+
+
समाचार टिप्पणी :

प्रचण्ड पीडा र निराशाका ८ कारण

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ असोज १७ गते १८:१५

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्ति हिजोआज बढी नै उग्र, आक्रोशित, विवादित, निराशापूर्ण र अस्वाभाविक प्रतीत हुन थालेका छन् । उनी कतै ‘मृत्यु कि मुक्ति’ को भाषण गरेका हुन्छन् त कतै ‘आत्महत्या कि आत्मसमर्पण’को ।

कहिले आफूले ‘आत्मसमर्पण नगर्ने’ बरु परिआए ‘आत्महत्या गर्न सक्ने’ भन्दै भारतीय स्वतन्त्रता सेनानी चन्द्रशेखर आजादको नियतिलाई संस्मरण गर्दै गरेका भेटिन्छन् । उनी वाईसीएल र विद्यार्थी मोर्चाका नौजवानहरूलाई हमला हुनसक्ने भन्दै प्रतिकार गर्न उक्साइरहेका पनि हुन्छन् ।

पार्टी कार्यकर्तालाई उनले ‘गर्न हुने/नहुने सबै गरेर’ २०६४ सालको पहिलो संविधानसभा निर्वाचन जितेको स्मरण मात्रै गराउँदै छैनन्, बरु ‘फेरि एकपटक त्यसो गर्नुपर्ने’ प्रशिक्षण दिंदैछन् । कुनै बेला ‘माओवादी भनेपछि सबै डरले थरर्र हुन्थे, आज सबैले हेप्न थालेको’ भन्दै ‘आवश्यक परे जस्तालाई त्यस्तै जवाफ दिन’ प्रेरित गर्ने गरेका छन् ।

अर्थात् प्रचण्डले माओवादी कार्यकर्ता, वाईसीएल र क्रान्तिकारी विद्यार्थी संगठनलाई ‘भौतिक आक्रमण र प्रतिरक्षा’ तर्फ उत्प्रेरित गरिरहेको प्रष्ट छ । प्रचण्डले पार्टी पंक्तिलाई पुनश्चः ‘मिलिटेन्ट’ मानसिकतातिर प्रवृत्त गर्न खोजेको बुझ्न गाह्रो छैन ।

प्रचण्डका यस्ता अभिव्यक्ति उनको व्यक्तित्व र हैसियत अनुरूप जिम्मेवार हुन् कि हैनन् भन्ने प्रश्न उठाउन नसकिने हैन । माओवादी जनयुद्ध स्थगन गरी शान्ति प्रक्रियामा आएको यतिका वर्षपछि लोकतन्त्रमा विश्वास गर्छु भन्ने कुनै दलको मुख्य नेता तथा पूर्वप्रधानमन्त्रीले खुलेआम यस्ता अभिव्यक्ति दिंदा सर्वत्र चिन्ता छाउनुपर्ने हो । तर, यति कठोर र उग्र भाषण गर्दा पनि प्रचण्ड अभिव्यक्तिलाई सर्वसाधारणले खासै महत्व दिएको भने पाइँदैन । बरु उल्टै प्रचण्डले आफ्ना ‘पीडा, कुण्ठा र निराशाको भँडास’ निकालेको भन्नेहरू धेरै छन् ।

आखिर प्रचण्ड यस्ता अभिव्यक्ति किन दिइरहेका छन् ? यसका ८ वटा कारण हुन सक्दछन् ।

१. व्यक्तिवादको उत्कर्ष

प्रचण्डमा व्यक्तिवाद र अहंकेन्द्रित सोच बलियो देखिन्छ । उनी ‘हामी’ भन्दा ‘म’ भन्न बढी रुचाउँछन् । ‘पार्टीले’ भन्दा ‘मैले गरें’ भन्न आनन्द मान्छन् । ‘मैले मन्त्री बनाएँ’ ‘मेरै कारणले यसो भयो, उसो भयो’ जस्ता अभिव्यक्ति उनी बारम्बार दिइरहेका हुन्छन् ।

