+
+

आर्थिक पुनरूत्थानमा जोड दिन विश्व बैंकका उपाध्यक्ष सेफरको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १९:०८

११ असोज, काठमाडौं । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले ५ दिने नेपाल भ्रमण पूरा गरेका छन् । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष सेफरले पाँच दिने नेपाल भ्रमण पूरा गरेको विश्व बैंकले जनाएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग अलग-अलग भेट गरेका थिए ।

सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार र आर्थिक पुनरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गरेको विश्व बैंकले जनाएको छ । ती बैठकले सुधार कार्यान्वयन तथा द्रूत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएको बताइएको छ ।

‘२०७२ सालको भुकम्पलगायत विविध आघातबाट माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ उपाध्यक्ष हार्टविग सेफरलाई उदृत गर्दै विश्व बैंकले लेखेको छ ।

विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्ने उनको भनाइ छ । विश्व बैंक नेपालको हरित, उत्थानशील र समावेशी पुनरूत्थानका लागि सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालासँग मिलेर काम गर्न प्रतिवद्ध रहेको उनले बताएका छन् । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्यलगायत क्षेत्र तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ । प्रदेशका मुख्यमन्त्री, मेयर र निजी क्षेत्रका प्रतिनिधिसहितका बैठकहरुमा उपाध्यक्ष सेफर सहभागी भए ।

उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरेका थिए । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सीमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?