
१४ असोज, काठमाडौं । कतारले कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आएसँगै मास्क सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध पनि खुकुलो गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको कतारको मन्त्रिपरिषद्को बैठकले अक्टोबर ३ देखि लागू हुने गरी घर बाहिरका केही कार्यक्रममा मास्क अनिवार्य नहुने निर्णय गरेको हो । यद्यपि मस्जिद, विद्यालय, अस्पताललगायतका स्थानमा जाँदा भने मास्क अझै पनि अनिवार्य नै हुनेछ । त्यस्तै बन्द ढोकाभित्र हुने कार्यक्रममा पनि मास्क अनिवार्य नै हुनेछ ।
त्यस्तै कतारमा बजार र मलहरु पनि अब पूर्ण क्षमतामा खुल्न सक्नेछन् । साथै त्यस्ता स्थानमा अधिकतम ग्राहकहरु जान पाउनेछन् । मुलुकको सबै संग्रहालय र सार्वजनिक लाइब्रेरी पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन अनुमति दिइएको छ । सरकारी र निजी क्षेत्रका कार्यालयलाई पनि पूर्णरुपमा काम सञ्चालनको लागि अनुमति दिइएको छ ।
कतारमा बुधबार कोरोनाका ५१ नयाँ संक्रमित देखिएका थिए । जसमध्ये २५ जना बाहिरबाट आएका मानिसमा कोरोना संक्रमण देखिएको थियो । कतारमा अहिलेसम्म २ लाख ३६ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ६०५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कतारमा ४७ लाख डोज कोरोना खोप मानिसहरुलाई दिइएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4