व्यक्तिवाद उनले अवलम्बन गरेको साम्यवादी सिद्धान्त अनुरूपको सोच र संस्कार भने हैन । साम्यवादले सामूहिकता र सहकार्यमा जोड दिन्छ । व्यक्ति भन्दा समूह, निजत्व भन्दा सहकार्य, व्यक्तिगत प्रतिभा र पराक्रम भन्दा संस्थागत प्रक्रियामा जोड दिन्छ । तर, प्रचण्ड अरू दल र बाहिरका व्यक्तिलाई मात्रै हैन, आफ्नै दल र सहकर्मीलाई पनि ‘आफू बराबरको’ ठान्दैनन् ।

‘अरू कोही गणनायोग्य नभएको, कसैले राम्रो छाँट नदेखाएको’ भन्दै आफ्नै सहकर्मीहरूको अवमूल्यन गरिरहेका हुन्छन् । नेतृत्व सिद्धान्त अनुसार साढे तीन दशक कुनै पार्टीको नेतृत्व गरेपछि पनि आफू बराबरको कोही जन्माउन नसक्नु चरम असफलता हो ।

प्रचण्डले ‘अरू कोही गणनायोग्य नभएको, कसैले राम्रो छाँट नदेखाएको’ भन्दै आफ्नै सहकर्मीहरूको अवमूल्यन गरिरहेका हुन्छन् । नेतृत्व सिद्धान्त अनुसार साढे तीन दशक कुनै पार्टीको नेतृत्व गरेपछि पनि आफू बराबरको कोही जन्माउन नसक्नु चरम असफल नेतृत्व हो ।

मनोविज्ञानशास्त्रका अनुसार अहं केन्द्रित सोच ‘शक्तिको चाहना’ र ‘सुपरम्यान’ अवधारणाको प्रकटीकरण हो । यो मार्क्सवादी नभएर फ्रेडरिक नित्सेको अस्तित्ववादी दर्शनमा आधारित सोच हो । फ्रायडका अनुसार यस्तो मनोविज्ञान भएका व्यक्तिमा उच्चताबोधी ग्रन्थी (सुपेरियर कम्प्लेक्स) हुन्छ । उच्चताबोधी ग्रन्थी भएका व्यक्तिको अहंमा जब ठेस लाग्छ, त्यो लघुताबोधी ग्रन्थी (इन्फेरियर कम्प्लेक्स) मा परिणत हुन्छ ।

एमालेसँगको पार्टी एकता र ओलीबाट खाएको धोकापछि प्रचण्डको उच्चताबोधी अहंमा ठेस पुग्यो । त्यसको ‘इन्सर्भ–इफेक्ट’ स्वरूप उनी लघुताबोधी ग्रन्थीको अवस्थामा पुगेको हुनसक्दछन् । प्रचण्डका पछिल्ला अभिव्यक्तिले लघुताबोधी ग्रन्थीलाई ढाकछोप गर्ने प्रयत्न गरेको संकेत पाइन्छ ।

२. एक्लिंदै गएको अनुभूति

‘म’ केन्द्रित सोचको नियति नै ‘हामी’ बाट अलगथलग हुँदै जानु हो । ‘हामी’ मा विश्वास गर्न छोड्नु हो । ‘सफलता प्राप्त हुँदा पनि मेरै कारणले भएको थियो, असफल हुँदा पनि मेरै कारणले हुन्छ’ भन्ने मित्थापनलाई पत्याउनु हो ।

उच्चताबोधी व्यक्तित्वले अरूमा हैन स्वयं आफूमा विश्वास गर्दछ । सहकर्मीहरू आ–आफ्नो क्षमता, प्रतिभा, योग्यता र प्रतिबद्धता सहित आन्दोलनमा सामेल भएको हुँदा आफू नभए पनि पार्टी र आन्दोलन चल्न सक्ने विश्वास गर्दैन । चुम्बकले फलामका टुक्रा तानेझैं ‘आफ्नो व्यक्तित्वले अरूलाई आकर्षित गरेको’ मात्र हो, ‘म नभए केही हुन्न’ भन्ने सोच्दछ ।

