+
+

सर्वोच्चले माग्यो चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण रिट दर्ता नहुनुको कारण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १८:०९

१८ असोज, काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण रिट दर्ता नहुनुको कारण माग गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दा के कति कारणले दर्ता हुन नसकेको हो भनी कैफियत प्रतिवेदन मागेको हो ।

जन्मकैदको सजाय भोगिरहेका शोभराजले आफू वृद्ध उमेरको भएको भन्दै कैद सजायबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।

उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद सजाय भोगिरहेका व्यक्तिको बन्दी प्रत्यक्षीकरण रिट दर्ता हुन नसक्ने भनी रिट दरपीठ भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।

त्यसपछि शोभराजले दरपीठ आदेशविरुद्ध सर्वोच्चमा अर्को रिट दिएका थिए । सन् २००३ मा नेपालमा पक्राउ परेका शोभराजले केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । उनको कैद सजाय पूरा हुन ३ वर्ष बाँकी छ ।

यसअघि पनि २०७५ सालमा शोभराजले बाँकी सजाय मिनाहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?