+
+
Shares

दशैंअघिको शेयर बजार : बुलिस कि बियरिस ?

रोयल आचार्य रोयल आचार्य
२०७८ असोज १३ गते २२:२१

१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो ।

बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार परिसूचक लगातार घटेका कारण पनि लगानीकर्ता अन्योलमा देखिएका छन् ।

अहिले बजारलाई असर गर्ने प्रमुख कारण नेपाल राष्ट्र बैंकको नीति नै भएको शेयर बजारका जानकारहरु बताउँछन् । ‘राष्ट्र बैंकले गरेको १२ करोड र ४ करोडको क्यापका कारण बजारलाई ठूलो असर गर्‍यो, यो नीति सहज भए बजार यसरी घट्दैन थियो’ पुराना शेयर लगानीकर्ता सिर्जना सुवेदीले भनिन् । राष्ट्र बैंकले शेयर धितोमा कुनै एक बैंक तथा वित्तीय संस्थाले बढीमा ४ करोड रुपैयाँमात्रै लगानी गर्न सक्ने नीति बनाएको छ ।

त्यस्तै एक व्यक्तिले शेयर धितोमा १२ करोड रुपैयाँ भन्दा बढी ऋण लिन नपाउने व्यवस्था पनि राष्ट्रबैंकले गरेको छ । यो नीति अनुसार कुनै व्यक्तिसँग एक अर्ब शेयरपुँजी भए पनि १२ करोडमात्रै ऋण लिन पाउँछन् ।

यही नीतिका कारण अहिले बजारमा निराशा देखिएको सुवेदीको भनाइ छ । बुधबार बजार सामान्य बढ्दा राहत भएको उनी बताउँछिन् ।

असोज ७ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २८०६.०४ अंकमा थियो । शुक्रबार र शनिबारको विदापछि आइतबार खुलेको बजार परिसूचक घटेर २७८६.१७ अंकमा झर्‍यो । सोमबार र मंगलबार पनि त्यो क्रमले निरन्तरता पायो । सोमबार २७०३.३१ अंकमा झरेको नेप्से परिसूचक मंगलबार २६४१.६३ अंकमा झर्‍यो । बुधबार भने ५० अंकको सुधार देखिएको छ ।

नेप्से परिसूचकमात्रै होइन लगानीकर्ताको पुँजी पनि साउनयता ७ खर्ब बढीले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबारसम्म शेयर बजारको पुँजीकरण ३७ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । गत साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल बजार बढ्ने क्रम अझै चल्ने बताउँछन् । केही दिन घटेपनि बजारमा बुलिस ट्रेण्ड नसकिएको उनको दावी  छ ।

‘तपाईंको आफ्नो लगानीप्रतिको विश्वास र धैर्यतालाई पुँजीबजारले परीक्षण गरेको यो समयले नै तपाईंमा कति परिपक्वता आएको रहेछ भन्ने कुरा केही दिनमा प्रमाणित हुनेछ’ पौडेल भन्छन्, ‘मेरो विश्वास बुलिस सकिएकै छैन ।’

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल नेपाल राष्ट्र बैंकको अदूरदर्शी निर्णयका कारण लगानीकर्ताले ठूलो क्षति बेहोर्नुपरेको बताउँछन् । बजारलाई आफ्नै गतिमा चल्न दिनुपर्नेमा जबर्जस्त घटाउन खोजिएको उनको आरोप छ । संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शेयर बजारलाई आफ्नै गतिमा चल्न दिन माग गरेको छ ।

‘माग र आपूर्ति, कम्पनीको बासलातको आधार, कम्पनीको भविष्यको व्यापारिक योजना र देशको आर्थिक अवस्थाको आधारमा शेयर बजार चल्नुपर्छ र यस क्षेत्रलाई स्वतन्त्र छाड्नुपर्छ’ अध्यक्ष अर्यालले विज्ञप्तिमा भनेका छन् ।

पुराना शेयर लगानीकर्ता नयन बास्तोला पनि राष्ट्र बैंककै नीतिका कारण बजारमा ठूलो असर देखिएको बताउँछन् । राष्ट्र बैंकले ४ करोड र १२ करोडको क्याप हटाइदिने हो भने बजार बढ्ने उनले बताए । बजार घटबढ हुनु स्वाभाविक भए पनि लगातार ६ सय अंकसम्म घट्दा भने नयाँ लगानीकर्ताको लगानी डुबेको उनी बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभावसमेत छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सोमबारसम्म वित्तीय बजारमा २२ अर्बमात्रै तरलता छ । बजारमा तरलता अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरु निक्षेपको ब्याजदर खोसाखोसमा लाग्दा त्यसको असर शेयर बजारमा समेत देखिएको उनले बताए । तर तरलता समस्या धेरै लामो समय नरहने र ब्याजदर पनि घट्ने भएकाले बजारलाई केही समयपछि सहज हुने उनको भनाइ छ ।

अहिले बुलिस कि वियरिस ?

शेयर बजारमा २ वटा ट्रेण्डहरु हुन्छन् । एउटा बुलिस, अर्को वियरिस । लगातार बढ्दो बजारलाई बुलिस र लगातार घट्दो क्रमलाई वियरिस भनिन्छ । बुलिस भनेर गोरु र वियरिस भनेर भालुको चित्र संकेतका रुपमा शेयर बजारमा प्रयोग गरिन्छ । अहिले बजारमा कुन ट्रेण्ड छ भन्ने आम चासोको विषय छ ।

शेयर बजारका जानकार दीलिप मुनाकर्मी बुलिसको कुनै मापन नरहेको बताउँछन् । उनका अनुसार बजार लगातार बढेपछि बुलिस ट्रेण्ड मानिन्छ । तर उच्च विन्दुबाट २० प्रतिशत तल झरेको अवस्थामा भने त्यसलाई वियरिस ट्रेण्ड भनिने मुनाकर्मीले बताए ।

नेपाली शेयर बजारको सबैभन्दा उच्च अंक भनेको ३२०० हो । यसको २० प्रतिशत घटेपछि वियरिस ट्रेण्ड मान्नुपर्छ । ‘बजार ६० दिनसम्म घट्दो अवस्थामा रहेर २० प्रतिशत वा सो भन्दा बढीले घटेको अवस्थालाई बियरिस मानिन्छ, तर २० प्रतिशत भन्दा बढीले घटेको अवस्था २ महिना भन्दा कम कायम रहेमा करेक्सन मानिन्छ’ उनी भन्छन्, ‘वियरिस अवस्थामा लगानीकर्ताले बजारप्रतिको भरोसा गुमाउँछन् र शेयरको मागमा निकै कमी आउँछ ।’

बियरिस अवस्था पनि तीन किसिमको हुने उनले बताए । पहिलो- लामो अवधि, दोस्रो- मौसमी र तेस्रो- छोटो बुलिस ट्रेण्ड । बुलिस ट्रेण्डको जस्तै वियरिसको पनि शुरुवात वा अन्त्य कुन बिन्दुबाट कहाँ गएर हुन्छ भन्ने अनुमान गर्न नसकिने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?