यो सोच हो, सत्य हैन । संसार यस्तो हुँदैन । सृष्टिको लामो शृङ्खलामा कुनै व्यक्तिको भूमिका क्षणिक बन्न पुग्दछ । कोही भए पनि, नभए पनि यदि औचित्य छ भने कुनै पार्टी र आन्दोलन जीवित रहन्छ । बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद नरहेर पनि कांग्रेस सकिएन । पुष्पलाल, मनमोहन र मदन भण्डारीको निधनपछि पनि एमाले छँदैछ ।

यदि माओवादी आन्दोलन र पार्टीको औचित्य छ भने प्रचण्डपछि पनि त्यो अस्तित्वमा रहन सक्दछ । तर, प्रचण्डलाई आफूपछि पनि माओवादी पार्टी र आन्दोलन रहिरहन्छ भन्ने विश्वास छैन । तसर्थ उनी जे गर्ने हो, आफ्नै नेतृत्व र जीवनमा हुनुपर्ने धारणाबाट प्रभावित छन् ।

यस्ता व्यक्तिहरू जब असफल हुन्छन्, आफूलाई एक्लो र निरीह ठान्न थाल्छन् । एमालेसँग एकता गरेर एकीकृत नेकपाको नेतृत्व हत्याउने सोच असफल भएपछि प्रचण्डमा भित्रभित्रै असफलताबोध हुन थालेको हुनुपर्दछ । तसर्थ उनी ‘म एक्लो हुने त हैन ?’ भन्दै प्रश्न गर्न थालेका छन् । उनी जुनस्तरमा एक्लोपनको अनुभूति गर्दैछन्, त्यो वस्तुगत यथार्थ चाहिं हैन, उनको मानसिक अवस्था मात्र हो ।

३. ओलीबाट खाएको धोका

जे जसरी विश्लेषण र भाष्य निर्माणको प्रयत्न गरे पनि प्रचण्ड एमालेसँग मिलेकै हुन् । भिन्नै माओवादी पार्टी चलाउने आत्मविश्वास उनले गुमाइसकेकै हुन् । बाहिर देखाउन जेजे भने पनि त्यसको मुख्य आन्तरिक प्रेरणा ‘आधाआधा प्रधानमन्त्री खाने’ शर्त नै थियो । अन्य कारणहरू सहायक थिए । मुख्य कारण– अढाइ वर्षपछि पनि केपी शर्मा ओलीले प्रचण्डका लागि प्रधानमन्त्री पद नछोड्नु थियो ।

राजनीतिक दृष्टिले विभिन्न घटनाक्रम र कारणको चर्चा गर्न सकिने भए पनि मनोवैज्ञानिक दृष्टिले नेकपा (नेकपा) विग्रहको मुख्य कारण ओलीले ‘आधाआधा कार्यकाल’ को सम्झौता लागू नगर्नु प्रचण्डलाई ‘उपाध्यक्ष सरहको दोस्रो अध्यक्ष’ भन्नु र प्रचण्डले ओलीबाट ठूलो धोका र बेइमानीको अनुभूति गर्नु नै हो ।

अब प्रचण्ड कुनै न कुनै हिसाबले ओलीसँग त्यो धोकाबाजीको बदला लिन चाहन्छन् । तर, प्रतिशोधको यो महाभारत प्रचण्डका लागि झन्झन् कष्टकर र असम्भव झैं बन्दैछ ।

ओलीले प्रचण्डलाई धोका दिएकै हुन्, सम्झौता गरेपछि लागू गर्नु ओलीको पनि नैतिक दायित्व हुन्थ्यो । तर ओली जस्तो चलाख खेलाडीलाई सजिलै पत्याउनु पनि प्रचण्डको भ्रम नै थियो । ओलीका आफ्नै केही सीमा र बाध्यता थिए । उनी त्यति सजिलै राज्य र पार्टीको नेतृत्व प्रचण्डलाई सुम्पेर पूर्व एमाले विरासतलाई अलपत्र पार्न सक्दैनथे ।

