+
+

३० वर्षमा बल्ल मन्त्री, स्वास्थ्यमा विरोधको परीक्षा

सागर बुढाथोकी सागर बुढाथोकी
२०७८ असोज २२ गते १९:३३

२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनापछि मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यसको नेतृत्वमा पुगेका छन् ।

गत २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि यो मन्त्रालय उनी आफू मातहत नै राखेका थिए भने उमेश श्रेष्ठलाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

कोरोना भाइरसको महामारी कायमै रहेका बेला परिपक्व व्यक्तिलाई मन्त्रीको रुपमा पाएको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । खतिवडाको नेतृत्वमा केही राम्रो काम हुने अपेक्षा रहेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

उनका अनुसार लामो राजनीतिक जीवनमा खतिवडाले आम मानिसका मुद्धाहरु संसदमा उठाएकाले पनि उनीबाट आशा गर्न सकिने ठाउँ छ । ‘हरेक मन्त्री आउँदा केही राम्रो हुने अपेक्षा त हुन्छ नै तर खतिवडाले राम्रो गर्छन् भन्नेमा विश्वस्त हुन सकिन्छ’ ती अधिकारी भन्छन् ।

मन्त्री खतिवडाले तत्काल कर्मचारी प्रशासनदेखि खोप व्यवस्थापनमा ध्यान दिनुपर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यो बेला देखिने गरी स्वास्थ्य प्रणालीमा भएका कमजोरी सुधार गर्न लागि पर्ने हो भने स्वास्थ्यमन्त्री खतिवडा सफल हुने मन्त्रालयका अधिकारीहरुको टिप्पणी छ ।

‘स्वास्थ्यमा दीर्घकालीन रुपमा नीतिगत तहमा काम गर्न सकिने ठाउँहरु धेरै छ तर तत्कालको प्राथमिकता कोरोना महामारीको नियन्त्रणमै हुनुपर्छ’ उनले भने ।

पूर्वस्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेती खतिवडालाई काम देखाउने अवसर भएको बताउँछन् । उनका अनुसार ४ पटक सांसद भएकाले उनीसंग कानुन निर्माणमा राम्रो अनुभव छ । स्वास्थ्यका धेरै विषयमा नीति तथा कानुन निर्माण र संशोधन गर्न जरुरी रहेको डा. उप्रेतीको भनाइ छ ।

उनी भन्छन्, ‘खतिवडा कानुन बुझेको मान्छे हुन्, त्यसैगरी संसद हुँदा जनताको आवाज उठाएका छन्, अहिले उनी ठाउँमा पुगेको बेला लागि जनतालाई हित गर्ने स्वास्थ्य नीति बनाएर कार्यन्वयन गर्न सक्छन्’ उप्रेती भन्छन् ।

नेपालका निजी स्वास्थ्य संस्थामा अहिले पनि सर्वसाधारणले उपचार गराउन नसक्ने अवस्था छ । कोरोना महामारीका बेलामा यो कुरा झन् छर्लङ्गै देखियो । तर सरकारी अस्पतालमा भने कतिपय सेवा नपाइने, पालो पर्खिनुपर्ने, स्वास्थ्य उपकरणहरु नभएर निजीमै जानुपर्ने बाध्यता छ ।

सोही कारण उपचार नपाएर र उपचार खर्च धान्न नसकेर निम्नवर्गकाले मात्र नभई मध्यम वर्गले पनि जीवनको माया मार्नुपर्ने स्थिति छ । यो तीतो यथार्थलाई कम गर्न स्वास्थ्यमन्त्री खतिवडाले नीतिगत प्रबन्ध गर्नुपर्ने पूर्वसचिव उप्रेती बताउँछन् । ‘खतिवडामा काम गर्न सक्ने क्षमता र अनुभव दुबै छ र यो उपयुक्त समय पनि हो तर उनले यस्ता विषय कत्तिको प्राथमिकतामा राख्छन् भन्ने महत्वपूर्ण कुरा हो’ उप्रेती भन्छन् ।

