+
+

पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

रासस रासस
२०७८ असोज १० गते १४:११
फाइल तस्वीर

१० असोज, सप्तरी ।सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका-५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।

महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो ।

सोही दिन खड्ग नगरपालिका-८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।

योसमेत आव २०७८÷०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?