+
+
अफगान बालबालिकाको कथा :

गुलपरी सोध्छिन्- बाबा कहिले आउनुहुन्छ ?

कार्या नज बाल्किज कार्या नज बाल्किज
२०७८ असोज ८ गते ६:५४
शरणार्थी शिविरमा बसेको अफगानिस्तानको एक परिवार

८ असोज, काठमाडौं । दशकौंदेखि जारी युद्ध र अशान्ति/उथलपुथलले अफगानी बालबालिकाहरू दीर्घकालीन मानसिक  समस्याको जोखिममा परेका छन् ।

गुलपरी पाँच वर्षकी हुन लागिन् । उनी अफगानिस्तानको सानो शहरमा बस्छिन् । कुनै-कुनै रात उनी आनन्दले सुत्न पाउँछिन् भने कुनै-कुनै रात त्यति आनन्दमय हुँदैनन् । अशान्त रातमा उनी रुँदै उठ्छिन् र सहजताका लागि आफ्ना साना हातले आमालाई समात्दै काखमा बस्छिन् ।

उनले आफ्नी आमा जाहरालाई सोध्छिन्- ‘बाबा कहिले आउनुहुन्छ नि ? युद्ध सकिएन र ?’ नराम्रो सपना वा अकस्मात्  मनमा आएको भावनामध्ये केले गर्दा आफू ब्युँझिएँ भन्न सक्दिनन् । तर धेरैजसो रात उनी रुन्छिन् र यस्तै-यस्तै प्रश्न सोध्छिन् ।

एक महिनाअघिसम्म गुलपरीले कहिले युद्ध सकिन्छ भनेर सोध्ने गर्थिन् । युद्ध समाप्त भएपछि सबैकुरा ठीकठाक हुन्छ भन्ने उनलाई लागेको छ । तर उनले आफूहरूको कठिनाइ अझै सकिएको छैन भन्ने यथार्थलाई सामना गरिरहेकी छन् ।

गुलपरीको नियति अन्य अफगान बालबालिकाको जस्तै छ । उनीहरू त्यो मुलुकका बालबालिका हुन् जसले ४ दशकदेखि द्वन्द्व, युद्ध र अशान्तिको पीडा भोगिरहेको छ । उनीहरूका बाबुआमाले समेत यस्तै पीडा देखेर हुर्केका थिए ।

गुलपरीका बाबु अहमद आफ्नो मुलुक र प्रियजनहरू छोड्न बाध्य भएका अफगानीमध्ये पर्छन् । जाहरासँग बिहे भएलगत्तै अहमदले अफगानिस्तान छोड्नु पर्‍यो र काम खोज्दै टर्की पुगे । घर नछोडेको भए उनी कि सेनामा भर्ती हुनुपर्ने कि तालिबानसँग आबद्ध हुनुपर्ने अवस्था थियो ।

‘घरमै बसेर परिवार पाल्ने/हेरचाह गर्ने कुनै बाटो थिएन’, अहमदले भने, ‘उनीहरूसँग आयआर्जनको कुनै स्रोत थिएन ।’ उनले आफूले कमाएको पैसा आफूसँग राख्दैनन्, सबै पैसा घर/परिवारलाई पठाइदिन्छन् । अफगानिस्तानमा जारी अवस्थाका कारण अहमद र गुलपरीले एकअर्कालाई अहिलेसम्म प्रत्यक्ष देखेका छैनन् ।

अफगानिस्तानका स्कुले बालकहरु

अहमद सन् १९९७ मा जन्मेका हुन् । त्यतिबेला उनी बस्ने क्षेत्र तालिबानको नियन्त्रणमा थियो । उनी अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा छोरीको उमेरका भइसकेका थिए । ‘एक बिहान हामीहरू उठेर बाहिर आउँदा सडकभर तालिबानको सट्टा लाश मात्रै देख्यौं’, टेलिफोनमा टिआरटीसँग कुरा गर्दै उनले भने ।

