+
+

चुरोट पिउनेलाईमात्र होइन साथमा बस्नेलाई पनि गम्भीर असर गर्छ: डा. बम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १९:१०

हामीलाई धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ र यसले मान्छेको फोक्सोेमा असर गर्छ भन्ने धेरैले सिकाउने गर्छन् । तर चुरोट खानेको छउछाउ समेत पर्नुहुँदैन भनेर कसैले पनि सिकाउँदैन । सार्वजनिक स्थानमा चुरोट तान्न कानुनी रुपमा प्रतिबन्ध छ, तर यो नियम पनि पूर्ण रुपमा पालना हुँदैन । कोही मान्छे आफू चुरोट खाँदैन तर चुरोट खानेबेलामा अरुसँगै हुन्छ भने ऊ आफैँमा जोखिममा हुने गरेको चिकित्सकहरु बताउँछन् ।

चुरोट खाने मान्छेमा चुरोटमा हुने निकोटिनले सिधै फोक्सोमा असर गर्छ । तर चुरोट नखाने भए पनि चुरोट खानेसँगै बस्ने मान्छेहरुमा यसले बिस्तारै उस्तै खाले असरहरु गर्दै जाने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

दक्षिणी न्युजिल्याण्डको डिपार्टमेन्ट अफ पब्लिक हेल्थ, वेलिङटन स्कुल अफ मेडिसिनले सन् २००१ मा गरेको अध्ययनले प्रतिवर्ष ३४७ जनाको मृत्यु चुरोट नखाने तर चुरोट खानेसँग नजिक बसेका कारणले भएको पाइएको छ । रिपोर्टमा यो पनि लेखिएको छ कि यदि उनीहरुमध्ये ३२५ जनाको मृत्यु चुरोटको छेउमा मात्रै नबसेको भए पनि रोकिन सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै, २०१४ मा अमेरिकामा भएको एक अध्ययनअनुसार घर तथा कार्यालयमा अर्काले खाएको चुरोटका कारण २५–३० प्रतिशतमा मुटुको रोग हुने सम्भावना देखाएको थियो ।

त्यसको ठीक ३ वर्षपछि सन् २०१७ सालमा अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले गरेको अध्ययन अनुसार प्यासिभ स्मोकिङको कारणले वार्षिक ८००० भन्दा धेरैको ज्यान जाने गरेको देखाएको छ । त्यस्तै, सोही अध्ययनले वार्षिक ७३०० जनामा भने फोक्सोको क्यान्सरका कारण मृत्यु भएको देखाएको छ, मृत्युहरु जुन चुरोट नपिउनेहरु थिए ।

२०५२ सालदेखि २०६१ सालसम्म राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक बनिसकेका डा. दीर्घसिंह बम प्यासिभ स्मोकिङले पनि मान्छेमा गम्भीर समस्या निम्त्याउने बताउँछन् । अर्काे व्यक्तिले तानेको चुरोटले दोस्रो व्यक्तिलाई असर गर्छ भने त्यसलाई प्यासिभ स्मोकिङ भनिन्छ ।

कुनै पनि मान्छेले चुरोट तान्दा उसलाई जति असर हुन्छ, त्यसको ५० प्रतिशत असर एउटै कोठामा बसेका अरुलाई पर्ने बम बताउँछन् । जस्तो समस्या चुरोट पिउनेमा हुन्छ, त्यस्तै समस्या चुरोट तान्ने व्यक्तिको नजिक बस्नेलाई पनि हुन्छ, कुरा यत्ति हो कि चुरोट पिउनेलाई सिधा असर पर्छ, सँगै बस्नेलाई बिस्तारै यसको असर देखिन्छ ।

बम भन्छन् ‘म चुरोट खाँदिन भनेर मात्रै पनि हुँदैन, चुरोट खानेको साथमा बस्नेलाई पनि उत्तिकै असर पर्छ । त्यसैले म चुरोट खान्न भन्ने मात्रै होइन कि मेरो छेउमा चुरोट खान दिन्न समेत भन्न सक्नुपर्छ ।’

चुरोट खानेमा देखिने समस्याहरु

चुरोट खानेको फोक्सोमा धुवाँले असर गर्छ । जसले खोकी लाग्ने, दम, ब्रोङ्काइटिस, रोस, चार्काेलेसिस जस्ता समस्या हुन सक्छ । शरीरमा निकोटिनको मात्रा बढी हुँदा दम तथा क्यान्सरको समस्या हुन सक्छ । अत्यधिक चुरोटले इम्युनिटी पावर कम हुन्छ । साथै, छातीसँग सम्बन्धित विभिन्न रोग पनि लाग्छ ।

त्यस्तै, चुरोट खाएको मान्छेसँगै बस्नेहरुको रगतमा हुने प्लाटेलेट्सलाई च्यापच्याप लाग्ने बनाइदिन्छ । यसले रक्तनलीको भित्री भित्तालाई कमजोर बनाइदिन्छ । यसले रगतको प्रवाहलाई सुस्त बनाइदिने, मुटुको धड्कन सुस्त बनाउने जस्ता समस्या हुन्छ । धेरै समय चुरोटको धुवाँ नजिक बस्ने मान्छेमा निमोनिया, घाउहरु लाग्दा ढिलो निको हुने, नपुंसकता जस्तो समस्याहरु देखिन सक्छ ।

चुरोट खान छाडेकामा कस्तो जोखिम ?

जुन मान्छेले पहिले नियमित चुरोट पिउँथ्यो तर अहिले खान छाडेको छ, उसमा फोक्सोको जोखिम कति हुन्छ ? डा. बम भन्छन् ‘पहिले खाने गरेको थियो भने यसले जोखिम बढाउँछ । छोटो समय मात्रै चुरोट खाने गरेको हो भने त्यस्तो समस्या नरहन सक्छ । तर सानोमा धेरै समय खाने गरेको हो भने जोखिम उस्तै रहन्छ । खाने, छाड्ने, खाने छाड्ने गर्ने हो भने यसले झनै फोक्सोमा जोखिम बढाउँछ ।’

मास्क लगाउने चलनले फोक्सोको सुरक्षा कति भएको छ ?

कोरोना महामारीका कारण मास्क लगाउने चलन बढेको छ । यसले कोरोनालाई मात्रै होइन, धुलो धुवाँ पनि कम भएको छ । यस्तो अवस्थामा फोक्सोका बिरामी घटेका छन् त ? बम भन्छन् ‘मास्कले धुलो धुवाँ रोक्दा यसले अवश्यै पनि फोक्सोमा समस्या कम गराउँछ । कोरोना नियन्त्रणको लागि भनेर मास्क लगाउने चलनले पनि मान्छेको फोक्सोको सुरक्षामा भने धेरै सहयोग पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?