४. असम्भव पूर्व माओवादी एकता

ओलीसँग बदला लिनु भनेको आउने चुनावमा एमालेलाई कमजोर पार्नु नै हो । तर, त्यो कसरी सम्भव छ ? सजिलो उपाय भने देखिएको छैन । अहिले पनि माओवादी केन्द्रभन्दा एमाले बलियो छ । दुई ठूला कम्युनिष्ट समूहको ‘साँढे जुधाइ’ फेरि घुम्दैफिर्दै ओलीको अनुकूल भएको छ । विशेषतः गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले ओलीको ‘भाग्य चम्के’ जस्तो भएको छ ।

एमाले ब्राण्ड र सूर्य चिह्नको मोहमा माधव नेपाललाई त भीरबाट धकेलेर एमालेजनहरू एक हुन राजी भएका छन् । प्रचण्डको माया कसले गर्ने ? यस्तो बेला प्रचण्डले पनि ‘पूर्व माओवादीको एकता’ भन्ने तुरूप त फाले, तर त्यो हुनसक्ने कुनै आधार देखिन्न ।

डा. बाबुराम भट्टराईको बाटो भिन्नै भइसकेको छ । उनी ‘समुन्नत संघीय समाजवाद’ को नयाँ सिद्धान्तमा आधारित ‘नयाँ समाजवादी केन्द्र’ बनाउन चाहन्छन्, त्यसका लागि प्रचण्ड राजी छैनन् । मोहन वैद्य र विप्लवको लाइन अझै पनि ‘नयाँ जनवादी गणतन्त्र’ हो । अब ओलीसँग बदला लिने प्रचण्डको निजी धोको पूरा गरिदिन को पूर्व माओवादी प्रचण्डसँग आउने ?

हो, प्रचण्डले ‘वैचारिक सिफ्ट’ गरेर नयाँ आधार र नयाँ विचारका आधारमा एकताको प्रस्ताव राख्न सक्छन् । तर यस्तो आँट उनले गर्न सक्ने देखिंदैन ।

५. वैचारिक तथा नैतिक संकट

एमालेसँगको एकता, धोका र सर्वोच्च अदालतको निर्णयबाट माओवादी केन्द्रमा फिर्तापछि प्रचण्डसँग थप वैचारिक तथा नैतिक संकट जोडिएका छन् । एमालेसँग एकता गर्दा उनले प्रचण्डपथ, एक्काइसौं शताब्दीको जनवाद, माओवाद जस्ता विचार त्यागिसकेका थिए ।

शासकीय स्वरूप परिवर्तन, निर्वाचन प्रणाली परिवर्तन, पहिचान सहितको संघीयता, प्रदेश पुनः सिमांकन जस्ता एजेण्डा उठाउन छोडिसकेका थिए । अब के गर्ने ? तिनै विचार र मुद्दामा फर्किनु बाहेक उनीसँग अरू कुनै उपाय देखिन्न ।

तर, यसो गर्दा प्रचण्डको छवि जनताको नजरमा अविश्वसनीय र अवसरवादी देखिनेछ । प्रचण्ड एमालेसँग मिल्दा सबै छोड्ने, माओवादी ब्युँताउँदा फेरि तिनै विचार र एजेण्डा उठाउने लैबरु जस्तो देखिने छन् ।

६. माधव नेपालको छैन कुनै भर

तत्कालीन नेकपा (नेकपा) को वैधानिक विभाजन नहुँदा र प्रतिनिधिसभा विघटन हुँदा प्रचण्ड–माधव नेपालले त्यसै लड्डु खाएका थिएनन् । राजनीति त्यो कोर्समा हिंडेको भए प्रचण्ड–माधव नेपाल शक्तिशाली र ओलीको हरिबिजोक हुने निश्चित जस्तो थियो ।