अहमदको गाउँमा कुनै द्वन्द्व थिएन तर वरपरका गाउँ-बस्तीमा भएको लडाइँ सम्झदै उनी भन्छन्, ‘हाम्रो गाउँमाथि जहाज उडिरहन्थे । हरेक पटक जहाज उड्दा हामीहरू डराउँथ्यौं । बाहिर खेल्न जाँदा म र मेरा साथीहरूले रगत जमेको र लाशहरू देख्थ्यौं ।’

बाल्यकालबारे कुरा गरिँरहँदा अहमद एकछिन रोक्किए । उनी अकमक्क परे र केही पनि भन्न सकेनन् । उनका आँखा रसाइरहेका थिए र उनको अनुहारमा अझै पनि पीडा झल्किन्थ्यो ।

‘मेरो देश सँधैभरी द्वन्द्वबाट पीडित भयो । अमेरिकीहरू आएपछि उनीहरूले हामीलाई लोकतन्त्र, स्वतन्त्रता, समानता र सबैका लागि शिक्षाको बाचा गरे । तर उनीहरू अहिले कहाँ छन् ? उनीहरूले गरेका बाचा खोई ?’

अहमद गरिबीमा हुर्केका थिए । सानै उमेरदेखि काम गर्न थालेकाले उनी विद्यालय गएनन् । ‘मैले भोगेको जस्तै अवस्थामा मेरी छोरो हुर्किइरहेको देख्दा पीडा हुन्छ’, उनले भने ।

युद्धबाट क्षतविक्षत मुलुकका बालबालिकाहरू मानसिक समस्याबाट ग्रसित हुने सम्भावना बढी हुन्छ । अफगानिस्तानका बालबालिकाले (अन्य बालबालिकाको भन्दा) निकै ठूलो मात्रामा गरिबी, कुपोषण, हिंसा र मृत्यु निरन्तर देखिरहेका वा भोगिरहेका छन् ।

अफगान बालबालिकाका लागि द्वन्द्व र युद्ध दैनिक जीवनको अंग बनिरहेको छ । उनीहरू निरन्तर, अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा युद्ध भोगेका थिए र उनीहरूलाई मृतक वा घाइते मानिसबारे थाहा छ । उनीहरूमध्ये अधिकांश (जस्तै- अहमद) बालबालिकाहरू आफ्नै आँखाअगाडि भएको लडाइँ देख्दै हुर्के र अर्को युद्धमा आफू मरिने हो कि भन्ने त्रासबीच बाँचे ।

अफगानिस्तानको राजधानी काबुलमा तालिबानले आक्रमण गरेपछि ध्वस्त भएका भवन

बालबालिकामा देखिने विभिन्न खाले मानसिक समस्याको मुख्य कारकमा आघातको अवधिसहित आघात निम्त्याउने घटनाको संख्या एवं प्रकृति पर्छन् । लामो समयसम्म र निरन्तर रूपले आघात भोगेका बालबालिकाहरू मानसिक स्वास्थ्यसम्बन्धी समस्याको जोखिममा हुन्छन् । साथै, सिधै आक्रमण भोगेका र आफ्ना प्रियजन गुमाएका बालबालिका समेत यस्तो जोखिममा हुन्छन् ।

विस्थापित बालबालिका र त्यसमा पनि विशेषगरी शरणार्थी बालबालिकाहरू मनोवैज्ञानिक समस्याबाट गुज्रिने जोखिम बढी हुन्छ । स्वदेशमा भोगेको आघात बाहेक, उनीहरूले यात्राका क्रममा र  गन्तव्य स्थलमा थप जोखिमपूर्ण अवस्था सामना गर्छन् । विस्थापित बालबालिकामध्ये साथमा कोही नभएका र आफ्ना संरक्षक/अभिभावकबाट बिछोडिएका बालबालिकाहरू थप जोखिममा हुन्छन् ।

सुरक्षित स्थानतर्फको यात्रा प्राय: चुनौतीपूर्ण र खतरनाक हुने गर्छ । यात्राका क्रममा कैयौं बालबालिकाहरू आफ्ना संरक्षकबाट टाढिने/बिछोडिने गर्छन् । नयाँ सुरक्षित स्थानका बाबजुद पनि आफ्नै देशभित्रको गन्तव्य स्थल वा शरण दिने गन्तव्य मुलुकमा बसोबासको प्रक्रिया कठिन हुन सक्छ । विस्थापित बालबालिकाहरू नितान्त नयाँ वातावरणमा आफूलाई पाउँछन् र सो वातावरणमा उनीहरू विशेषगरी शरणार्थीको रूपमा घुलमेल/अनुकूलन हुनुपर्छ । साथै, उनीहरूले बहिष्करण र विभेद जस्ता नयाँ जोखिम सामना गर्नुपर्ने हुन सक्छ ।

