+
+

ओलीको प्रश्न : कुनै पार्टी लक्षित गरेर अध्यादेश ल्याइयो, यही हो अग्रगमन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:१७

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै यही हो अग्रगमन भनी प्रश्न गरे ।

ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । ‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं’ उनले भने ।

सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो भने जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । उक्त अध्यादेश सरकारले सोमबार भने खारेज गरेको छ ।

संघीय संसद चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भन्दै ओलीले चलिरहेको संसद अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको बताए । उनले कुनै पार्टीप्रति लक्षित गरेर अध्यादेश ल्याइएको पनि बताए ।

‘पछिल्लो पल्ट त त्यही उद्देश्य (अर्काको पार्टी विभाजन) का साथ चलिरहेको अधिवेशन अन्त्य गरेर भोलिपल्ट विहान अध्यादेश ल्याउने काम भयो । यो संविधानसम्मत भएन’ ओलीले भने ।

पूर्वप्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई खबरदारी नपुगेको पनि बताए । आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिए ।

‘सरकारलाई खबरदारी गरेर भने लापरवाहजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार’ उनले भने, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन, संविधान कानुनको मतलब छैन ।’

ओलीले संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखिएको भन्दै असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?