+
+

प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीचको भेटमा के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १३:४१

१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने समाचारलाई ‘चुट्किलाको रुपमा बुझ्नुपर्ने’ प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा जबराले भने, ‘जोकलाई जोककै रुपमा बुझ्नुपर्छ । अरु केही होइन ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश जबराले कम्तीमा एक जना मन्त्री बनाउन माग गरेको समाचार प्रकाशित भएपछि बारका पदाधिकारीले सोमबार बिहान उनलाई भेटेका थिए । भेटका क्रममा प्रधानन्यायाधीश जबराले आफूलाई बदनाम गर्न यस्तो सूचना बाहिर आएको बताए ।

‘अहिलेको नेतृत्वलाई बदनाम गर्ने र ह्यारेसमेन्ट गर्ने कामहरु भइरहेको छ । (सर्वोच्च अदालत) भित्रबाट पनि भइरहेको छ । बाहिरबाट पनि भइरहेको छ’ उनको भनाइ उधृत गर्दै सर्वोच्च बारका एक पदाधिकारीले भने, ‘पहिले एउटामा समाचार आएको छ, अनि अरुमा आएको छ, मैले बुझिहालें ।’

छलफलका क्रममा केही कानून व्यवसायीले समाचारको विषयमा अदालतको अवहेलनामा कारवाही चलाउन सुझाव दिए । अनि केही कानून व्यवसायीले उक्त समाचारका विषयमा अदालतले स्पष्टीकरण दिनुपर्ने बताए । त्यसपछि जबराले आफूले त्यो मौका नपाएको प्रतिक्रिया दिए । ‘मौका पनि पाइएन नि । हाम्रो अड्डा खुल्छ बिहान १० बजे । हिजो ४/५ बजेतिर समाचार आयो होला’ अनि त्यसपछि उनी लामो हाँसो हाँसे ।

भेटमा सहभागी सर्वोच्च बारका एक पदाधिकारीका अनुसार जबराले आफू स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति अति सचेत रहेको प्रतिक्रिया दिए । जबराको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘मैले हस्तक्षेपै गर्दिन । मेरो विषयमा त धेरै जनाले लेखेका छन् । सार्वजनिक पदमा बसेको छु । मबाट गल्ती कमजोरी भए होलान् । त्यसलाई उजागर गरेर नागरिकसम्म लगिदिएर मलाई सुधार हुने मौका दिँदा त राम्रो हुन्छ नि ।’

जबराले आफ्नो बारेमा आएको समाचारलाई लिएर प्रश्न पनि नसोध्ने बताए । ‘पदमा बसेपछि कमी कमजोरी हुन्छ,’ उनले भने, ‘म आफ्नो बाटो हिँड्दा उहाँहरुलाई कुबाटो लाग्छ । यो स्वाभाविकै हुन्छ । हामीले अवहेलनामा (कारबाही) चलाएर हुनेवाला केही पनि छैन ।’

छलफलका क्रममा सर्वोच्च बारका पदाधिकारीले समाचार सत्य नभए खण्डन गर्न सुझाव दिए । अधिवक्ता अनन्त लुइँटेलले ‘न्यायपालिकालाई सनसनीपूर्ण बनाएको हुनसक्ने र त्यो गम्भीर विषय भएकाले अदालतबाट खण्डन हुनुपर्ने’ सुझाव दिए । उनले भने, ‘यसलाई अघिल्लो फैसलासँग पनि जोडिरहेका छन् ।’ जवाफमा प्रधानन्यायाधीश जबराले भने, ‘अस्ति तक्मा दिया छ । यस्तै त हो नि ।’

बारका ती पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले मन्त्री सिफारिसका लगि प्रस्ताव गरेको भनिएका व्यक्ति गजेन्द्र हमालको भने बचाउ गरे । ‘अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र भन्या त शेरबहादुर सरहको कांग्रेसको नेता हो नि । उसको नामसँग मलाई जोड्नुपर्छ र ?’ जबराले हमालका बारेमा भने, ‘उसलाई मैले बनाउनुपर्छ र ? मैले बनाएर बन्ने हुन्छ र ?’

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष प्रा. पूर्णमान शाक्यले न्यायिक नेतृत्ववारे प्रश्न उठ्दा आफूहरुलाई पनि असहज भएको बताए । उनले न्यायपालिकाप्रतिको जनआस्थासँग आफ्नो पेशागत मर्यादा जोडिएको उल्लेख गर्दै भने, ‘यो श्रीमानलाई मात्रै होइन, हामीलाई पनि आक्षेप लागेको हो । हाम्रो इज्जत र दृष्टिकोण श्रीमानसँग जोडिएको हुन्छ । श्रीमान् जतिजति माथि जानुहुन्छ हामी त्यतित्यति माथि जाने हो । श्रीमान् तल गए तल जाने हो ।’

सर्वोच्च बार स्रोतका अनुसार त्यसपछि जबराले आफूले सिफारिस नै नगरेको भन्ने आशयमा आफ्नो सफाइ पेश गरे । ‘प्रधानन्यायाधीशको सिफारिसमा प्रधानमन्त्रीले मन्त्री बनाउँछ र कहीं ? यो देशमा उहाँहरुको (दलहरुको) कोही छैन र ?’ उनले भने, ‘यस्तो पनि हुन्छ कहीं ? अलिकति कल्पना पनि गर्न नहुने कुरा हो । यस्तो कुरा पनि आउँछ त के भन्ने ?’ उनले सर्वोच्च अदालतबाट समाचारको खण्डनको तयारी भइरहेको बताए ।

सर्वोच्च बार कार्यसमितिका सदस्य डा. रामहरि त्रिपाठीले यस्तो समाचार सुनेर बार गम्भीर भएको तर प्रधानन्यायाधीशले ठट्यौली गरिरहेको भन्दै ध्यानाकर्षण गराए । तर प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारमा आफूलाई भाग छुट्याउने विषय ठट्यौली नै भएको जिकीर गरे । ‘जोकलाई जोककै रुपमा लिनुपर्छ । जुन जोक भइरहेको  छ, त्यसलाई जोकबाहेक के भन्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?