गाँठैगाँठामा अल्झिएको जीवन

पाँच वर्षको उमेरमै एउटा गोलीले के गर्न सक्छ भनेर गुलपरीलाई थाहा छ । उनलाई एउटा बमले सारा परिवार मारिन्छन् भन्ने थाहा छ । उनले आमाको आँखामा देखिने त्रास र चिन्ता देखेर आफ्नो परिवार कठिनाइबाट गुज्रिरहेको भन्ने बुझ्न सक्छिन् ।

द्वन्द्वग्रस्त मुलुकका बालबालिकामा पोष्ट ट्रमाटिक स्टेस डिसअर्डर (पीटीएसडी), एन्जाइटी डिसअर्डर, डिप्रेशन र अन्य कैयौं मानसिक समस्याका लक्षण सुरक्षित मुलुकका बालबालिकाको तुलनामा बढी देखिन्छन् । एकभन्दा बढी मानसिक समस्याका लक्षण देखिने कैयौं बालबालिकामा सहरूग्णता (comorbidity) समेत सामान्य बन्दै गरिरहेको छ ।

यसबाहेक, जीवनका विभिन्न चरणमा बारम्बार एउटै लक्षणका लागि हुने अध्ययन (longitudinal studies) ले बालबालिकामा यी मानसिक समस्या लामो समयसम्म रहिरहन सक्छन् र यसले अन्य मनोवैज्ञानिक समस्याको जोखिम बढाउँछ भनेर देखाउँछन् ।

कुनै पनि द्वन्द्वग्रस्त मुलुकका प्राय: सबै मानिसमा मानसिक समस्या देखिन्छ । तर अरुमाथि भर पर्नुपर्ने र वरपर भइरहेका घटना बुझ्न नसक्ने भएकाले बालबालिकाहरू बढी जोखिममा हुन्छन् ।

विशिष्ट अवस्थामा मात्रै बालबालिकाको विकास स्वस्थ रूपले हुने गर्छ जबकि वयस्कका हकमा यो लागू नहुन सक्छ । महत्वपूर्ण र संवेदनशील मानिने जीवनका निश्चित क्षणहरूमा भोगिने आघातका कारण पछिसम्म पनि मानसिक स्थास्थ्यमा आघातको असर गम्भीर हुन सक्छ । साथै, स्वस्थ विकासका लागि बालबालिकालाई परिपूर्ण/समृद्ध वातावरण चाहिने (बालविकास सम्बन्धी) मनोवैज्ञानिकहरू बताउँछन् ।

यसको अर्थ बालबालिकालाई निश्चित मात्रा र गुणस्तरको वातावरणीय प्रोत्साहन चाहिन्छ भन्ने हो । अभिभावकसँगको अन्तर्क्रिया र उनीको सजगताबाट यस्तो वातावरण निर्माण गर्न सकिन्छ । तर द्वन्द्वग्रस्त मुलुकका संरक्षकहरूले समेत मानसिक समस्या भोग्ने सम्भावनाका कारण बालबालिकाहरूले यस्तो वातावरण पाइरहेका हुँदैनन् ।

त्यस्तै, खेलौना र साथीभाइको उपस्थितिसहित रमाइलोसँग खेल्ने समय चाहिन्छ । तर द्वन्द्व र गरिबीमा बाँच्ने बालबालिकाले यस्तो वातावरण बिरलै पाउँछन् ।

अफगानिस्तानका कैयौं बालबालिकाहरू देशभित्रको अशान्ति र हिंसाका कारण उपयुक्त वातावरणबिनै हुर्किरहेका छन् । उनीहरूको अधिकतम शारीरिक एवं मनोवैज्ञानिक विकासका लागि समृद्ध वातावरण चाहिन्छ । तर स्वदेशमा र शरणार्थीको रूपमा यस्तो वातावरण पाउन कठिन छ ।

अफगानी बालबालिकाहरूलाई मानसिक स्वास्थ्य सहायताको निकै खाँचो देखिन्छ । तर बालबालिकाको समग्र मानसिक स्वास्थ्य सुधारका लागि भइरहेका कामहरू न्यून भएकाले अपर्याप्त छन् ।

बालबालिकाले मनोवैज्ञानिक सहायता प्राप्त गर्ने महत्वपूर्ण स्थान विद्यालय पनि हो । साथीभाइसँग खेल्ने, समाजको सक्षम सदस्य बन्ने र निरन्तर सामाजिक सहायता प्राप्त हुने स्थान भएकाले व्यवस्थित मानसिक स्वास्थ्य कार्यक्रम नहुँदा समेत विद्यालयले बालबालिकालाई आघात सामना गर्न मद्दत गर्छ । तर यतिबेला गुलपरी जस्ता अफगान बालिकाका लागि विद्यालय जाने कुरा कल्पनाभन्दा बाहिरको हो ।

गुलपरीले कठिनाइ सामना गरिरहेकी छन् तर उनी भाग्यमानी बालिकामध्ये पर्छिन् । उनको परिवार जीवितै र सकुशल छ । उनीसँग खेल्ने साथी र खेलौना छन् । उनी हिंसाको शिकार बनिनन् । उनले लडाइँ देख्न परेन । र विस्थापित हुन परेन । तर सबै अफगान बालबालिकाको हकमा यस्तो देखिँदैन ।

अफगानिस्तानको हेरातस्थित संरक्षण शिविरमा बालबालिका

जाहराका अनुसार अहिले उनीहरूले पहिला देखे जस्तो कुनै द्वन्द्व छैन तर उनीहरूलाई अन्य चिन्ताले सताइरहेका छन् । अर्थतन्त्र झन-झन खराब हुँदै गइरहेको छ र उनीहरूलाई दैनिक चाहिने खाद्यान्न किन्नै नसकिने गरी महङ्गो हुँदै गएको छ । तालिबान शासनपछिको अनिश्चित भविष्यले समेत पिरोलिरहेको छ । ‘यहाँको जीवन झन कठिन बनिरहेको छ’, जाहराले भनिन्, ‘बालबालिकादेखि बुढापाका सबै चिन्तित छन् ।’

सानै उमेर भएपनि पाँच वर्षिया गुलपरीले अन्य बालबालिकाझैं आफ्नी आमाको मानसिक अवस्थालाई महसुस गर्न सक्छिन् । आफू वरपर भइरहेका घटनाबारे पूरा थाहा नभएको अवस्थामा समेत बालबालिकाहरूले आफ्ना संरक्षकलाई हेरेर आघातको असर अनुभूति गर्न सक्छन् ।

‘मैले साथी र परिवारका सदस्यसँग हाम्रो मुलुकभित्रको कठिनाइबारे कुरा गर्दा उसले सुन्छे’, जाहराले भनिन्, ‘वास्तविकताबाट टाढै राख्न खोजे पनि/कुरा लुकाउन खोजे पनि के भइरहेको छ भनेर उसलाई थाहा छ ।’

पाँच वर्षको उमेरमै एउटा गोलीले के गर्न सक्छ भनेर गुलपरीलाई थाहा छ । उनलाई एउटा बमले सारा परिवार मारिन्छन् भन्ने थाहा छ । उनले आमाको आँखामा देखिने त्रास र चिन्ता देखेर आफ्नो परिवार कठिनाइबाट गुज्रिरहेको भन्ने बुझ्न सक्छिन् ।

गुलपरीले सुत्नुअघि मोबाइलमा भिडियो कल गरेको हरेक रातपछि अहमदको मनमा उही कुरा उठ्ने गर्छ- ‘यति ठूलो बोझबीच कुनै पनि बालबालिका बाँच्नु राम्रो होइन ।’

(टिआरटी वर्ल्डमा प्रकाशित कार्या नज बाल्किजको आलेखको भावानुवाद)    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?