+
+

दशैं बोलाउने देवी नाच

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १६:३२

काठमाडौं । शुक्रबार किलागलको डबलीमा अन्तिम नाच नचाएसँगै इन्द्रजात्राको महत्वपूर्ण देवी नाच यो वर्षका लागि सम्पन्न भएको छ ।

भैरव(बद्री डंगोल), चण्डी(बाबुराजा महर्जन), कुमारी (गरिबनाथ महर्जन)ले यस वर्ष पनि नानीचायाको दिन किलागलको डबलीमा नाच्नको लागि पखः चा फूलको खोजी गरे । नानीचायाको दिन नाच्ने नाचको लागि पंख फूल र पक: चा फूल मुकुटमा अनिवार्य सजाउनु पर्ने परम्परा हो । योसँगै सात किसिमको रंगको अरु फूल पनि मुकुटमा सजाउने गरिन्छ । तर अहिले पखः चा फूल मुकुटमा सजिन छाडेको छ । यो साल पनि डंगोल र महर्जनद्वयले पख: चा विना नै देवी नाच नाचे ।

दशैं बोलाउने देवी नाच

विधिवत् रुपमा त करिब २ महिनाअघिबाट यो नाच सुरु हुन्छ । इन्द्रजात्राको अन्तिम दिन अर्थात् शुक्रबार यो नाच सम्पन्न भएको छ ।

देवीनाचको सुरुवात श्रावण शुक्ल चौथीबाटै गरिन्छ । साउनदेखि इन्द्रजात्राको अन्तिम दिनसम्म आइपुग्दा यो पूजा ऐतिहासिक काठमाडौंको विभिन्न ठाउँमा देखाउने गरिन्छ । भाद्र शुक्ल चौथीको दिन भंगलासी पूजा गरेर किलागलको विज्यापू ननीमा नचाइन्छ ।

किलागः सांस्कृतिक बस्ती निर्माण अभियानका संयोजक नरेन्द्र महर्जनका अनुसार काया अष्टमीको दिन किलागलको डबलीमा नाचिने नाचसँगै इन्द्रजात्रा र दशैं सुरु हुन्छ भन्ने नेवारी समुदायमा विश्वास छ ।

देवी नाच इन्द्रजात्रामा नाचिने सबै नाचहरुमध्ये फरक र विशिष्ट नाच हो । इन्द्रजात्राको अरु सबै नाचमा दानवी शक्तिलाई दैवी शक्तिले मारेको देखाइन्छ, तर यो नाचमा केवल भगाइन्छ मार्ने गरिँदैन । महर्जन भन्छन् ‘यो नाचमा कुनै काटमार र बलि चढाउने चलन छैन । त्यसैले यो अन्य नाचभन्दा फरक छ ।’

यो नाचको ७ अंकसँग अनौंठो सम्बन्ध छ । यो नाचमा ७ रंगको फूल अनिवार्य हुन्छ । त्यसमध्ये पनि पंखा स्वा(फूल) र पक: चा फूल यो नाचको लागि अनिवार्य मानिन्थ्यो । तर अहिले पंखा फूल मात्रै पाइन्छ । यो नाच नाच्दा ७ थरीको बाजा बज्ने गर्छ । यसमा सात जना पात्रहरु हुन्छन् । सात जना पात्रलाई सातै जना प्रशिक्षकले सिकाउने गर्छन् ।

देवी नाचमा कला प्रस्तुत गर्दै कलाकारहरू

यो नाच काठमाडौंका विभिन्न ठाउँमा गरी ७ वटा डबलीमा नचाइन्छ । कुल ७ दिन लगाएर यो नाच नचाउने गरिन्छ । साथै, पूरा प्रक्रिया पूरा गर्ने हो भने यो सात घण्टासम्म नाच्ने गरिन्छ ।

यो नाच नाच्ने बेलामा गाइने गीतमा गुणकामदेवले यसको सुरुवात गरेको भन्ने वाक्यांश रहेकोले यो नाच लिच्छविकालमा सुरुवात भएको हुन सक्ने अनुमान गर्छन्, महर्जन ।

मुकुटमा सजाउने पंखा फूल सजाएर मुकुट बनाइँदै

काया अष्टमीदेखि नाचिने नाचहरु

काया अष्टमीको दिनदेखि औपचारिक रुपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ । यो दिन देवी नाच किलागलको डबलीमा नाच्ने गरिन्छ । इन्द्र जात्राको शुभारम्भको दिन लिंगो उठाउने बेलामा कागेश्वरी मन्दिरसँगै देवी नाच नचाउने गरिन्छ ।

इन्द्र जात्राको ए याँ जात्राको दिन घुँ घ डबलीमा यो नाच नचाउने गरिन्छ । थः ने याःको दिन थाः मरुको डबलीमा यो नाच नाचिन्छ ।

सोही दिन थः मरुबाट कुमारी रथ तानिसकेपछि ओं हःको डबलीमा अर्काे नाच नाचिन्छ । किलागलको डबलीमा अन्तिम नाच नाचेसँगै इन्द्रजात्राको मुख्य नाच मानिने देवी नाचको विधिवत् समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?