+
+

कोभिड महामारीपछि पोखरामा राजदूतसहित विशिष्ट पाहुना

अमृत सुवेदी/युनिश गुरुङ अमृत सुवेदी/युनिश गुरुङ
२०७८ असोज १० गते १९:२६

१० असोज, पोखरा । डा. थोमस प्रिन्ज गत भदौ तेस्रो साता मात्र नेपालका लागि जर्मन राजदूत नियुक्त भएका हुन् । राजदूत भएर आए पनि उनले नेपाल घुम्न पाएका थिएनन् । नेपालमा कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अन्त्य भएर जनजीवन सहज भएसँगै उनी कतै घुम्न निस्कने योजनामा थिए ।

उनले चाहेझैं पराराष्ट्र मन्त्रालयमार्फत गण्डकी प्रदेश सरकारले पोखरा घुम्ने निम्तो पठायो । त्यही निम्तो अनुसार विश्व पर्यटन दिवसको अवसरमा थोमस पोखरा आइपुगेका छन् ।

विश्वमा तीव्र आर्थिक विकास गरिरहेको खाडी मुलुक कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेल नेपालको सुन्दरताले मोहित हुने बताउँछन् । आफ्नो देशमा पसिना बगाउने नेपाली नागरिकको सुन्दर सहर पोखरा टेक्दा युसुफ दंग छन् ।

कोरोना माहामारीपछि सहज हुँदै गएको परिस्थिति र ४१ औं विश्व पर्यटन दिवसको अवसरमा यतिबेला एक दर्शन देशका राजदूतसहितको २५ जनाको टोली पोखरा आइपुगेको छ ।

युएईका राजदूत शाहिद हमदान अल नक्बी, फिनल्याण्डका राजदूत पट्टी एन्टिनेन, साउदी अरेरियाका राजदूत मुसिद सुलेमान एम अलमारवानी, श्रीलंकाका राजदूत हिमाली सुवासिनी अरुनातिलका पोखरा विमानस्थलमा पाएको स्वागतमा खुसी देखिए ।

थाइल्याण्डका राजदूत भोसिता भोरासाफ, नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरी, सार्कका महासचिव इसाला रुवान विराकुन पनि पोखरा आइपुग्दा दंग थिए ।

राजदूत, अन्य कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिलाई पोखराको आँगनमा गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाले स्वागत गरे ।

कोरोना माहामारीले थलिएर लयमा फर्किने प्रयासमा रहेको पोखराको पर्यटन क्षेत्रलाई यो भ्रमणले उत्साह भरेको छ ।

‘यति धेरै विशिष्ट पाहुना एक साथ पोखरा आउनु आफैंमा ऐतिहासिक हो । कोरोनाले ठप्प बनेको पर्यटन क्षेत्र उठाउन यो बेला भएको भ्रमणले ठूलो सन्देश दिने गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए ।

अब पर्यटन क्षेत्र खुला रहेको र पर्यटकीय वातावरण बनेको सन्देश दिन गण्डकी प्रदेश सरकारले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको समन्वयनमा उनीहरुलाई पोखरा डोकेको हो । टोली २ दिनसम्म पोखरा बसेर मंगलबार काठमाडौं फर्किने छ ।

सरकारले पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरको छ भने पर्यटन व्यवसायी पनि निकै उत्साही छन् । ‘कोरोना माहामारी सबै क्षेत्र थलियो । पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । अब भने नेपाल खुल्यो, घुम्ने वातावरण बन्यो भन्ने सन्देश दिन पनि राजदूतसहित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले विशेष महत्व राख्ने छ,’ गण्डकी प्रदेश पर्यटन मन्त्रालयका पौडेलले भने, ‘विदेशी पर्यटकलाई स्वगत गर्न अब नेपाल तयार छ भन्ने सन्देश दिन चाहन्छौं ।’

विश्व पर्यटन दिवसको अवसरमा नेपाल खुला छ भन्ने सन्देश दिन पनि यो भ्रमण महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीको विश्वास छ ।

कुटनीतिक क्षेत्रका विशिष्ट पाहुना आउँदा पोखराका पर्यटन व्यवसायीमा उत्साह भरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । ‘पोखराको आँगनबाट अब अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन जागेको सन्देश दिनुपर्छ,’ भट्टराईले भने, ‘सरकारले सहज वातावरण बनाउन नेतृत्व लिने र निजी क्षेत्रले होस्टेमा हैसे गर्ने हो भने पर्यटन क्षेत्रमाथि उठ्छ ।’

पोखरा आइपुगेका टोली पोखरा लेकसाइडमा बसेको छ । उनीहरुको स्वागतमा गण्डकी प्रदेश सरकारले आइतबार साँझ रात्रीभोजको आयोजना गरेको छ । टोलीले सोमबार फेवातालमा शयर गर्नेदेखि कास्कीकोटको शीरसम्मको मजा लिनेछ ।

प्रथम शाहवंशीय राजा कुलमण्डन शाहले शासन गरेको कास्कीकोट दरबार हुँदै हाइकिङ गर्ने छन् । पोखराका सांस्कृतिक तथा प्राकृतिक स्थलको अवलोकन गर्ने योजना गरेको पर्यटन बोर्ड प्रमुख भण्डारीले बताए ।

कोभिडपछिको पर्यटन, गण्डकी प्रदेशका पर्यटकीय सम्भावना र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिन छलफल तथा परिचयात्मक कार्यक्रम पनि हुने छ । विश्व पर्यटन दिवसकै कार्यक्रममा सहभागी हुन आइपुगेकी युरोपियन युनियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रे र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आइतबार नै औपचारिक भेटवार्तासमेत भएको छ ।

विश्व पर्यटन दिवसकै अवसरमा सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानासहितको सडक महोत्सवको आयोजना गरेको छ ।

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट लिएर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेपछि पर्यटन पर्यटन व्यवसायी आशावादी छन् । सरकारले बनाएको खुकुलो नीतिपछिको उत्साह र एक दर्जन देशका राजदूतसहितको टोलीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?