+
+

केपी ओली आत्मप्रशंसामै रमाइरहेका छन् : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १५:५४

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्मप्रशंसामा रमाइरहेको बताएका छन् ।

गृहजिल्ला तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा शनिबार आयोजित कार्यक्रममा उनले ओलीमाथि तानाशाहको आरोप लगाउँदै आत्मप्रशंसामा रमाएको टिप्पणी गरेका हुन् ।

‘नेकपा एमालेको विधान अधिवेशन चलिरहेको छ । अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएका छन् । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्वीर छैनन्’, पौडेलले भने, ‘पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन् । तानाशाहले हो आत्मप्रशंसा चाहने ओली आत्मप्रशंसामा रमाइरहेका छन् ।’

उनले ओलीले मुलुकलाई तानाशाहीतर्फ धकेल्न खोज्दा आफूले तनहुँबाट तानाशाहीविरुद्ध आन्दोलन सुरु गरेको पनि जिकिर गरे । ‘ओलीले देशलाई तानाशाहीतर्फ लैजान खोजेका थिए, हामीले त्यसबाट बचायौं,’ पौडेलले भने, ‘सिंगो नेपाललाई निल्न खोजेका थिए, हामीले तनहुँबाटै चुनौती दिएका हौं, यो तानाशाही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले नै चुनौती दिएको हुँ ।’

लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलको भनाइ थियो । ‘रामवरणजी रष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस् भन्नुभएको थियो,’ उनले भने, ‘मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ ।’

नेता पौडेलले पार्टीको जारी अधिवेशनले पार्टीमा नयाँ हलचल ल्याएको पनि बताए । ‘चुनावले पार्टीमा हलचल ल्याएको छ, रक्तसञ्चार ल्याएको छ । चुनावले नेपाली कांग्रेसलाई अझ बलियो बनाएको छ,’ पौडेलले भने, ‘देशभर पार्टी चलायमान भएको छ । उर्जा उत्साहको लहर छाइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment