाका समस्या साझा छन् । अवस्था र व्यथा उस्तै छन् । निम्न आय भएका उनीहरू सरकारी अस्पतालको अस्तव्यस्तताबाट आजित छन् ।

समयमा अप्रेसनको मिति पाउन मुस्किल छ । भीआईपीहरू उपचार गर्न विदेश जान्छन् । पहुँच र पैसा भएका निजी र महंगा अस्पतालमा जान्छन् । पहुँच मात्रै भएकाहरूले सरकारी अस्पतालमा पनि पालो मिचेर सुविधा लिइरहेका हुन्छन् ।

तर पैसा र पहुँच दुवै नहुने नागरिकहरू सामान्य फलोअपको लागि पनि महिनौंसम्म पालो कुर्न बाध्य छन् । उनीहरू अस्पताल धाउँदाधाउँदा आजित हुनुपर्छ । कोही होटेलमा कोठा लिएर बस्छन् त कोही उपचारकै लागि काठमाडौंमा डेरा लिएरै बस्न थाल्छन् ।

वीर अस्पतालमा भेटिएका कैलालीका मानसिंह विकले अनलाइनखबरसँग कुरुवाका दुःख बर्खाको वर्षा बर्सिएजस्तै गरी बताइरहे । यस्तो लाग्थ्यो कि– अस्पतालका व्यथाहरू साझा गर्दा उनलाई हल्का महसुस भइरहेको थियो । अस्पतालको लापरबाहीले गर्दा बिरामीको परिवारले पाउने सास्तीको उनले नालीबेली नै बताउन भ्याए ।

‘बीस वर्षअगाडिको वीर अस्पताल र अहिलेको वीर उस्तै छ’ उनले भने, ‘तीन दिनमात्र यहाँ बस्यो भने कुरुवा आफैं बिरामी हुन्छ । पानीदेखि शौचालयसम्म दुषित छ ।’

कुरुवाका लागि सरकारी अस्पतालले कुनै व्यवस्था नगरेकोमा मानसिंह गुनासो गर्दै थिए । आफन्तको लागि धेरैपटक अस्पतालमा कुरुवा बसेका उनी काठमाडौंका सबै सरकारी अस्पतालको हालत उस्तै भएको अनुभव सुनाउँछन् ।

मानसिंहको मात्र होइन, आईसीयू कक्षमा कुरूवा बसेकाहरूको पनि यही मत छ । कुरुवाको समस्याबारे नर्स तथा डाक्टरलाई भन्दा उल्टै खप्की खानुपरेको उनीहरूको अनुभव छ । कुरुवा बस्ने ठाउँमा नियमित सरसफाइ पनि नगरिएको उनीहरूको गुनासो छ ।

वीर र शिक्षण अस्पतालको कुरूवालाई चार्ज गर्ने ठाउँ, खानेपानी, कुर्सी, डस्टबिन जस्ता सामान्य सुविधा पाउन पनि मुस्किल छ ।

बिरामी कुरुवाहरूको अनुभवमा हाम्रा अस्पतालहरू उपचार केन्द्र होइन, यातना गृह हुन्, जहाँ सद्दे मासिन बिरामी भएर घर फर्कनुपर्छ । अस्पतालको व्यवस्थापन अस्तव्यस्त छ भने समन्वय कमजोर छ, जसको मूल्य आफन्त बिरामी भएर मानसिक तनावमा रहेका आफन्तहरूले चुकाउनुपर्छ ।

निर्देशकहरू भन्छन् : बजेट र भवनको अभाव छ

शिक्षण अस्पतालमा निर्देशक डा. दिनेश काफ्ले कुरुवाहरूले समस्या भोग्नुपरेको कुरालाई स्वीकार्दै नयाँ स्वास्थ्य राज्यमन्त्रीसमक्ष यो कुरा राखेको बताउँछन् । डा. काफ्लेका अनुसार कोभिड महामारीले गर्दा अस्पतालको बजेट अपुग भएकाले कुरुवा व्यवस्थापनको लागि बजेट छुट्याउन नसकिएको हो ।

‘हामीले प्रत्येक वार्ड र आइसियूमा फोल्ड गर्न मिल्ने बेन्चीसहितको कुरुवा कक्ष बनाएका छौं,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘सबै वार्डमा सुविधायुक्त बेन्ची, मोबाइल चार्ज गर्ने प्लग, खानेपानी र शौचालयको व्यवस्था गर्ने तयारीमा छौं ।’

यता वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत भने अस्पतालका संरचना बनाइँदा बिरामीलाई मात्रै ख्याल राखेर बनाइने गरेको बताउँछन् ।

‘नयाँ भवनमा भिजिटरको सामान राख्ने लकर राखेका छौं । बेन्चहरू राखेका छौं’ डा. बस्नेतले भने, ‘वीरको पुरानो भवनमा भने यो सुविधा छैन । जसले कुरुवाहरूलाई बस्न अप्ठेरो हुने गुनासो आएको छ ।’

डा. बस्नेतको अनुभवमा सरकारले नीति कार्यक्रमबाटै कुरुवाको लागि संरचना तथा कर्मचारी राख्न सक्यो भने दीर्घकालीन समाधान हुनेछ । नत्र अस्पतालको जनशक्तिले कुरुवा व्यवस्थापन गर्न नसकिने उनी बताउँछन् ।

उनी भन्छन्, ‘कुरुवाकै लागि भनेर कुनै संरचना र कर्मचारी राख्न सकिएको छैन । यसैले समस्या सृजना भएका हो ।’

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?