+
+

खोपको मात्रा पूरा नगरेका पर्यटकलाई नेपाल आउन कठिन

अच्युत पुरी अच्युत पुरी
२०७८ असोज १७ गते १५:२०
फाइल तस्वीर

१७ असोज, काठमाडौं । कोभिड–१९ विरुद्धको पूर्ण खोप नलगाएका विदेशी पर्यटक र टुरिष्ट भिसामा आउने गैरआवासीय नेपालीलाई नेपाल आउन कठिन देखिएको छ । सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने प्रावधानका कारण उनीहरुलाई नेपाल आउन कठिन देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

अघिल्लो साता सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गरेको थियो । उक्त प्रावधान अनुसार कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेका पर्यटकलाई अनअराइभल भिसा दिने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनमा समेत आइसकेको छ ।

अहिले ३८ वटा मुलुकमा मात्र नेपाली नियोगले काम गरिरहेका छन् । तर, हरेक वर्ष नेपालमा १ सय ५५ वटा भन्दा बढी मुलुकबाट पर्यटक नेपाल आउने गरेको तथ्यांक छ । सरकारको यो निर्णयसँगै खोप अभियान तीब्र नभएका मुलुकका पर्यटक र तथा टुरिष्ट भिसामा नेपाल आउने गैरआवासीय नेपालीले समस्या भोग्नु परेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले बताए । ‘अमेरिका जस्तो देशमा एक प्रान्तबाट अर्को प्रान्तमा जान नेपाल आउनु भन्दा बढी महँगो पर्छ’, उनी प्रश्न गर्छन्, ‘उनीहरुले नेपाली नियोग पुगेर भिसा लिने झन्झट किन बेहोर्नु ?’

सरकारले अनअराइभल भिसा खुलेको बताएसँगै काठमाडौं आइसकेका, ट्रान्जिटमा रहेका पर्यटकले समेत फर्कनु पर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले झन्झटिलो उक्त प्रावधान हटाउन सरकारसँग माग गरेका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार खोप लगाए पनि नलगाए पनि सबैका लागि अनअराइभल खुला गरी नेपालमा अनिवार्य कोरोना परीक्षण गर्ने व्यवस्था लागू गर्दा व्यवहारिक हुने बताउँछन् । ‘सरकारको निर्णय र प्रचारले काठमाडौं विमानस्थलमा आइसकेका पर्यटक फिर्ता हुनुपर्ने अवस्था आयो’, उनी भन्छन्, ‘अब पाहुनालाई फिर्ता नगरौं, स्वास्थ्य मापदण्ड पालना गरी स्वागत गरौं ।’

नेपाली नियोग नभएका र नियोग भएपनि चीन, अमेरिकाजस्ता ठूलो मुलुकबाट सिधै नेपाल आउन चाहने पर्यटक र गैरआवासीय नेपालीले यो प्रावधानका कारण दुःख पाउने अवस्था आएको व्यवसायीहरु बताउँछन् । यसअघि सरकारले खोप नलगाए पनि ट्राभल वा टूर एजेन्सीको सिफारिसमा पर्यटकलाई नेपाल आउन दिएको थियो । तर, अब भने त्यस्तो सिफारिसमा मात्र पर्यटक नेपाल आउन सक्दैनन् । उनीहरुले नेपाली नियोगबाटै अनिवार्य भिसा लिनुपर्छ । भिसा लिन अर्को मुलुक जानु पर्ने, टाढाको प्रान्त धाउनु पर्ने अवस्थामा मूख्य पर्यटकीय सिजनमै विदेशी नागरिकले सास्ती बेहोर्नुपर्दा नेपालकै छवि बिग्रने चिन्ता व्यवसायीको छ ।

सरकारको ध्यानाकर्षण गराइने

व्यवसायीले यो समस्याबारे सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । पर्यटन मन्त्रालय नेतृत्वबिहिन छ । प्रधानमन्त्रीले हेरिरहेको यो मन्त्रालय सबैभन्दा बढी कोभिड प्रभावित क्षेत्रलाई सम्बोधन गर्नुपर्ने जिम्मेवारीमा छ । सबै पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीले पर्यटक र गैरआवासीय नेपालीले यात्रामा भोग्नु परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

विमानस्थलमै एन्टिजेन परीक्षण शुरु

सरकारले घोषणा गरे अनुसार त्रिभुवन विमानस्थलमा भने एन्टिजेन परीक्षण शुरु भएको छ ।
आदेश अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिकले नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल आएकालाई अध्यागमन विन्दुमा एन्टीजेन परीक्षण गरिने उल्लेख थियो । यस्तो परीक्षणमा पोजेटिभ आएका पर्यटकलाई अस्पताल वा संस्थागत आइसोलेसन सेन्टरमा पठाउनु पर्ने हुन्छ । सोही आदेश अनुसार स्वास्थ्य मन्त्रालयबाट खटिएका कर्मचारीले त्रिभुवन विमानस्थलमा खोप नलगाई विदेशबाटै भिसा लिएर आउने पर्यटकको भने एन्टिजेन परीक्षण शुरु गरेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?