+
+

शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरको रोमाञ्चक बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १८:४३
फाइल तस्वीर

१४ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो ।

स्कोर बराबरी भएपछि सुपर ओभर नभई अंक बाँडिएको हो । लक्ष्य पछ्याउने क्रममा शुरुवात राम्रो हुन नसके पनि श्रीलंकन उपुल थरंगा र कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै भैरहवालाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो ।

अन्तिम ओभरमा भैरहवाले दुई छक्कासहित १७ रन मात्र जोड्न सक्यो ।

भैरहवाका लागि थरंगाले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ६७ रन बनाए । कप्तान शरदले १ बल खेल्दै अविजित ६ रन बनाए । यस्तै कुशल मल्लले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३५ रन जोडे । आरिफ शेखले २८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन बनाए ।

ललितपुरका लागि रासिद खानले ३ र रिजन ढकालले २ विकेट लिए । ४ ओभर बलिङ गर्दा रासिदले ३४ र रिजनले १७ रन खर्चिए ।

त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ओपनर सन्दुन विराकोडीको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । सन्दुनले ४१ बल खेल्दै २ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै अजमतुलल्ह ओमारजाईले २२ बल खेल्दै २ चौका ४ छक्का मद्दतमा ४२ रन बनाए । सन्दप जोराले २५ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३८ रन बनाए ।

ईपीएलमा कप्तानी डेब्यु गरिरहेका ओपनर कुशल भुर्तेल भने लगातार असफल भइरहेका छन् । उनी तेस्रो खेलमा पनि डबल डिजिटमा रन नबनाई आउट भए । भैरहवाविरुद्ध उनले २ रन मात्र बनाए ।

बलिङमा भैरहवाका अविनाश बोहराले २ विकेट लिन ४ ओभरमा ४७ रन खर्चिए । धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले समान १ विकेट लिए ।

दोस्रो पटक अंक बाँडेको भैरहवा ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बिहीबारै अघिल्लो खेलमा काठमाडौं किंग्स ११ लाई पराजित गरेर चितवन टाइगर्सले पनि २ खेलबाट ४ अंक नै जोडेको छ । तर रनरेटमा भैरहवा अघि छ ।

साविक विजेता ललितपुरले पनि लगातार दुई हारपछि पहिलो १ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?