Comments Add Comment

शालिन स्वस्तिमा

व्यवस्थापनमा स्नातक गरिरहेकी स्वस्तिमा कार्की के बन्न चाहिन्थन् ? लक्ष्य स्पष्ट भइसकेको थिएन । हुन त उमेरले भर्खर १९ बर्ष पुगेकी । हाँस्ने, खेल्ने उमेर । यतिबेला उनको ध्यान लेखपढमै थियो । भविष्यप्रति चिन्ता गरिहाल्नुपर्ने केही बितेको थिएन ।

तर, मनको एउटा कुनामा रहर पलाएको थियो कलाकारितामा लाग्ने । त्यस्तै अर्कोतिर लक्ष्य अंकुराएको थियो, उद्यम–व्यवसायमा लाग्ने । अन्ततः संयोगले उनी कलाकारितामा प्रवेश गर्न पुगिन् । म्युजिक भिडियो हुँदै स्वस्तिमा फिचर फिल्ममा पाइला टेकिन् ।

धेरै भएको छैन, चानचुन एक बर्ष भयो उनले म्युजिक भिडियोमा अभिनय गर्न थालेको । संख्यात्मक हिसाबले पनि उति धेरै होइन । त्यस्तै आधा दर्जन जति मात्र । यही बीचमा उनी एक फिचर फिल्ममा आबद्ध भइन् र कला–जीवनको यात्रा सुरु गरिन् ।

‘टुल्की’ चलचित्रबाट आएको अनायसै अफरलाई उनले अस्विकार गर्न सकिनन् । पहिलो पटक आएको मौका थियो । त्यो पनि चिनेजानेकै दाईबाट । उनेले ब्यानर हेरिनन्, निर्देशकको पृष्टभूमी खोजिनन् । स्वस्तिमालाई कथा मनप¥यो । आफुले निर्वाह गर्नुपर्ने भूमिका मनप¥यो । ‘त्यो एक पन्ध्र सोह्र बर्षकी किशोरीको भूमिका थियो’ स्वस्तिमा भन्छिन्, ‘मलाई त्यो पात्र मन प¥यो ।’ आखिर उनले सहर्ष स्वीकार गरिन्, अभिनयका लागि ।

शेखर लामाले निर्माण गरेको, देवजंग थापाले निर्देशन गरेको चलचित्रको केही समयअघि टिजर सार्वजनिक भएको छ । सिनेमा गतिविधि ठप्प भएको बखत यसको टिजर सार्वजनिक भयो र टिजर हेरेर धेरैले स्यावासीको ताली पिटे । आफुले अभिनय गरेरको सिनेमाको टिजर हेरिरहँदा स्वस्तिमालाई थप आत्माविश्वास बढ्यो । उनले जति सहज रुपमा उक्त भूमिका निर्वाह गरेकी थिइन्, पर्दामा उत्तिनै प्राकृतिक र स्वभाविक अभिनय देखियो । लेकाली गाउँको पृष्टभूमीमा बनेको ‘टुल्की’को कथा निकै रोचक भएको उनले बताइन् । यो एक वहुपति प्रथा र छाउपडी प्रथासँग जोडिएर आउने कथा हो । दुई बर्षको खोज–अध्ययन र करिब ५४ दिनको छायांकनपछि चलचित्र तयार भएको स्वस्तिमाको भनाई छ । ‘टिजर सार्वजनिक भएपछि अरु धेरै आशावादी भएकी छु’ स्वस्तिमा भन्छिन् ।

उनी ओखलढुंगामा जन्मिइन् । चार बर्षको उमेरमै बुवाआमाले उनलाई काठमाडौं ल्याए । भक्तपुरमा स्थायी बसोबास गर्न थाले । उनी यतै हुर्किइन्, पढ्नि । कलाकारितामा बुवा आमाको पनि साथ मिल्यो ।

स्वस्तिमा उति तडकभडक रुचाउँदिन् । खानपान, पहिरन, शृंगारमा उनी त्यती गंभिर हुँदिनन् । खाना मीठो भइदिए पुग्छ । चिल्लो, पिरो जस्तोपनि रुचाउँछिन् । पहिरन भने पाइन्ट, सर्ट सहज लाग्छ । कुर्ता वा वानपिस मनपर्छ । उनलाई किनमेलमा औधी रुची छ । खासगरी गरगहना किन्न मनपर्छ । यद्यपि गरगहना लगाउने बानी छैन । मेकअपमा पनि उस्तो ख्याल गर्दिनन् । कतै जानु परेमा दश मिनेटमै तयार हुन्छिन् ।

‘मलाई खानपान, फेसनप्रति त्यती आशाक्ति छैन’ स्वस्तिमा भन्छिन्, ‘आफुलाई सहज भए पुग्छ ।’

फोटो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment