+
+

सीता भण्डारी मृत्यु प्रकरणमा गृहमन्त्रीले चासो नदिएको गुनासो

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज १७ गते १९:१५

१७ असोज, बुटवल। रूपन्देही मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलको शंकास्पद मृत्यु भएको एक महिना पुग्दासम्म छिमेकमा घर भएका गृहमन्त्री बालकृष्ण खाँणले वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन् ।

गृहमन्त्री खाँण र मृतक सीताको माइत तिलोत्तमा– ८ चार नम्बर एउटै वडा मात्र नभई छिमेक जस्तै हुन् । सीता गत भदौ २० बिहान आफ्नै घरको एक कोठामा मृत भेटिएकी थिइन् । घटनालाई सुनियोजित हत्या दावी गर्दै माइती पक्षले दिनहुंजसो सडक आन्दोलन गर्दै शब उठाउन मानेका छैनन् ।

‘आफ्नै दैलोकी चेलीको शंकास्पद मृत्यु भएको महिना दिन बित्यो, दिनहुँ आन्दोलन भएको छ तर गृहमन्त्रीले वास्तै गर्नुभएन’–मृतकका बुबा हरिप्रसाद भण्डारीले भने, ‘राम्रोसंग अनुसन्धान नै भएको छैन, गृहमन्त्रीले सिरियस भएर एक कल फोन गरिदिने हो भने प्रहरीले दोषी पत्ता लगाउँथ्यो ।’

यो घटनामा राजनीतिक र आर्थिक चलखेल भएको मृतकका माइती पक्ष र स्थानीयको आरोप छ । मृतकका जेठाजु तिलोत्तमा वडा नंं ५ का वडा सदस्य हरि पौडेल एमालेका स्थानीय नेता हुन् ।

माइती पक्षले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरमाथि पनि आशंका गरेका छन् । ‘बुटवलका डीएसपी र हाम्रा ज्वाईंको परिवारको नजिकको सम्बन्ध छ भन्ने कुरा आएको छ’ भण्डारीले भने, ‘शुरुमा किटानी जाहेरी लिन नमानेको र पछि आन्दोलन चर्केपछि लिइएको हो ।’

मृतकका भाइ सुरज भण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सुसाइड नोट फेला परेको भनी प्रेस विज्ञप्ति जारी गर्नु बनावटी र घटनालाई अन्यत्र मोड्ने चालबाजी भएको आरोप लगाए ।

गृहमन्त्री खाँणका स्वकीय सचिव विजेश न्यौपानेले भने गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई घटनाको अनुसन्धान जारी राख्न र सत्य–तथ्य बाहिर ल्याउन निर्देशन दिएको बताउँछन् । ‘जिल्लामा आउन चाहेपनि कामको चाप धेरै भएर आउन नपाउँदा वास्ता नगरेजस्तो परेको मात्र हो,’ न्यौपानेले भने ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले शव परीक्षण प्रतिवेदनमा सीताको मृत्युको कारण आत्महत्या देखिएको बताए । अनुसन्धानका क्रममा सीता र उनका श्रीमान टीका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा सुसाइड नोट लेखेको भेटिएको थापाले बताए ।

प्रहरीले सीताका श्रीमान् टीका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरेको छ । उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?