+
+
फोटो फिचर :

श्वेता खड्का : रोजे जस्तो हुन्न जीवन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १९:४५

पीडाहरु बटुलेर, रोई रहुँ जस्तो लाग्छ
खुसीहरु समेटेर, हाँसी रहुँ जस्तो लाग्छ
आँशु-आँशु हुन्न जीवन
खुसी-खुसी हुन्न जीवन
भेट्यो जस्तै उस्तै हुन्छ,
सोचे जस्तो हुन्न जीवन

श्वेता खड्का के बन्न चाहन्थिन् ? अतीतलाई फर्केर हेर्दा उनलाई यही प्रश्नले विथोल्छ । बुवा भन्थे, ‘आर्मी अफिसर बन्नुपर्छ ।’ उनले आफ्नै मनलाई सोधिन् । र, जवाफ त्यही पाइन् । अर्थात् आर्मी अफिसर ।

तगडा थिइन् । निर्भीक थिइन् । जुझारु थिइन् । अनि जिद्दी पनि ।

फुटबलमा रुचि राख्थिन् । तेक्वान्दो सिक्थिन् । भलिबल खेल्थिन् । ‘ब्वाईज कट’ कपाल । त्यसमाथि केटाकै जस्तो पहिरन शैली । स्वभाव र रुपरंगले संकेत गर्थ्याे, तिम्रो भविष्य फौजीमा छ । अर्कोतिर बुवा ब्रिटिश आर्मी । श्वेता आर्मी बन्ने दौडमा लागिन् । दौड, हेभिङ, सेटअपसँगै उनको दैनिकी शुरु हुन्थ्यो ।

तर, श्वेता आर्मी बनिनन् ।

उमेरको रंग चढ्दै गएपछि दौंतरीहरु भन्ने गर्थे, ‘यो त हिरोइन जस्तै छे ।’ अभिनेत्री मिथिला शर्मा साख्खै फुपू । पनौती, खोपासी टोलबाट फुपूको घर (काठमाडौं) आउजाउ भइरहने । मिथिला भन्थिन्, ‘यसको त आँखा कति राम्रो, हिरोइन बन्छे होला ।’

अन्ततः समयले उनलाई त्यही मोडमा उभ्याइदियो, जसमा उनको कुनै सपना थिएन । उनी हिरोइन बनिन् । त्यो एक अनपेक्षित घटना थियो ।

घटना यस्तो थियो ।

आर्मी बन्नकै लागि उनी दौडन्थिन्, व्यायाम गर्थिन् । एकदिन फुपू मिथिला शर्माले भनिन्, ‘फिटनेशका लागि किन दशथरी गर्नुपर्‍यो, नृत्य गर ।’ नृत्यले शरीरको समूचित व्यायाम हुन्छ भन्ने उनको बुझाइ रहेछ । फुपूकै सुझाव शिरोपर गर्दै उनी नृत्य सिक्न गइन् ।

उनी जुन इन्स्टिच्युटमा नृत्य प्रशिक्षणको लागि भर्ना भइन्, त्यो बसन्त श्रेष्ठको थियो । उनी नृत्य सिक्न थालिन् । तर, नृत्यांगना बन्न होइन बरु शारीरिक फिटनेशका लागि । किनकि भविष्यमा आर्मी जो बन्नुछ ।

अनायासै हिरोइन

एकदिन फोन आयो, बसन्त श्रेष्ठको । त्यसदिन घरमा सत्यनारायणको पूजा थियो । उनी घरमै बसेकी थिइन् । बसन्त श्रेष्ठले उनलाई ‘इन्स्टिच्युटमा आउनु, एकछिन काम छ’ भने ।

उनी इन्स्टिच्युट पुगिन् । त्यहाँ अभिनेता श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीसँग उनको साक्षात्कार भयो । टेलिभिजन र सिनेमाको पर्दामा मात्र देखिएका अनुहार प्रत्यक्ष देख्दा उनी केही नर्भस भइन् ।

