+
+

चाडपर्वमा ठगिनबाट जोगिन उपभोक्ता पनि सजग हुनुपर्छ : अधिकारकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १४:०१
फाइल तस्वीर

१७ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले चाडपर्वको समयमा आवश्यक सामान खरिद गर्दा उपभोक्ताहरु स्वयं बढी सजग हुनुपर्ने बताएका छन् । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिएसँगै उपभोक्तामाथि ठगि हुनसक्नेतर्फ चनाखो हुन उनीहरुले उपभोक्ताहरुसँग आग्रह गरेका हुन् ।

चाडबाडको समयमा वस्तुको मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ताहरु ठगिन सक्ने सम्भावना बढी रहेको भन्दै उनीहरुले उपभोक्ता स्यवं सचेत हुनु जरुरी रहेको बताएका छन् ।

चाडपर्व मानाउन ऋण गरेर भएपनि धेरै खर्च गर्ने उपभोक्ताको मानसिककतालाई बुझेर ठगी गर्ने व्यापारिक चरित्रका कारण बजार बदनाम हुँदै गएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजन बताउँछन् ।

बढी भीड हुने समयमा वस्तुको मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ताहरु अधिक ठगिने गरेको तर बजारमा सरकारी निकायको उपस्थिति निकै कमजोर रहेको अधिकारकर्मी ज्योति बानियाँको भनाइ छ । महँगो मूल्य तिरेर गुणस्तरीय वस्तु पाइने भ्रम, बिल बिजक नलिने तथा नहेर्ने उपभोक्ता स्वभाव आदि कारणले गर्दा उपभोक्ता ठगिन थप बल पुगेको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

अति आवश्यक नभए दशैंमा बढी किनमेल नगरौं

चाडबाडमा हुन सक्ने सम्भावित गैर व्यवसायिक क्रियाकलाप के–कस्ता हुन्छन र उपभोक्ता कसरी सजग हुने भनेर अनलाइनखबरले राखेको जिज्ञासमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सना भन्छन्, ‘ऋण गरेरै भएपनि अत्यधिक खर्च गर्नु पर्ने स्वभावले उपभोक्ताहरु आफैं ठगिन पुगेका छन् ।’ दशैं तिहारमा खाद्यान्न, काजु किसमिस, बदाम, पुष्टकारी, गुदपाक, दाल चामल, तरकारी, फलफूल र लत्ता कपडामा अत्यधिक मात्रामा उपभोक्ता ठगिने सम्भावना रहेको उनको भनाइ छ ।

उपभोक्ताले बढी मात्रामा खपत गर्ने वस्तुलाई चाडपर्वको अवसर पारेर गुणस्तर, नापतौल र मूल्यमा व्यापारीले ठग्ने गरेको उनको अनुभव छ । खाद्य वस्तुमा मिसावट, लत्ता कपडामा मूल्य र गुणस्तर तथा माछा मासुमा स्वस्थतामा उपभोक्ताले विशेष ध्यान दिनु पर्ने उनले सुझाए । दशैंको मुखमा गाडी भाडामा यात्रु ठगिन सक्ने भएकाले सचेत हुन उनले आग्रह गरे । दशैंमा नयाँ लुगा लगाउनै पर्ने भन्ने मानसिकताले मानिसहरु धेरै ठगिने गरेको भन्दै तिमिल्सिनाले अतिआवश्यक नभएर महामारीको बीचमा लत्ता कपडामा धेरै खर्च नर्गन उपभोक्तालाई आग्रह गरे ।

उपभोक्ताले पसलेसँग बिलबिजक मागेर हेर्न पाउने अधिकार छ 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ चाडपर्वको बजारमा अत्यधिक रुपमा कृत्रिम मूल्य बृद्धि हुने बताउँछन् । कानुनले किनेको बिल पनि उपभोक्तलाई देखाउनु पर्ने अधिकार दिए पनि उपभोक्ता यसमा सचेत नहुँदा उनीहरु ठगिने सम्भावना धेरै रहेको उनको भनाइ छ । ‘बिक्रेताले नै बढीले मूल्य राखेको हुन्छ, यस्तोमा उपभोक्ताले मूल्य घटाउन तिर लाग्छन, त्यसो होइन खरिद मूल्य हेरेर २० प्रतिशत नाफा दिएर सामान किन्ने अधिकार माग्नु पर्छ,’ बानियाँले भने । चाडपर्वमा अर्को ठूलो समस्या भनेको रिलेबलिङ रहेको उनको ठम्याइ छ ।

कानुनअनुसार उत्पादकले मात्रै लेबल राख्न पाउने अधिकार भएपनि तर बीचमै सप्लायर्स र पसलले नै नयाँ लेबल राखेर वस्तु बिक्री गर्ने गरेको उनले बताए । यसबाहेक नाप तौलमापनि होसियार हुन उनले उपभोक्तालाई आग्रह गरे । पछिल्लो समय बजारमा खाने तेल, तरकारी, चामल, विद्युतीय सामानमा अत्यधिक मूल्य वृद्धि हुँदा बजारमा सरकार रहेको अनुभूति नभएको बानियाँ बताउँछन् । दशैंको मौका छोपी उपहार वा अफर घोषणा गरेर पुरानो र सडेको सामानको बिक्री अत्यधिक हुनसक्नेतर्फ सचेत रहन उपभोक्तालाई उनले सुझाव दिए ।

स्वच्छ बजारका लागि नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर र उद्योग परिसंघले जिम्मेवार भएर काम नगरेको उनको आरोप छ।

बजार स्वच्छ राख्न नसक्नु सरकारको कमजोरी

उपभोक्ता मञ्च नेपालका अध्यक्ष मर्हजन बजार स्वच्छ राख्न प्रधानमन्त्री कार्यालयदेखि तल्लो तहका निकाय पनि जिम्मेवार नरहेको आरोप लगाउँछन् ।

सरकारको अर्कमण्यताका कारण बजार महँगी सकेको भन्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारले गैर जिम्मेवारपन देखाएको उनको भनाइ छ ।

सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने भनेपनि त्यहाँँ पाउने वस्तु सरकारले महँगो पार्ने काम गरेको उनको आरोप छ । यस वर्ष सरकारको मिलोमतोमा उपभोक्तालाई सस्तो चिनी नदिन प्रपञ्च रचिएको भन्दै उनले महामारीको बीचमा दशैं निकै महँगो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?