+
+

भरतमणि भन्छन्- जित्छु भनेरै आएको थिएँ, सपना पूरा भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १२:१५

शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै देशले कमेडीका नयाँ च्याम्पियन पाएको छ । ताप्लेजुङका भरतमणि पौडेलले देशभरबाट ‘कमेडी च्याम्पियन’ जित्ने सपना बोकेर आएका हजारौं प्रतिस्पर्धीलाई पछि पारे ।

विशेषगरी उत्कृष्ट २४ को राउन्ड शुरु भएपछि भरतमणिको चर्चा हुन थालेको थियो । भरतमणिले विभिन्न नेता, कलाकार, भाइरल व्यक्तिहरुको क्यारिकेचर गरेपछि चर्चा कमाएका थिए । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वयूवराज पारस शाह, पुण्य गौतम लगायतको क्यारिकेचर गरेपछि भरत चर्चामा आएका हुन् ।

भरतले २५ लाख नगद र कार पुरस्कार जितेका छन् । यस्तै, फस्टरनर अप भएका सिक्किमका बिक्की अग्रवालले बाइक प्राप्त गरे भने सेकेन्ड रनरअप भएका गोरखाका सन्तोष थापाले स्कुटी पुरस्कार  पाएका छन् ।

उपाधि जितेपछि भरतमणिले भने–‘यो कमेडी क्षेत्रलाई मन पराउने दर्शकको जित हो । फाइनलमा मलाई मात्र होइन बिक्की दाइ र सन्तोषलाई पनि डर थियो नै होला । मैले सक्ने प्रस्तुति दिएको थिएँ । दर्शकले मेरो कर्मलाई राम्रोसँग हेर्नुभएको रहेछ भन्ने लाग्यो ।’

भरतमणिले ‘कमेडी च्याम्पियन’ सकिए पनि जिन्दगीको करिअर नसकिएको भन्दै निरन्तर काम गर्ने वाचा गरे । उपाधि जिते पनि आफू नमात्तिने उनले बताए । भरतमणिले थपे, ‘म सामान्य परिवारबाट यो क्षेत्रमा आएकाले मलाई दुःख र सुखका सबै पलहरुको अनुभव छ । म धेरै खुशी हुँदा मात्तिने र दुःखी हुँदा आत्तिने मानिस होइन । म विजेता बन्छु भनेर नै आएको थिएँ, त्यो पूरा भएको छ ।’

भरतमणिले आफू कमेडी क्षेत्रमा निरन्तर लाग्ने बताए । आफू ‘कमेडी च्याम्पियन’मा नआउँदा पनि यो क्षेत्रमा निरन्तर लागेको र दुःख बुझेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?