+
+

बुढ्यौलीमा अक्षर चिन्दै ज्येष्ठ नागरिक

रासस रासस
२०७८ असोज ९ गते १८:००

९ असोज, दमौली । तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नामसमेत लेख्न जान्थिनन् । नाम लेख्नपरे अरूको सहारा लिनुपर्थ्यो । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । तर गत वर्षदेखि उनले आफ्नो नाम आफैँ लेख्न सक्ने भएकी हुन् ।

रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासले सञ्चालन गरेको सिकाइको उमेर हुँदैन अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएकी हुन् । चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिएकी उनले भनिन्, ‘पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।’

सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्छिन् । क्लबले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताइन् । ‘उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भए पनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ’  श्रेष्ठले भनिन् ।

इनरह्विल क्लब अफ दमौलीकी पूर्वअध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ देखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित भएकी छन् । ‘फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ’ उनले भनिन् ।

क्लबले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यो बेला दश जनाले सहभागिता जनाएका थिए । यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट्रयाक्ट क्लब वेदव्यासकी पूर्वअध्यक्ष सञ्जु घलेले जानकारी दिइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?