+
+

रुपन्देही कांग्रेसको नगर अधिवेशनमा देउवा समूहको बर्चश्व

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज १० गते ७:४८

१० असोज, बुटवल । नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए ।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् ।

पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । केसी प्यानलका नर बहादुर रजालीले २३८ र हरिलाल सुनार १०२ मत पाए ।

सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छाया पोखरेलले २ सय ९४ मत पाएर विजयी भए । केसी प्यानलका जय प्रकाश भट्टराईले २३९ र सन्तोष पौडेल १४८ मत पाए ।

दुई जना सहसचिव मध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत सहित विजयी भए ।

तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिए ।

पाण्डे वर्तमान नगर सभापति हुन् भने न्यौपाने तिलोत्तमा ९ का वडाध्यक्ष हुन् । अन्य सबै पदाधिकारी भने पाण्डे प्यानलकै विजयी भए । तिलोत्तमामा सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत प्राप्त गरे ।

रुपन्देहीकै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुन् भने पोखरेल बालकृष्ण खांण निकट हुन् ।

सिद्धार्थनगरमा देउवा पक्षकै कोसिस खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?