किनकि नेकपाको केन्द्रीय समितिमा प्रचण्ड–माधव पक्षको बहुमत थियो । ओलीले सूर्यचिह्न गुमाउनुपथ्र्यो । त्यतिन्जेल प्रचण्ड आफ्नो भविष्यबारे निश्चिन्त थिए । माधव नेपाल पक्षको सहयोगमा नेकपा कब्जा हुने र ओलीसँगको प्रतिशोध सफल हुने सम्भावनाले मक्ख थिए ।

तर, जब फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला आयो, सबै चिज उल्टो हुँदै गयो । माधव नेपाल पक्ष एमालेमै फर्कियो । एमालेको युक्तिसङ्गत विभाजन गर्न नेपाल पक्षले ४०/४० प्रतिशतको प्रावधान पूरा गर्न सकेन । २० वा २० प्रतिशतको नयाँ प्रावधान सहितको अध्यादेशलाई आधार बनाएर माधव नेपाल पक्ष फुट्न त फुट्यो तर राजनीतिक, सांगठनिक र नैतिक रूपमा निकै कमजोर भएर । देउवा सरकारले ल्याएको नयाँ अध्यादेशले पाँचदलीय गठबन्धनको नैतिक आधार उल्लेखनीय ढंगले कमजोर भयो । यसको फाइदा पनि एमाले र ओलीलाई नै भयो ।

एमालेबाट फुटेर बनेको नेकपा (एस)ले समेत प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकता गर्ने कुनै इच्छा राख्दैन । प्रचण्डलाई योभन्दा ‘मर्नु’ के होला ! नेपाल पक्ष एमालेको ठूलै शक्तिका साथ फुट्ने र आफूसँग एकतामा आउने उनको आशा र आकलन पनि फेल हुन पुगेको छ ।

७. आर्थिक संकट

पार्टीको आकार र शक्ति घट्दै गएपछि चन्दा दाताले पत्याउन छोड्दछन् भन्ने प्रचण्डलाई राम्रो थाहा छ । त्यस्तो बेला आर्थिक दृष्टिकोणले समेत माओवादी पार्टी धानिरहन प्रचण्डलाई निकै गाह्रो हुनेछ । पार्टी सानो र ठूलो हुँदा, युद्ध र शान्तिमा हुँदा, सत्ता र प्रतिपक्षमा हुँदा पार्टीको आर्थिक स्रोतमा आउने उतारचढावलाई प्रचण्डले राम्रै गरी झेलेका, बुझेका छन् ।

जनयुद्ध अघि उनी पाटनको एउटा साँघुरो छिंडीमा डेरा बस्थे । त्यो बेला दैनिक जीवन चलाउन समेत उनलाई गाह्रो थियो । पार्टी युद्धमा गएपछि पैसाको छेलोखेलो भयो । मानिस बन्दूकसँग डराए, सजिलै चन्दा दिए । बैंकहरू कब्जा भए, अनेकन् ‘मनी एक्सन’ भए । माओवादी पार्टीको आफ्नै युद्ध अर्थतन्त्र निर्माण भयो ।

शान्ति प्रक्रियामा आएपछि राज्यकोषबाटै लिएको क्यान्टोनमेन्टको पैसा थियो । त्यो बेला माओवादी पार्टी र प्रचण्डसँग पैसाको अभाव हुनुपर्ने कारण थिएन । त्यसपछि पार्टी सत्तामा गयो । देशका सबै उद्योगपति, व्यापारी माओवादी निकट हुन लालायित भए । यी सबै कारणले प्रचण्डको जीवनशैली फरक र विलासी हुँदै गयो ।

हतियार व्यवस्थापनपछि माओवादीले बल्ल बुझे कि युद्धमा जस्तो शान्तिमा सजिलै चन्दा उठ्दो रहेनछ । बन्दूकको डरले दिएको पैसा बोलीले मात्र नझर्दो रहेछ । पार्टी यसरी नै निरन्तर कमजोर हुँदै गए देशका ठूला चन्दादाता र विदेशी शक्तिकेन्द्रले समेत प्रचण्डलाई पत्याउन छोड्ने छन् । त्यसको भय समेत प्रचण्डको मनमा पसेको हुनुपर्दछ ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले भने– ‘यो निर्वाचन प्रणाली खाली दलाल र पूँजीपतिहरू मात्रै चुनाव लड्न सक्ने, जनताले चुनाव लड्न नसक्ने । रंगीन आन्दोलन भनिन्छ आजकल– लाखौं नागरिकलाई सडकमा उतारेर यो प्रणाली बदल्न सकिन्छ हामीले’ उनले भने, ‘करोडौं चाहिने, अब हामीले कसरी चुनाव लड्ने ? अरूको त छाडिदिनुस्, हामी सबैको यहाँ हालत खराब भइसक्यो ।’