कोरोना महामारीको बेला केन्द्र, प्रदेश र स्थानीय सरकारसंग समन्वय हुन नसकेर महामारी नियन्त्रणमा सरकार असफल भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । तीन तहको सरकारको अधिकार र कार्यक्षेत्रमा अन्यौल भएकाले महामारी नियन्त्रणको काम समेत प्रभावित भएको थियो ।

तीन तहका सरकारबीच समन्वयकारी भूमिका हुने गरी काम गर्नुपर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । ‘तीन तहको कार्यविभाजन गरेर समन्वय भयो भने स्वास्थ्यमा धेरै काम गर्न सकिन्छ’ ती अधिकारी भन्छन् ।

नेपालमा खोप खरीद र व्यावस्थापमा ब्रेक थ्रू भइसकेकाले पनि स्वास्थ्यमन्त्री खतिवडालाई खोपको विषयमा धेरै गाह्रो नहुन सक्छ । सरकारले असोजसम्म एक तिहाइ नागरिकलाई खोप दिने लक्ष्य राखेकामा हालसम्म त्यो लक्ष्य करिब भेटेको छ ।

हाल ३२ प्रतिशतले पूर्ण खोपको मात्रा पाइसकेका छन् भने ४० प्रतिशतले पहिलो मात्रा पाइसकेका छन् । त्यसैगरी काठमाडौं उपत्यकामा ७४ प्रतिशतले दुबै डोज खोप पाइसकेका छन् भने ८१ प्रतिशतले पहिलो मात्रा खोप पाएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडालाई खोप वितरणको यो रफ्तार बढाउनलाई चुनौती छ । ‘सुरुवातमै धेरै भन्न नसकिने भए पनि अहिले यति भन्न सकिन्छ स्वास्थ्यमन्त्री खतिवडा काम देखाउने समयमा मन्त्री भएका छन्’ मन्त्रालयका ती अधिकारी भन्छन् ।

२०३५ सालदेखि सक्रिय राजनीतिमा लागेका खतिवडा पहिलोपटक २०४८ सालमा सांसद भएका थिए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको आम निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट निर्वाचित भए । ३० वर्षअघि नै सांसद भइसकेका उनी मन्त्री भने पहिलो पटक भएका हुन् ।

कोरोना महामारी कालमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका भानुभक्त ढकाल र हृदयेश त्रिपाठी भन्दा सजिलो समयमा मन्त्री भएकाले पनि खतिवडाले काम देखाउन सक्ने मन्त्रालयका अर्का अधिकारी बताउँछन् ।

‘जुनबेला संसारभर खोपको अभाव र संक्रमण उत्कर्षमा थियो त्यो बेला स्वास्थ्य मन्त्रालयमा काम गर्न गाह्रो थियो तर अहिले खोप लगायतका काममा धेरै सजिलो भएकाले व्यवस्थापकीय क्षमता सुधार्ने हो भने धेरै काम हुन सक्छ’ ती अधिकारी भन्छन् ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालय सम्हाल्ने मन्त्री सरुवा बढुवा लगायतका विषयमा कर्मचारीसँग विवादमा परेका थिए । मन्त्री खतिवडाले सुशासन कायम राख्न निकै नै ध्यान दिनुपर्ने पूर्व स्वास्थ्य सचिव डा. उप्रेती बताउँछन् । स्वास्थ्य सामग्री खरीद र सरुवा बढुवामा निकै नै सचेत हुन उप्रेती सुझाव दिन्छन् । ‘यसअघिका मन्त्रीहरुले अरुको स्वार्थ नबुझेर खुरुखुरु भनेको मान्दा आफ्नै इमेजमा असर गर्‍यो, अहिले खतिवडाले त्यो गल्ती दोहोर्‍याउनुभएन’ उप्रेती भन्छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि डा. उप्रेतीको तर्कसंग सहमत छन् । उनका अनुसार पहिलेका मन्त्रीले गरेको ‘गल्ती’बाट मात्रै सिक्ने हो भने खतिवडा सफल हुन सक्छन् ।

‘मन्त्री भएपछि धेरै स्वार्थ समूहले नीतिगत कुराहरुमा प्रभावित गर्न खोज्छन्, त्यो कुरा बुझेर मन्त्रीले जनताको हित हुने विषयमा निर्णय गर्नुपर्छ’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?