उनीहरु नयाँ सिनेमाका लागि हिरोइनको खोजीमा रहेछन् । फिल्म थियो, कहाँ भेटिएला ।

घरमा उनले परिवारजनलाई सुनाइन्, ‘मलाई हिरोइनको लागि अफर आएको छ ।’ तर, कसैले पत्याए पो ! न त छोरीलाई हिरोइन बनेको हेर्न चाहन्थे बुवाआमा ।

किनभने उनीहरु त छोरीको भविष्य सुनिश्चित गरिदिन चाहन्थे । छोरीलाई सेकेन्ड लेफि्टनेन्ट बनाउन चाहन्थे ।

तर, श्वेताले बाटो मोडिन् । उनी हिरोइन बनिन् । चलचित्र बन्यो । धुमधामका साथ चल्यो । श्वेताको चर्चा चुलियो ।

रोजे जस्तो हुन्न जीवन

एकातिर फिल्मी करियरको सुखद सुरुवात भइसकेको थियो भने अर्कोतिर प्रेम-भावना पनि अंकुराउँदै थियो । पहिलो फिल्मपछि अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको प्रेमको बीजारोपण भइसकेको थियो ।

अन्ततः लामो प्रेम-सम्बन्धलाई उनीहरुले विवाहमा रुपान्तरण गरे । अब उनीहरु आफ्नो छुट्टै पारिवारिक रचना गर्दै थिए । तर, यो सुखमय क्षण आउन पाएन । श्रीकृष्ण श्रेष्ठको निधन भयो ।

यसबेलासम्म उनीहरुले ‘कोहिनुर’ फिल्म निर्माण गरिसकेका थिए । यो फिल्म ब्लकबस्टर रह्यो । जबकि यो खुसी साट्नका लागि श्वेतासँग श्रीकृष्ण थिएनन् । बरु, उनको जीवनमा भयानक तूफान मडारिंदै थियो ।

उनको जीवनमा अँध्यारो छाउदै थियो ।

पीडाहरु बटुलेर, रोइरहुँ जस्तो लाग्छ

विवाहपछि उनीहरुले कुनै सुखद पल साट्न पाएनन् । आखिर पारिवारिक जीवनको सुरुवात हुन नपाई उनको सिउँदो पुछियो । अब श्वेताको भागमा दुःखै दुःख थियो । उनी शिथिल थिइन् । कमजोर थिइन् । भोक थिएन, निद्रा थिएन । मनमा चैन थिएन ।

अन्ततः उनको शरीर पनि गल्न थाल्यो । पाठेघरमा फंगस यिस्टको समस्या भयो । त्यसको उपचार नसक्दै अर्को रोग थपियो, बोन टिबी । श्रीकृष्णलाई बोन क्यान्सर भएको थियो । श्वेताले आफूलाई पनि त्यस्तै भएको हो कि भनी शंका गरे । यस्तै पीर र चिन्ताहरुले उनलाई डिप्रेसनको रोगी बनायो ।

अनेकथरी रोगले एकमुष्ट च्यापेपछि उनलाई बाँच्ने रहर लाग्न छाड्यो ।

खुसीहरु समेट्दै

दुःखहरु छिचोल्दै उनी जाग्न खोजिन, बाँच्न खोजिन् । हाँस्ने बहाना खोजिन्, रमाउने चाहना गरिन् । आखिर ती तमाम पीडाहरुलाई जितेर उनले नयाँ जीवन बाँच्ने प्रण गरिन् । र, रमझम, साथीभाइ, भेटघाटमा आफूलाई व्यस्त बनाइन् ।

आफ्नै पीडा समेटेर सिनेमा बनाइन्, कान्छी । त्यससँगै उनले व्यापार-व्यवासायमा आफूलाई लगाइन् । यस कामले उनलाई विगतका पीडाहरुबाट मुक्त गराउँदै लग्यो । उनले सोचिन्, जीवन अझै बाँकी छ । दुःखहरु सहनुपर्छ, सुखका दिनले पर्खिरहेका हुन्छन् । उनलाई यस्तै लाग्यो ।

पहिरन : रोजिना श्रेष्ठ, कायरा बुटिक
फोटो : महेश प्रधान
लोकेसन : होटल हुकुम दरबार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?