उनले अगाडि थपे, ‘अब त गाउँपालिकाको चुनाव लड्न उस्तै परे करोड नभई त्यहाँ लडिंदैन । प्रदेशमा लड्न दुई–चार करोड लाग्ने, केन्द्रमा लड्न ५–१० करोड, अझ बढी चाहिने भएपछि हामी लड्न सकिन्छ त त्यस्तो चुनाव ?’

८. आगामी निर्वाचनमा पराजयको डर

माओवादी पार्टीसँग रुकुम, रोल्पा, कालीकोट, जाजरकोट जस्ता केही जिल्ला छोडेर एक्लै चुनाव जित्न पुग्ने स्थानीय संगठन छैन । दोस्रो दर्जामा सिन्धुली, सिन्धुपाल्चोक, सिरहा जस्ता केही सघन जनमत भएका सीमित जिल्ला छन्, जहाँ राम्रै भोट त छ तर एक्लै जित्न सक्ने ग्यारन्टी छैन । स्वयं प्रचण्डको गृहजिल्ला चितवन कांग्रेस, माओवादी र एमालेबीच त्रिकोणात्मक चुनाव भएमा कांग्रेसले जित्नेछ ।

अर्घाखाँची माओवादीले जित्दै आएको अर्को जिल्ला थियो । टोपबहादुर रायमाझी एमालेतिर लागेपछि अर्घाखाँचीको सीट माओवादी केन्द्रको खातामा आउने सम्भावना कमजोर भइहाल्यो । लेखराज भट्ट र गौरीशंकर चौधरीको पलायनले सघन स्थानीय जनमत भएको अर्को जिल्ला कैलाली प्रभावित हुने देखिन्छ भने प्रभु शाहको कारणले मधेश र रौतहटमा माओवादी केन्द्र कमजोर हुनेछ । रामबहादुर थापा बादलले प्रभावित गर्न सक्ने भने कुनै जिल्ला देखिएको छैन ।

त्यसो भएमा माओवादी केन्द्र आगामी चुनावपछि पुरानो संयुक्त जनमोर्चा जस्तो हुन सक्नेछ । आगामी चुनावको सम्भावित परिदृश्यले प्रचण्डलाई भित्रभित्रै अत्याएको हुन सक्दछ ।

नेपाली कांग्रेस पाँचदलीय गठबन्धन बनाएर निर्वाचन लड्ने सम्भावना निकै कम छ । कम्युनिष्ट समूह र अन्य दलहरूको चरम विग्रहको अवस्थामा हुँदा एक्लै बहुमत ल्याउने आँट कांग्रेसमा पलाएको छ । कांग्रेस गठबन्धन गर्न तयार नभए के गर्ने ? प्रचण्ड यस दृष्टिकोणले समेत चिन्तित हुनुभएका हुनसक्छन् ।

सँगै केही निजी र पारिवारिक उतारचढावले पनि काम गर्ने भइहाल्यो । राजनीतिक जीवनका यावत् भागबण्डा र जोडघटाउ सकेर बासस्थान पुग्दा त्यहाँ पनि उनलाई त्यति सहज छैन । पछिल्लो समय प्रचण्डका अभिव्यक्तिलाई विश्लेषण गर्दा उनीभित्र मडारिइरहेको पीडा, कुण्ठा, निराशा, उग्रता र आक्रोश यिनै ८ कारणले अभिव्यक्त भएका अनुमान गर्न सकिन्छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?