+
+

३५ वर्षमा जोडियो सहजपुर–बोगटान–दिपायल सडक

रामहरि ओझा रामहरि ओझा
२०७८ असोज ५ गते १८:३५

५ असोज, डोटी । निर्माण कार्य सुरु भएको ३५ वर्षपछि डोटीको सहजुर–बोगटान–दिपायल सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ ।

२०३८ सालमा सम्पन्न ‘राष्ट्रिय पञ्चायत’को निर्वाचनदेखि चर्चामा आएको उक्त सडकको निर्माण कार्य ०४३ सालदेखि शुरु भएको थियो । बडीकेदार गाउँपालिका–५ को लानाकेदारेश्वरदेखि बोगटान फुड्सिल गाउँपालिका–१ को बिचमा ट्रयाक खोल्न बाँकी रहेको काम आइतबार सम्पन्न भएपछि सहजपुर–बोगटान–दिपायल सडक जोडिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलवहादुर गडसिलाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेपछि बोगटान सडकले पूर्णता पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।

कैलालीको सहजपुरबाट सुरु भएको सडक बिनिगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै राजपुर दिपायल जोडिएको हो । उक्त सडक निर्माण कार्यक्रम अन्तरगत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणको काम समेत भइरहेको कार्यालय प्रमुख खत्रीले बताए ।

२०४८ सालयताका हरेक चुनावमा उम्मेदवारहरुको प्रमुख एजेण्डा यही सडक बन्ने गरेको थियो तर निर्माण कार्यले गति लिएको थिएन ।

सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाख रुपैयाँ लागतमा खड्का कृष्ण, बगलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन । उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडीकेदार र केआईसिंह गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

यस्तो छ सहजपुर–बोगटान–दिपायल सडकको कथा

२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण कार्य सुरु भएको थियो । उक्त सडकको तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरत बहादुर खड्काले शिलान्यास गरेका थिए । तर काम ढिलो गतिमा अगाडि बढ्यो ।

२०४८ सालमा आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सिद्धराज ओझाले यही सडकलाई प्रमुख एजेण्डा बनाए । सडककै नाराले ओझाले ०५१ र ०५६ मा चुनाव जिते । तर निर्माण कार्यले गति लिएन ।

त्यसपछिका निर्वाचनहरुमा यो सडक उम्मेदवारहरुको मुख्य चुनावी एजेण्डा बन्दै गयो । २०६४ साल तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्यमा विजयी उम्मेदवार खेम बमलाई पनि यही सडकको नारा फलिफाप भएको थियो । उनले पनि आफ्नो कार्यकालमा न संविधान लेख्न सके, न त बोगटान सडक निर्माण कार्य नै ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख  पावर बजेट हालेपनि हात्तीको मुखमा जिरा जस्तै भयो ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यो सडक फेरि डोटी क्षेत्र नम्बर २ का उम्मेदवारहरुको साझा र प्रमुख एजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर आलेमगरले यही एजेन्डा उठाएर कार्यकालभर जसरी पनि सडक बनाउने कसम खाए ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि यो सडक चुनावी एजेन्डा बन्यो । तत्कालीन वाम गठबन्धनका उम्मेदवारहरूले यही एजेन्डा उठाए । प्रतिनिधिसभामा विजयी आलेमगर संघका मन्त्री भए भने प्रदेश सभा ‘ख’ मा विजयी उम्मेदवार त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भए ।

सहजपुरबाट निर्माण कार्य सुरु भएको सडकले गति नलिएपछि २०५६ सालतिर दातृ निकायहरुको लगानीमा दिपायल राजपुरबाट उक्त सडक निर्माण कार्य प्रारम्भ भयो । हाल दिपायलदेखि रानागाउँसम्म करिब १० किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिसकेको छ ।

उता सहजपुरबाट बोगटानको अत्तरकाँडासम्मको ५२ किलोमिटर सडक संघीय सरकारको बजेटबाट कालोपत्रे भइरहेको छ । उक्त सडक कालोपत्रे कार्यको २०७५ साल फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?