+
+

महिनावारी हुँदा रोजगारदाताबाट विभेद

नुनुता राई नुनुता राई
२०७८ असोज १९ गते १४:३०

१२ असोज, काठमाडौं । दोलखाकी विन्दा कार्की (परिवर्तित नाम) ले काठमाडौंको एक मिठाइ पसलमा काम गर्न थालेको तीन वर्ष भयो । काम शुरु गर्ने बेला महिनावारी भएको बेला आराम गर्ने विदा दिने भनिएको थियो । त्यसअनुसार केही महिना विदा पनि लिइन् ।

तर उनले विदा बचाएर व्यक्तिगत काम परेको बेला लिने योजना बनाएर महिनावारी भएको बेला पनि काममा गइन् । उनी विदा नबसेपछि अर्को महिना किन विदा नबसेको भनेर सोधियो । विन्दाले आफ्नो योजना सुनाइन् ।

त्यसपछि आएको प्रतिक्रियाले उनी अचम्ममा परिन् । उनलाई पसल सञ्चालकले भने, ‘यो तिमीलाई आराम गर्ने समय मात्रै दिएको कहाँ हो त । यहाँबाट पुजामा, मन्दिरमा चढाउन लगिने भएकोले चोखोनितोको लागि पनि हो नि । अर्कोपल्ट देखि त्यस्तो नगर्नू । ग्राहकले थाहा पाए भने भड्किन्छन् ।’

काठमाडौंमा घरेलु कामदारको रुपमा काम गर्ने अन्जना बस्नेत (परिवर्तित नाम) श्रीमान र छोराछोरीसँग शंखमूलमा बस्छिन् । यसअघि मैतीदेवीमा बस्दा घरबेटीले पहिलोपटक महिनावारी भएकी छोरीलाई तुलसीको मठ छोएको निहुँमा दुर्व्यवहार गरेको बताइन् । ‘मेरो नाबालक छोरीले के गल्ति गरेकी थिई र त्यस्तो विधि धकेलेरै झार्नुपर्ने भनेर चित्त दुख्यो । अनि म त अब यो घरमा बस्दिनँ भनेर कोठा सरेँ’ उनी भन्छिन् ।

अञ्जना महिनावारी बारेरै हुर्किइन् । काठमाडौं बस्न थालेको करिब १३ वर्ष भयो । अहिले महिनावारी बार्नुपर्छ भन्ने लाग्दैन उनलाई । ‘महिनावारी हुनु भनेको नछुने हुनु होइन । महिनावारी नहुने हो भने कसरी सन्तान जन्माउने ?’
संघीय राजधानी काठमाडौमा नै किशोरी तथा महिलाले महिनावारीका बेला छुवाछुत तथा सामाजिक विभेद खेप्नुपरेको पाइएको छ ।

राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ महिनावारी भएकै कारण महिलाले मानव अधिकारबाट बञ्चित भएका धेरै घटना काठमाडौंमै भेटिने बताउँछन् । ‘विशेषगरी निजी क्षेत्रमा काम गर्ने महिला बढी समस्यामा परेका छन्’ उनले भने ।

काठमाडौंका गलैंचा कारखानाहरुले महिनावारीको महिलाहरुले अरु बेलामा जस्तो काम गर्न नसक्ने भनेर विदामा बस्न दबाब दिएको पाइएको श्रेष्ठ बताउँछन् ।

अमर्यादित धारणा

ऋषिपञ्चमीका बेला नबिल, एनआईसी एसिया र सिटिजन्स बैंकले दिएको शुभकामना सन्देशको चर्को विरोध भयो । ती बैंकहरुले रजस्वला हुँदा केही गल्ती भए शुद्धिका लागि पूजा गरिने भन्दै महिलाहरुलाई ऋषिपञ्चमीको शुभकामना दिइएको थियो ।

महिनावारीप्रति घृणा फैलाउने गरी दिएको शुभकामना सन्देशको विरोध भएपछि बैंकहरुले माफी माग्दै सच्याएका थिए ।

गत साल ‘यसपालिको तीज नो ब्रत प्लीज’ गीत गाएर चर्चामा आएकी गायिका सोफिया थापालाई महिनावारीसम्बन्धी गीतले भने विवादमा ल्यायो । सुदुरपश्चिमेली भाकामा गाइएको र छाउपडी शब्द समेटिएकोले अधिकारकर्मीहरुले विरोध जनाए ।

मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले उक्त गीतमाथि टिप्पणी गर्दै महिनावारी हुँदा महिलामाथि हुने विभेदको विरोधमा लेखिएको भए पनि गीतले सुदूरपश्चिममा मात्रै विभेद हुने गरेको सन्देश दिएकाले परिमार्जन गर्नुपर्ने बताइन् ।

लेखक सरिता तिवारीले गायिकाको नियत खराब नभएपनि छाउ भनिनु र तत् स्थानका भाषिका प्रयोग गरेर सुदूरपश्चिमलाई नै संकेत गरिएकोले त्यो क्षेत्रमा मात्रै महिनावारीको कठोर नियम बार्ने र त्यहाँ मात्रै रुढीजन्य व्यवस्था रहेको बुझाउने प्रतिक्रिया दिइन् ।

सुदुरपश्चिम केन्द्रित कार्यक्रम

महिनावारी हुँँदा हुने विभेदविरुद्धका धेरैजसो कार्यक्रम सुदूरपश्चिम केन्द्रित छन् । गतवर्ष पुस महिनाबाट सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेको थियो । यो अवधिमा करिब साढे नौ हजार छाउगोठ भत्काएको सरकारी तथ्यांकमा उल्लेख छ ।

महिनावारीको बारेमा सचेतना तथा महिनावारी विभेद अन्त्यको लागि सुदुरपश्चिम अथवा ग्रामीण क्षेत्र केन्द्रित कार्यकम सञ्चालन भइरहेको राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ स्वीकार गर्छन् ।

काठमाडौं तथा शहरी क्षेत्रमा बहुआयामिक दृष्टिकोणले काम गर्न जरुरी देखिएको उनी बताउँछन् । उनी भन्छन् ‘शहरी क्षेत्रमा ग्रामीण क्षेत्र भन्दा कम छैन । ग्रामीण क्षेत्रमा घरबाट र समाजबाट हुने विभेद बढी हुन्छ । शहरी क्षेत्रमा चाहिँ रोजगारदाताबाट हुने विभेद बढी छ ।’

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने व्यवस्था छ । यस्तो कसुर ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने सो कानुनले गरेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?