+
+
Shares

स्थलमार्गबाट आउने पर्यटकले के गर्ने, के नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि गर्न हुने र नहुने नियमहरू सार्वजनिक गरेको छ ।
  • मन्त्रालयले पहाडी सडकमा सवारी साधन दुरुस्त राख्न र तोकिएको स्थानमा मात्र फोहोर विसर्जन गर्न पर्यटकलाई सचेत गराएको छ ।
  • नेपाल आउने पर्यटकलाई स्थानीय संस्कृतिको सम्मान गर्न, मर्यादित पोशाक लगाउन र अवैध गाँजा सेवन नगर्न समेत आग्रह गरिएको छ ।

३१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकलाई लक्षित गरी नेपाल भित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ ।

पछिल्लो समय भारतीय पर्यटकबाट सडकमै खाना पकाउने, नदी, ताल किनारमा लुगा धुने तथा बसोबास गर्ने गरेको विषय सामाजिक सञ्जालमा भाइरल छ । विज्ञहरूले नेपाललाई सबै प्रकारका पर्यटकको आकर्षक थलो बनाउन आवश्यक आचारसंहिता बनाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सुझाव दिइरहेका छन् । सोही अनुसार मन्त्रालयले गर्न हुने र गर्न नहुने विषय नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित गरी सार्वजनिक गरेको छ ।

मन्त्रालयले नेपालको सीमामा आइसकेपछि भन्सार विभागको अनलाइन वा भौतिक अनुमति पत्र भर्न भनेको छ । सोही बेला आवश्यक विवरण भर्न समेत सुझाव दिइएको छ । भारतीय नागरिकलाई भिसा आवश्यक नपर्ने तर प्रवेशका लागि राहदानी वा अन्य परिचय पत्र उपलब्ध गराउन सूचित गरेको छ ।

नेपालका सडक पहाडी क्षेत्रमा साँघुरा र धेरै घुम्ती रहेको उल्लेख गर्र्र्दै यात्रा अवधिभर आफ्नो सवारी साधन दुरुस्त राख्न सुझाव दिइएको छ । नेपालको सडकमा सवारी साधन चलाउने चालक पर्याप्त अनुभवी र नेपालको धरातलीय स्वरुप, जलवायु र मौसमको जानकारी भएको हुनुपर्ने समेत सूचनामा उल्लेख छ ।

यात्रा अवधिभर नियमित औषधि साथमा राख्न सुझाव दिइएको छ । भारतीय पर्यटकले ५ हजार अमेरिकी डलरसम्म बोक्न पाउने अनुमति बारेसमेत जानकारी गराइएको छ । तर, डेविट/क्रेडिट कार्डमा भने रकमको सीमा नभएको उल्लेख छ । प्रवेश र प्रस्थानका प्रक्रियामा हुन सक्ने झन्झटबाट बच्न यात्रुलाई सोही समयमै गहना घोषणा गर्न समेत आग्रह गरिएको छ ।

तीर्थयात्रुलाई गन्तब्य सफा राख्न सूचित गरिएको छ । लेक लाग्ने समस्या हुन सक्ने हुनाले उचाइमा जाँदा बोतलको अक्सिजन आवश्यक पर्न सक्ने सुनिश्चित गर्न समेत सुझाव दिइएको छ । मुक्तिनाथ क्षेत्र समुन्द्री सतहबाट ३८ सय मिटरको उचाइमा छ । प्रयोग गरिएका कपडा, बन्दोबस्तीका सामान र फोहोरमैला तोकिएको क्षेत्र/फोहोरदानीमा बिसर्जन गर्न सुझाव दिइएको छ । सडकमा फोहोरमैला फाल्नु पनि नियमको उल्लघंन मानिने र सजायको भागिदार हुने भन्दै सचेत गराइएको छ ।

आफै खाना पकाउनेहरूले स्थान, भान्सा र अन्य बन्दोबस्तीका सामान व्यवस्थापन गर्न सक्ने होटेलसँग अग्रिम सम्पर्क गर्न भनिएको छ । खाना पकाउन खुला स्थान प्रयोग गर्ने सन्दर्भमा अनुमति र सहयोगका लागि सरकार, सुरक्षाकर्मी र सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिइएको छ ।

स्थानीय संस्कृति, परम्परा र मानिसको सम्मान गर्न सूचित गरिएको छ । आदरपूर्ण र सभ्य भाषा बोल्न, मर्यादित लुगा लगाउन र बढी अंग प्रदर्शन हुने कपडा नलगाउन समेत सूचित गरिएको छ ।

मन्दिर वा पवित्र स्थलबाहिर आफ्नो जुत्ता चप्पल फुकाल्न समेत भनिएको छ । मदिराजन्य पेय पदार्थ सीमामा रहेर मात्र सेवन गर्न भनिएको छ । नेपालमा गाँजा अवैध भएकोबारे समेत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?