
२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग पार्टी एकता गर्ने तयारी छ । खतिवडाले भने, ‘एकीकरणको प्रक्रिया टुंगो लाग्नै लागेको छ ।’
नेकपा एमालेमा विवाद चर्किएका बेला माधव नेपाल निकट मानिएका राईले नेकपा एकीकृत दर्ता गरेका थिए ।
स्थायी कमिटीको बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरिएको हो ।
यससँगै पदाधिकारी संख्या १९ पुगेको छ । अब अध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, चार उपमहासचिव र सात सचिव छन् ।
बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्यीय बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस्तै स्थायी समितिको बैठकले बेदुराम भुसालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रीय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयलाई स्थायी समितिको बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय गर्ने अधिकार लिइएको खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया 4